विशेष महाधिवेशनको विपक्षमा रहेका आङ्देम्बे कसरी बने दलको नेता ?
सारांश
- नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकले निवर्तमान सहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई प्रतिनिधि सभामा संसदीय दलको नेता सर्वसम्मतीमा चयन गरेको छ।
- पार्टी सभापति गगन थापाले आङ्देम्बेको नाम प्रस्ताव गरेपछि दलको नेताका लागि अर्जुननरसिंह केसी, मोहन आचार्य र आङ्देम्बेबीच प्रतिस्पर्धा भए पनि अन्तिममा आङ्देम्बेको नाममा सहमति जुटेको हो।
- विशेष महाधिवेशनको विपक्षमा रहेका आङ्देम्बेलाई दलको नेता बनाउनुको मुख्य कारण दलमा निर्वाचित सांसदहरूको अङ्कगणित र पार्टीमा एकताको सन्देश दिनु रहेको बताइएको छ।
काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकले सर्वसम्मतीमा निवर्तमान सहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई प्रतिनिधि सभामा संसदीय दलको नेता बनाउने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकमा सभापति गगन थापाले आङ्देम्बेको नाम प्रस्ताव गरेका थिए । त्यो नाम सर्वसम्मतीले पारित भएको हो। लगत्तै बसेको संसदीय दलको बैठकले उनको नाम अनुमोदन गरेको हो ।
आङ्देम्बेलाई दलको नेता सर्वसम्मत हुन भने लामो समय कुर्नुपर्यो । दलको नेताका लागि अर्जुननरसिंह केसी, मोहन आचार्य र आङ्देम्बे प्रतिस्पर्धामा थिए । तर, अन्तिममा आएर आङ्देम्बेको नाममा सहमति जुटेको हो।
गत पुसमा तत्कालीन सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको असहमतिबिच भएको विशेष महाधिवेशनको विपक्षमा रहेका आङ्देम्बेलाई सभापति थापाले बाध्य भएर दलको नेता बनाएका हुन् । थापा आङ्देम्बेलाई दलको नेता बनाउन बाध्य हुनुको मुख्य कारण हो, दलमा निर्वाचित सांसदहरूको अङ्कगणित।
प्रतिनिधि सभामा कांग्रेसका प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी ३८ सांसद छन् । ३८ जनामा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षमा १५, डा. शेखर कोइराला पक्षका ७ र विशेष महाधिवेशनबाट आएको र अहिले सर्वोच्चले आधिकारिकता दिएको कार्यसमितिको पक्षका १६ जना छन्।
आङ्देम्बे १४ औँ महाधिवेशनमा निवर्तमान सभापति शेरबहादुर देउवा प्यानलबाट आदिवासी जनजाती कोटामा सहमहामन्त्री जितेका थिए । त्यसले देउवा पक्षको अहिले सांसद हुने सबैभन्दा सिनियर नेता पनि आङ्देम्बे नै हुन्।
विशेष महाधिवेशनपछि डा. शेखर कोइराला समूह पनि देउवा समूहसँगै सहकार्यमा छ र दलको नेतामा देउवा समूहले नै उठाउने उम्मेदवारलाई समर्थन गर्ने डा.कोइराला समूहले बताएको थियो।
अहिलेको प्रतिनिधि सभामा देउवा र डा. कोइराला पक्षका सांसदको सङ्ख्या २२ छ । त्यो सङ्ख्या ३८ सांसदको बहुमत थियो । त्यसमाथि आङ्देम्बेलाई भेगीय हिसाबले वर्तमान उपसभापति विश्वप्रकाश शर्माले पनि समर्थन गरेका थिए । यस्तो अवस्थामा आङ्देम्बेले निर्वाचन लडे पनि दलको नेता जित्ने निश्चितजस्तै थियो । त्यसैले उनी दलको नेता बन्ने भन्दै सार्वजनिक रूपमा धारणा राख्दै आएका थिए।
अर्कोतर्फ सभापति गगन थापाको चाहना आफ्नै ससुरा वा रसुवाबाट प्रत्यक्षतर्फ निर्वाचित मोहन आचार्य मध्य एक जनालाई बनाउने थियो । त्यसका लागि थापाले अनेकन प्रयास पनि गरे । गत शुक्रबारका लागि तय गरिएको दलको नेताको निर्वाचन अन्तिम समयमा आएर सभापति थापाले रोकेका थिए।
सहमतिका लागि भन्दै उपसभापति शर्माको नेतृत्वमा ७ सदस्यीय समिति बनाएका थिए । त्यो समितिले आकांक्षीहरूसँग छुट्टाछुट्टै र सामूहिक छलफल गरेको थियो । त्यसपछि सबै पक्षको विश्लेषण गर्दा निर्वाचन भए पनि आङ्देम्बे निर्वाचित हुने देखियो ।
त्यसपछि थापा उनैलाई नै दलको नेता सर्वसम्मत बनाएर पार्टीमा एकता कायम रहेको देखाउन खोजेको उनी नेतृत्वकै समितिका एक पदाधिकारीले जानकारी दिए । ‘निर्वाचन भएमा पनि जित्ने आङ्देम्बेले नै देखियो । त्यसैले सर्वसम्मत उहाँलाई नै बनाउँ भन्नेमा हामीहरू पुग्यौँ,’ थापाले सहमतिका लागि बनाएको समितिको सदस्य समेत रहेका ती पदाधिकारीले रातोपाटीसँग भने।
यो सँगै आङ्देम्बे २०६४ साल भएको पहिलो संविधान सभा निर्वाचनपछि सर्वसम्मत हुन नसकेको दलको नेतामा सर्वसम्मत चयन हुन सफल भएका छन्।
आङ्देम्बे समानुपातिक प्रणालीबाट सांसद चुनिएका हुन्। विशेष महाधिवेशनपछि देउवा र डा. कोइराला समूह पार्टीको केन्द्रीय समितिभन्दा बाहिर छ। बाहिर भएको समूहलाई पनि एकताको सन्देश दिनका लागि आङ्देम्बेलाई दलको नेता बनाउनुपर्ने आवाज कांग्रेसभित्र उठ्दै आएको थियो । त्यसैलाई बाध्य भएर संस्थापनले मूर्त रूप दिएको हो।
महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र एकताको सन्देश दिन र भर्खरै मात्रै नयाँ बनाएको संसदीय दलको विधान अनुरूप दलको नेता सर्वसम्मतिमा चयन गर्नका लागि दलको बैठकलाई अनुरोध गरिएको जानकारी दिए ।
‘दलको विधान अनुरूप सहमतिका लागि प्रयास गर्यौँ । सहमति जुटाउन सफल भएका छौँ,’ महामन्त्री पौडेलले रातोपाटीसँग भने। आङ्देम्बेले आफूलाई कुनै समूहको लेबल नलगाउन र आफू सभापति थापाको स्पिरिट अनुसार काम गर्न तयार रहेको भन्दै सामाजिक सञ्जालमा स्ट्याटस लेखेका थिए।
पार्टीको आन्तरिक एकताको सन्देश दिन पनि आङ्देम्बेलाई नै संसदीय दलको नेता बनाउनुपर्ने आवाज उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरूले राख्दै आएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुनशानको पिरामिड आकारको अनौठो अपार्टमेन्ट भवन
-
देवनगरमा ५० हेक्टरको 'टाइगर सेन्चुरी' बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
-
विश्वकपमा यमालको जादु
-
सुदूरपश्चिमको कानुन मन्त्रालयको बजेटमा खेलमैदान र विद्यालय भवन
-
‘क्रिस्टियानो रोनाल्डोलाई नै बल पास गर्नुपर्ने कुनै दबाब छैन’
-
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण