सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
यातायात सुधार कार्यदलको प्रतिवेदन

२० वर्षे पुराना सवारी साधन चलाउन रोक्न सिफारिस

ठुला बसलाई प्राथमिकता, पूर्ण प्रविधिमैत्री प्रणालीसम्मका बृहत् सुझाव
सोमबार, १४ वैशाख २०८३, १८ : ००
सोमबार, १४ वैशाख २०८३

सारांश

  • यातायात प्रणालीमा देखिएको भद्रगोल अन्त्य गर्न सरकारले नीतिगत, संरचनात्मक र प्रविधिमैत्री सुधारको खाका सार्वजनिक गरेको छ ।
  • कार्यदलको प्रतिवेदनले सवारी दर्ता, नवीकरण, कर भुक्तानीलाई पूर्ण रूपमा विद्युतीय प्रणालीमा लैजान र लाइसेन्स छपाइ तथा वितरणमा राष्ट्रिय परिचयपत्र वा डिजिटल लाइसेन्सलाई मान्यता दिन सिफारिस गरेको छ ।
  • सार्वजनिक यातायातमा इ-टिकेटिङ र नगदरहित प्रणाली अनिवार्य गर्न, सहरी यातायात प्राधिकरण गठन गर्न, राइड सेयरिङलाई कानुनी दायरामा ल्याउन, २० वर्ष पुराना सवारी हटाउन र ईभी प्रयोगलाई प्राथमिकता दिन सुझाव दिइएको छ ।

काठमाडौँ । सरकारले यातायात प्रणालीमा देखिएका चरम भद्रगोल, बिचौलिया राज र अव्यवस्था अन्त्य गर्न समग्र नीतिगत, संरचनात्मक र प्रविधिमैत्री सुधारको फराकिलो खाका सार्वजनिक गरेको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको ‘यातायात सुधार सुझाव कार्यदल, २०८०’ को प्रतिवेदनले अव्यवस्थित सार्वजनिक यातायात प्रणालीलाई व्यवस्थित बनाउन संस्थागत पुनर्संरचना, निजी क्षेत्रसँग सहकार्य र प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने सुझाव दिएको छ । 

तत्कालीन यातायात मन्त्री नारायणकाजी श्रेष्ठको पालामा २०७९ फागुन ११ गते पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा गठित ७ सदस्यीय विज्ञ कार्यदलले अध्ययनपछि तयार पारेको उक्त विस्तृत प्रतिवेदन मन्त्रालयले हालै सार्वजनिक गरेको हो । यस प्रतिवेदनले नेपालको समग्र यातायात क्षेत्रलाई मुख्य ७ भागमा (सवारी नियमन, लाइसेन्स, सार्वजनिक यातायात, सहरी यातायात, बीमा, दुर्घटना न्यूनीकरण र प्रदूषण नियन्त्रण) वर्गीकरण गर्दै सुधारका तत्कालीन र दीर्घकालीन कार्ययोजनाहरू प्रस्ताव गरेको छ । 

सवारीसाधन र अनुमतिपत्रमा पूर्ण ‘डिजिटलाइजेसन’

यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीले भोग्नुपरेको चरम सास्ती र कागजी प्रक्रियाको झन्झटलाई औंल्याउँदै कार्यदलले सबै सेवालाई ‘क्यासलेस’ (नगदरहित) र ‘फेसलेस’ बनाउन सिफारिस गरेको छ । सवारी दर्ता, नवीकरण, सरुवा दर्ता र कर भुक्तानीलाई पूर्ण रूपमा विद्युतीय प्रणाली (अनलाइन) मा लैजानुपर्नेमा प्रतिवेदनले जोड दिएको छ । वर्षौंदेखि ढड्डामा राखिएका पुराना अभिलेखका कारण कार्यालयहरू अस्तव्यस्त भएकाले संघीय र प्रादेशिक तहमा ‘एकीकृत तथ्यांक प्रणाली’ निर्माण गर्न सुझाइएको छ । 

त्यस्तै, सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ र वितरणमा देखिएको राष्ट्रिय संकट समाधान गर्न यसलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्ने वा डिजिटल लाइसेन्सलाई कानुनी मान्यता दिने विकल्प अघि सारिएको छ । ‘ड्राइभिङ स्कुल’हरूको कडा नियमन गर्ने र मापदण्ड पुगेका निजी क्षेत्रका ‘ट्रायल सेन्टर’हरूलाई सरकारी अनुगमनमा प्रयोगात्मक परीक्षा सञ्चालन गर्न दिन सकिने नवीनतम उपाय पनि प्रतिवेदनमा सुझाइएको छ । 

सार्वजनिक र सहरी यातायातको पुनर्संरचना

नेपालको सार्वजनिक यातायात अझै पनि अस्वस्थ प्रतिस्पर्धा र अप्रत्यक्ष सिन्डिकेटको चपेटामा रहेको निष्कर्ष कार्यदलको छ  । सडकमा हुने अस्वस्थ प्रतिस्पर्धा अन्त्य गर्न साना सवारीसाधनलाई मुख्य राजमार्ग र ठुला सहरबाट निरुत्साहित गर्दै ठुला ‘मास ट्रान्जिट’ बसहरूलाई प्राथमिकता दिनुपर्ने सुझाव छ । यात्रु ठगिने र भाडामा विवाद हुने दैनिक समस्या समाधान गर्न सार्वजनिक यातायातमा विद्युतीय टिकट (इ–टिकेटिङ) र स्मार्ट कार्ड वा मोबाइल बैंकिङमार्फत भाडा तिर्ने ’नगदरहित’ प्रणाली अनिवार्य गर्न सिफारिस गरिएको छ । 

काठमाडौँ उपत्यका र ठुला सहरको यातायात व्यवस्थापन गर्न छुट्टै शक्तिशाली ‘सहरी सार्वजनिक यातायात प्राधिकरण’ गठन गर्न कार्यदलले जोड दिएको छ । साथै, ‘राइड सेयरिङ’ (टुटल, पठाओ जस्ता) सेवालाई प्रस्ट कानुनी दायरामा ल्याएर यात्रुमैत्री, व्यवस्थित र सुरक्षित बनाउनुपर्ने विषय पनि प्रतिवेदनमा समेटिएको छ । 

दुर्घटना न्यूनीकरण र वैज्ञानिक बीमा नीति

नेपालमा बर्सेनि करिब ३ हजार नागरिकले सडक दुर्घटनामा ज्यान गुमाउने गरेको र त्यसमा ५० प्रतिशतभन्दा बढी मृत्यु मोटरसाइकललगायत दुईपाङ्ग्रे सवारीको हुने गरेको डरलाग्दो तथ्यांक प्रतिवेदनले प्रस्तुत गरेको छ । दुर्घटना कम गर्न निर्माणकै चरणबाट अनिवार्य ‘सडक सुरक्षा परीक्षण’ (रोड सेफ्टी अडिट) लागू गर्न र लामो दूरीका चालकको ड्युटी समय तथा आरामको कडा नियमन गर्न भनिएको छ । 

दुर्घटनापश्चात् ‘जसको ठुलो गाडी, उसकै गल्ती’ मान्ने र हुलहुज्जतका आधारमा सडक बन्द गरेर क्षतिपूर्ति असुल्ने प्रवृत्तिको कार्यदलले कडा आलोचना गरेको छ । यसको अन्त्यका लागि वैज्ञानिक अनुसन्धान प्रणाली लागू गर्ने र विद्यमान तेस्रो पक्ष बीमामा रहेको त्रुटिपूर्ण व्यवस्थालाई परिमार्जन गर्दै ’सार्वजनिक यातायात बीमा नीति’ नामक छुट्टै प्रभावकारी व्यवस्था लागु गर्न सरकारलाई सुझाइएको छ । 

प्रदूषण नियन्त्रण र थोत्रा सवारीको विस्थापन

सडकमा गुड्ने पुराना र थोत्रा सवारीसाधनले प्रदूषण र दुर्घटना बढाएको भन्दै २० वर्ष पुराना सार्वजनिक सवारीलाई सडकबाट पूर्ण रूपमा हटाउने नीति कडाइका साथ लागू गर्न भनिएको छ । प्रदूषण जाँचपासलाई यातायात कार्यालयको औपचारिकता र झन्झटमा मात्र सीमित नराखी यसलाई विकेन्द्रित गरी मापदण्ड पुगेका निजी क्षेत्रका सुविधासम्पन्न ‘वर्कसप’हरूमार्फत पनि गराउन सकिने व्यवस्था प्रस्ताव गरिएको छ ।

विद्युतीय सवारीसाधन (ईभी) प्रयोगलाई उच्च प्राथमिकता दिँदै इम्बोस्ड नम्बर प्लेटको जडानलाई तीव्रता दिई ‘आरएफआईडी’  गेटहरूमार्फत डिजिटल रूपमा सवारीको नियमन गर्न सुझाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप