शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
सिर्जनशीलता

'मोफसल'मा लाखमानको पारिवारिक फिल्म कर्म

रेडियो मेकानिकदेखि फिल्म कम्पनीसम्मको यात्रा
सोमबार, १४ वैशाख २०८३, १८ : ११
सोमबार, १४ वैशाख २०८३

काठमाडौँ । इटहरीको पशुपति चोक नजिकैको चिया पसलमा केही कलाकर्मी साथीहरूसँग गफगाफ चल्दैथियो । त्यसबेला आइपुगे लाखमान तामाङ । क्यामरा पर्सन जेठा छोरा सुमनसहित आएका उनी पूर्वका जल्दाबल्दा फिल्मकर्मी हुन् । नजिकै खुलेको फाइभस्टार होटल ‘रमडा’को आडैमा रहेको चिया पसलमा चिया खाँदै कुराकानी गर्ने क्रममा लाखमानले आफ्नो निर्माणाधीन घरमा बनिरहेको रेकर्डिङ स्टुडियो सहितको आफ्नो अफिसमा पुर्‍याए । 

कुराकानी गर्ने क्रममा खुल्दै गयो, उनी त ३५ वर्षदेखि इटहरीमै (सुरूवाती दिनमा धरानमा पनि) रहेर पूरै परिवारसहित पो फिल्म क्षेत्रमा सक्रिय रहेछन् । सुन्दा के अचम्म भन्ने पनि लाग्न सक्छ । यसमा ‘इटहरीमै रहेर, परिवारसहित’ भन्ने कुरामा फोकस हुनुपर्ने हुन्छ । 

परिवारै फिल्म वा सांगीतिक क्षेत्रमा लागेकाहरू थुप्रै भेटिन्छन् । तर नेपालको हकमा अहिले पनि कला क्षेत्रमा बाँच्ने र टिक्ने सम्भावना काठमाडौँमै मात्र छ भनिन्छ । इटहरीजस्ता ‘मोफसल’का मझौला सहरमा कलामै समर्पित भएर बाँच्ने वातावरण अहिले नै बनेको छ र ? भन्ने जिज्ञासा मनमा उठिहाल्न सक्छ । 

तर लाखमान ‘अपवाद’ होलान् । अपवाद भन्दा पनि उदाहरण हुन् । विगत ३५ वर्षदेखि पूर्वी नेपालको इटहरीलाई कर्मथलो बनाएर कलाको क्यानभास पोतिरहेका छन् उनी । उनको यो यात्रा कुनै फिल्मको कथा भन्दा कम छैन । 

Lakhman Tamang2

लाखमानको कला यात्रा २०४७ सालमा सुरू हुन्छ- नाटक ‘दु:खेसो’बाट । धरानमा मन्चन भएको यो नाटकमा उनले अभिनय गरेका थिए । रोजीरोटीका लागि घडी र रेडियो मेकानिकको रूपमा काम गर्थे उनी । तर भित्री मनमा भने कलाकारिताको भोक तीव्र थियो । त्यही भोक मेटाउने माध्यम खोज्दै जाँदा नाटकमा खेल्ने अवसर पाएका थिए । तामाङ समुदायका उनी डम्फू बजाउँदै र सेलो गाउँदै-नाच्दै हुर्किए । आफ्नो संस्कृतिलाई सिनेमाको पर्दामा उतार्ने उनको ठुलो रहर थियो । 

भनिन्छ नि, सपना देख्ने मात्रै होइन, पूरा गर्न प्रयास गर्नुपर्छ । २०४९ सालमा उनले देखेको सपनाले गोरेटो फेला पार्‍यो । उनले फिल्म ‘सहारा’ निर्देशन गर्ने अवसर पाए । त्यसपछि तामाङ संस्कृतिमा आधारित फिल्म ‘रिमठिम’ बनाए । 

‘तामाङ संस्कृतिमा आधारित नेपाली भाषाको फिल्म थियो ‘रिमठिम’ । मेरो बुबा डम्फु बजाउनु हुन्थ्यो, यो हाम्रो कल्चर नै हो । सेलो गाउने गर्थें । म पहिलेदेखि नै कलाप्रति हुरूक्कै हुन्थें,’ रातोपाटीसँग उनले सुनाए, ‘हामी चार भाइ, म माइलो । जेठा दाइ पनि यस कलाकारितामै रुचि राख्नुहुन्थ्यो । यसरी कलाकारिताप्रति झुकाव बढ्यो ।‘

लाखमानको रोचक पक्ष के हो भने उनले काठमाडौँलाई बेस बनाएर कलाकारिता गर्ने कहिल्यै सोच बनाएनन् । जे गर्ने हो पूर्वमै बसेर गर्ने हो भन्ने अठोट पाले । बरू धरानमा उर्लाबारी पुगे, फर्किएर फेरि इटहरी आए तर राजधानी काठमाडौं हान्निने सोच बनाएनन् । किन त ? 

‘मेरा चार जना छोराछोरी छन् । मैं हिँडेपछि उनीहरूलाई कसले पाल्ने, कसले हुर्काउने । घरायसी जिम्मेवारीले थिच्यो,’ उनी पुराना दिन सम्झिँन्छन्, ‘जीविकोपार्जनका लागि घडी-रेडियो बनाउनेदेखि साउन्ड सिस्टमको काम गर्दै कलाकारितालाई पनि जगाइराखें ।‘

Lakhman Tamang1

कुनै पनि काम कि पढेर सिकिन्छ कि परेर भन्ने भनाइ नै छ नेपालीमा । लाखमानले फिल्म क्षेत्रको ज्ञान पढेर होइन, परेर सिकेका हुन् । सुरू-सुरूमा केही निर्देशकहरूको समीपमा रहेर काम गर्ने मौका पाउँदा त्यहीँबाट उनले निर्देशन सिके, स्क्रिप्ट लेख्ने आइडिया सिके, खिच्ने कला सिके । 

‘काठमाडौँ नगई मोफसलमै बसेर फिल्म बनाउनु त्यतिबेला निकै चुनौतीपूर्ण थियो । केन्द्रमुखी हुनुभन्दा आफ्नै ठाउँमा डटेर काम गर्ने सङ्कल्प गरें,’ उनी भन्छन्, ‘काठमाडौँ जाने-आउने खर्चभन्दा आफ्नै ठाउँमा पूर्वाधार खडा गर्नुपर्छ भन्ने लाग्यो ।’

रेडियो सर्भिसबाट सुरू भएको व्यावसायिक यात्रा चाहिँ साउन्ड सिस्टम, रेकर्डिङ स्टुडियो हुँदै 'कोशी भिजन फिल्म्स'को फराकिलो कम्पनीमा परिणत भएको छ । ‘कोशी’ नामसँग उनको अत्यन्तै लगाव छ । कोशी घडी रेडियो सर्भिस, कोशी साउन्ड, कोशी डिजिटल रेकर्डिङ स्टुडियो अनि अहिले कोशी भिजन फिल्म्स प्रालि । उनको यो कम्पनीसँग आज आफ्नै आधुनिक क्यामेरा, सम्पादन र रेकर्डिङका अत्याधुनिक उपकरणहरू छन् । ‘फिल्म क्षेत्रमै लागेर घर-सम्पत्ति जोड्ने र परिवार पाल्ने म विरलै निर्देशकमा पर्छु होला, त्यो पनि काठमाडौं बाहिरै बसेर,’ गर्वका साथ उनी सुनाउँछन् । उनले फिल्म निर्माणबाट सबैभन्दा ठुलो कुरा सन्तुष्टि पाएका छन्, परिवार पालेका छन्। विभिन्न अवार्डबाट पनि सम्मानित भएका छन् । 

Lakhman Tamang4

लाखमानको सफलताको महत्त्वपूर्ण खम्बा हो उनको परिवार । उनको परिवार नै फिल्म र कला क्षेत्रमा समर्पित छ । जेठा छोरा सुमन क्यामरा चलाउँछन् भने कान्छा छोरा हेमन्त भिडियो एडिटर हुन् । श्रीमतीले सुटिङमा किचन व्यवस्थापन गर्छिन् भने छोरीले मेकअप लगायत आर्ट निर्देशनको काम गर्छिन् । विवाहपछि छोरी अहिले यो क्षेत्रमा सक्रिय छैनन् । बाहिरका ठुला टेक्निसियनमा भर पर्नु नपर्ने र सबै काम परिवारकै सदस्यबाट हुने भएकाले पनि उनलाई फिल्म निर्माणमा आर्थिक रूपमा सहज भएको छ ।

Suman Tamang

लाखमानको परिवार नै फिल्म क्षेत्रमा लागेको छ तर के सोचेजस्तो आर्थिक उपार्जन छ त ? लगानी र मुनाफाको तालमेल उनले मिलाएका छन् । ठुला सिनेमा हलहरूमा फिल्म रिलिज गर्दा भोग्नुपर्ने तनावभन्दा उनले च्यारिटी शोमा जोड दिएका छन् । 

‘तामाङ समुदायको भएको हुनाले धेरै ठाउँ च्यारिटी शो गर्‍यौं । अन्तर्राष्ट्रिय रूपमा नि देखाइयो, त्यसले राम्रै इन्कम पनि गर्छ । थोरै लगानीमा हामी बनाउँछौँ, हामी आफैँ सबै नै आफूसहित लागेर,’ उनी सुनाउँछन्, ‘म आफैँ लेखक तथा निर्देशक भइहाल्छु, जेठो छोरा क्यामेराम्यान उसको धेरै वर्ष भयो अनुभव, कान्छो छोरा झन् १४ वर्ष मुनिदेखि फिल्म क्षेत्रमा काम गर्न थालेको हो । अहिले त ऊ पूर्वमा सबैले चिन्ने भिडियो एडिटर भइसकेको छ । एनिमेसनदेखि सबै खालका काम गर्न सक्छ ।‘

हालै उनले फिल्म ‘नाम्लो’ बनाएका थिए । पूर्वी नेपाल र बेलायतमा च्यारिटी शोबाटै राम्रै आम्दानी गरेको उनी बताउँछन् । 

Lakhman Tamang3

६४ वर्षका भए लाखमान । तर उनको उनको उत्साह कुनै युवाको भन्दा कम छैन । अहिले उनी रसुवाको एउटा पर्यटकीय गाउँ 'गत्लाङ' को कथामा आधारित 'कालो गाउँ' नामक फिल्मको तयारीमा छन् । साथै अमेरिकामा सुटिङ हुने एउटा अर्को ठुलो प्रोजेक्ट पनि उनको पाइपलाइनमा छ । उनी धेरै ठुला लगानीका फिल्म बनाउँदैनन् । ३०-४० देखि ५०-६० लाखसम्मका प्रोजेक्ट लिन्छन् । म्युजिक भिडियोदेखि डकुमेन्ट्री र फिल्मसम्मका लागि उपकरणहरू भाडामा पनि दिन्छन् । 

‘सिनेमा बनाउन जनशक्ति मात्रै होइन, आँट र आत्मविश्वास चाहिन्छ । अहिलेको समयमा ठाउँले भन्दा पनि सिर्जनाको भूमिका हुन्छ,’ उनी भन्छन् । उनले भनेझैँ सूचना प्रविधि र एआईको यो युगमा स्थान विशेषको होइन, ‘क्रिएसन’को महत्त्व हुन्छ । ‘मोफसल’ भन्ने अवधारणा नै अब पुरानो हुन थालेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खेम रिसाल
खेम रिसाल

खेम रिसाल रातोपाटीका कपी एडिटर हुन् ।

लेखकबाट थप