गर्भवती गीता पाण्डे मृत्यु प्रकरणः संलग्न चिकित्सक निलम्बित
सारांश
- बुटवलमा गर्भवती गीता पाण्डेको मृत्यु प्रकरणमा संलग्न चिकित्सक सतिषकुमार रूपाखेतीलाई नेपाल मेडिकल काउन्सिलले निलम्बन गरेको छ।
- काउन्सिलले उपचारमा संलग्न जोनल फार्मेसी र ईन्दुलेखा स्वास्थ्य क्लिनिक बन्द गर्न सिफारिस गरेको छ।
- प्रहरीले घटनामा संलग्न दुई चिकित्सकसहित पाँच जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
बुटवल । बुटवलमा गर्भवती गीता पाण्डेको मृत्यु प्रकरणमा संलग्न एक चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले निलम्बन गरेको छ ।
छानबिन समितिको सिफारिसका आधारमा काउन्सिलले डा. सतिषकुमार रूपाखेतीलाई तत्कालका लागि निलम्बन गर्ने निर्णय गरेको हो । काउन्सिलका रजिष्ट्रार डा. सतिषकुमार देवका अनुसार शनिबार बसेको काउन्सिलको भर्चुअल बैठकले उक्त निर्णय गरेको हो ।
काउन्सिलले घटनामा संलग्न स्वास्थ्य संस्था ‘जोनल फार्मेसी’ र ‘ईन्दुलेखा स्वास्थ्य क्लिनिक’लाई समेत बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको छ । साथै उपचारमा संलग्न अन्य स्वास्थ्यकर्मीमाथि पनि कारबाहीको सिफारिस गरिएको जनाइएको छ ।
पाल्पाको बगनासकाली गाउँपालिका–२ की २९ वर्षीया गीताको झण्डै १४ हप्ताको गर्भपतन गराउने क्रममा वैशाख ६ गते मृत्यु भएको थियो । परिवारले भने गर्भ १२ हप्ताको मात्र रहेको दाबी गरेका छन् । तर छानबिन समितिको प्रतिवेदनले १३ हप्ताभन्दा बढी समयको गर्भ रहेको औंल्याएको छ ।
समितिले गीता पाण्डेलाई गर्भपतनसम्बन्धी औषधि उपलब्ध गराउने ‘जोनल फार्मेसी’ तथा अन्तिम चरणमा संलग्न ‘ईन्दुलेखा स्वास्थ्य क्लिनिक’ दुवै संस्थाले आवश्यक स्वीकृति नलिएको पाएको छ । चिकित्सकहरूको आचारसंहिता, २०१७ अनुसार प्रारम्भिक कारबाहीस्वरूप निलम्बन गरिएको काउन्सिलले जनाएको छ ।
काउन्सिलका अनुसार अन्तिम प्रतिवेदन नआएसम्मका लागि हाल कारबाही गरिएको हो । छानबिनकै क्रममा फौजदारी अभियोग समेत आकर्षित हुन सक्ने भएकाले अन्तिम निर्णय प्रतिवेदनपछि मात्र गरिनेछ ।
मेडिकल काउन्सिलले केन्द्रीय सदस्य डा. सम्राट पराजुलीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा प्राडा पदमराज पन्त, डा. राजेन्द्र बस्याल, डा. अनुप पन्थी, अधिवक्ता गोविन्दप्रसाद मरासिनी र पत्रकार दिनेश पाण्डे सदस्य रहेका छन् ।
समितिले २६ पृष्ठ लामो प्रतिवेदनमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कारबाही, सम्बन्धित स्वास्थ्य संस्था बन्द, नियमित अनुगमन सुदृढीकरण तथा अवैध रूपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थालाई दर्ता र नियमन गर्ने सुझाव दिएको जनाएको छ ।
मृतक गीताका पति प्रकाश पाण्डेले जाहेरी दिएका छन् ।
१३ हप्ता बढीको गर्भ अस्वस्थ रहेको बताएपछि गर्भपतनका लागि नर्सिङ होम र क्लिनिक गरी तीनवटा स्वास्थ्य संस्था धाउँदा–धाउँदै वैशाख ६ गते गीताको मृत्युु भएको थियोे । गीता पति प्रकाशसहित वैशाख ५ गते खत्री नर्सिङ होम पुगेकी थिइन् । उनी चैत २७ मा सोही ठाउँमा जाँच गर्न पुगेकी थिइन् ।
प्रहरीले उक्त घटनामा दुई जना चिकित्सकसहित ५ जनालाई प्रकाउ गरी अनुसन्धान जारी राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण