ऋषभ पन्त पारिश्रमिक घटाएर दिल्ली क्यापिटल्स फर्किँदै, कुलदीप यादव लखनउ जाने
सारांश
- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को सिजन अघि दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सबीच खेलाडी साटफेरको तयारी भइरहेको छ।
- विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त दिल्ली फर्किनका लागि आफ्नो २७ करोडको पारिश्रमिकमा करिब १२ करोडको कटौती गर्न तयार भएका छन्, जसले गर्दा उनी दिल्ली क्यापिटल्समा पुनरागमन गर्ने लगभग निश्चित भएको छ।
- यसै ट्रेड अन्तर्गत स्पिनर कुलदीप यादव दिल्ली छाडेर लखनउ सुपर जायन्ट्सको हिस्सा बन्ने भएका छन् र यो सम्झौता बीसीसीआईको स्वीकृतिपछि अन्तिम रूपमा आउनेछ।
नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को सिजन सुरु हुनअघि दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सबिच खेलाडी साटफेरको तयारी भइरहेको छ।
विभिन्न रिपोर्टहरूका अनुसार विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तको दिल्ली क्यापिटल्समा पुनरागमन लगभग निश्चित भएको छ। दिल्ली फर्किनका लागि पन्त आफ्नो २७ करोड भारतीय रुपैयाँको पारिश्रमिकमा करिब १२ करोडको कटौती गर्न समेत तयार भएका छन्।
यसै ट्रेड अन्तर्गत स्पिनर कुलदीप यादव भने दिल्ली छाडेर लखनउ सुपर जायन्ट्सको हिस्सा बन्ने भएका छन्। दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सबिचको यो ट्रेड सम्झौता स्वीकृतिका लागि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) समक्ष पठाइसकिएको छ। बीसीसीआईबाट स्वीकृति पाएलगत्तै पन्त दिल्ली फर्किनेछन् भने कुलदीप लखनउ जानेछन्।
लखनउ सुपर जायन्ट्सले सन् २०२५ को मेगा अक्सनमा ऋषभ पन्तलाई २७ करोड भारुमा किनेको थियो, जुन आईपीएल इतिहासकै सबैभन्दा महँगो बोली थियो। यही ठुलो रकम नै उनको ट्रेडका लागि मुख्य अड्चन बनिरहेको थियो, किनकि कुनै पनि फ्रेन्चाइजीका लागि यति मोटो रकम तिरेर खेलाडी सामेल गर्न सहज थिएन।
यो व्यापारलाई सम्भव बनाउन पन्त आफैँले आफ्नो पारिश्रमिक घटाउन सहमति दिएका हुन्। अब उनले करिब १५ करोड भारु पाउने सम्भावना छ। पन्तको यो कदमलाई गत सिजन रवीन्द्र जडेजा राजस्थान रोयल्ससँग जोडिने समयमा उठाएको कदम जस्तै मानिएको छ।
दुई वर्षपछि दिल्ली पुनरागमन, तर कप्तानी अनिश्चित
पन्त सन् २०१६ देखि २०२४ सम्म दिल्ली क्यापिटल्सकै हिस्सा थिए। यस अवधिमा उनले १११ खेल खेले भने तीन सिजनमा ४३ खेलमा टोलीको कप्तानी समेत सम्हालेका थिए। तर, २०२५ को मेगा अक्सनअघि जीएमआर ग्रुपसँग केही मतभेद भएपछि उनलाई फुकुवा गरिएको थियो।
अब आगामी दुई वर्षसम्म फ्रेन्चाइजीको सञ्चालन जेएसडब्लू ग्रुपको हातमा रहनेछ। टोलीका सह-मालिक पार्थ जिन्दल लामो समयदेखि पन्तका प्रशंसक रहेकाले पन्तको पुनरागमनमा उनको मुख्य भूमिका रहेको बताइन्छ। यद्यपि, दिल्ली फर्किए पनि पन्तले कप्तानी पाउने वा नपाउने भन्ने विषय भने अझै निश्चित छैन।
यसअघि लखनउको कप्तानी सम्हालेका पन्तको कप्तानीमा टोलीले सोचेजस्तो प्रदर्शन गर्न सकेको थिएन। लखनउ सन् २०२५ मा सातौँ र २०२६ मा १०औँ स्थानमा खुम्चिएको थियो। पन्तको कप्तानीमा खेलिएका २८ खेलमध्ये लखनउले मात्र १० खेलमा जित निकाल्न सकेको थियो भने २०२६ को सिजनमा पन्तको ब्याटबाट केवल ३१२ रन मात्र निस्किएको थियो। टोलीलाई नयाँ कप्तानको आवश्यकता महसुस भएपछि उनी लखनउबाट बाहिरिने बाटो तय भएको हो।
कुलदीपका लागि ‘घर फिर्ती’ को मौका
ट्रेड सम्झौता अनुसार कुलदीप यादवको पारिश्रमिकमा भने कुनै परिवर्तन हुने छैन। उनी आफ्नो साविककै १३.२५ करोड भारुको सम्झौतामा लखनउ आबद्ध हुनेछन्। कुलदीपले घरेलु क्रिकेट उत्तर प्रदेशबाट खेल्ने भएकाले यो परिवर्तन उनका लागि एक प्रकारको घर फिर्ती जस्तै हुनेछ। कुलदीपले यसअघि आईपीएलमा मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबाट खेलिसकेका छन्।
युवराज सिंह पहिलो पटक प्रशिक्षकको भूमिकामा देखिन सक्ने
खेलाडीको साटफेरसँगै दिल्ली क्यापिटल्सको सपोर्ट स्टाफमा पनि ठुलो उलटफेर देख्न पाइने भएको छ। पूर्व भारतीय अलराउन्डर युवराज सिंह दिल्लीको कोचिङ समूहमा सामेल हुन सक्ने रिपोर्टहरूले जनाएका छन्। यदि यो सम्झौता भएमा युवराजको खेल जीवनपछिको यो पहिलो औपचारिक प्रशिक्षण कार्यकाल हुनेछ।
युवराजले यसअघि अभिषेक शर्मा, प्रभसिमरन सिंह, अब्दुल समद, सञ्जु स्यामसन र ऋषभ पन्त जस्ता युवा खेलाडीहरूलाई मेन्टरका रूपमा प्राविधिक तथा मानसिक तयारीमा सहयोग गर्दै आएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाराग्वेका अल्मिरोनलाई मुख छोपेर बोलेको आरोपमा रातो कार्ड, नयाँ नियमपछि पहिलो घटना
-
सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी
-
ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ६० हजार राजस्व सङ्कलन
-
मुख्यमन्त्री कार्यालयका ‘जलेको’ भनिएका ३० थान ल्यापटप र १४ थान मोबाइल कसले चोर्यो ?
-
सुनसरी र मोरङका स-साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
-
८ वर्षको लामो पर्खाइपछि ठुलो पर्दामा प्रीति जिन्टाको कमब्याक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण