कृषि उत्पादनमा जोडिँदै महिला सहकारी
सारांश
- महिला सहकारीहरू बचत र ऋणमा मात्र सीमित नभई उत्पादनमा जोडिन लगानीकर्ताहरूसँग आग्रह गरेका छन्।
- सात वटा महिला सहकारीले बैंक, वित्तीय संस्था र निर्यातकर्ताहरूसामु १२ करोडभन्दा बढीको लगानी साझेदारीका लागि प्रस्ताव गरेका छन्।
- लगानीकर्ताहरूले सहकारीको पारदर्शी सुशासन र किसानहरूको सञ्जाललाई लगानीको आधार मानेका छन्।
काठमाडौंँ । महिलाहरूबाट सञ्चालित कृषि तथा बहुउद्देश्यीय सहकारीका प्रतिनिधिहरूले आज राजधानीको एक कार्यक्रममा ‘लगानी’ खोज्दै उत्पादनबारे व्याख्या गरे ।
‘अब सहकारी बचत र ऋणमा मात्रै अल्झेर बस्दैन’ भन्दै उनीहरूले उत्पादनसँग जोडिन चाहेको बताए । त्यसका लागि लगानी गरिदिन उनीहरूले लगानीकर्तालाई आग्रहसमेत गरे ।
ललितपुरमा आयोजित ‘सिड्स अफ चेन्ज’ बहु–सरोकारवाला संवाद कार्यक्रममा सहकारीका नेतृत्वमा रहेका महिलाहरू बलियो रूपमा प्रस्तुत भए । सो अवसरमा सात वटा महिला सहकारीका व्यवस्थापक तथा अध्यक्षहरूले नेपालका प्रतिष्ठित बैंक, वित्तीय संस्था र निर्यातकर्ताहरूसामु आ–आफ्नो व्यावसायिक योजना प्रस्तुत गर्दै साढे १२ करोड रुपैयाँ बराबरको लगानी साझेदारीका लागि ‘डिल’ गरे ।
नेपालका ग्रामीण क्षेत्रमा स–साना बचत र पारस्परिक सहयोगका लागि स्थापना भए पनि महिला सहकारीहरू अहिले आन्तरिक पुँजी परिचालनको साँघुरो दायरा तोड्दै व्यावसायिक उत्पादनमा जोडिने अभियानमा लागेको उनीहरूको दाबी थियो ।
विगतमा ठुला व्यावसायिक घरानाहरूले मात्र गर्ने भनिएको ‘इन्भेस्टमेन्ट डिल’ मा अहिले ग्रामीण क्षेत्रका महिला सहकारीका सञ्चालकहरू प्रस्तुत भएका हुन् ।
- लगानी माग गर्ने सहकारीको अवस्था कस्तो छ ?
लगानीको टेबुलमा प्रस्तावसहित बस्न सक्ने गरी यी सहकारीहरूले विगत केही वर्षमै आफूलाई वित्तीय रूपमा निकै मजबुत बनाइसकेको देखिन्छ । उत्पादन बढाउन भन्दै लगानीका लागि काठमाडौँ आएकोे दाङको लमही–२ केरुनियास्थित समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्थाको वित्तीय अवस्था कुनै विकास बैंकको भन्दा कम छैन ।
८१० जना सदस्य आबद्ध यस सहकारीको वासलात आकार १९ करोड २० लाख रुपैयाँ नाघेको छ भने कुल निक्षेप १६ करोड ६२ लाख र कर्जा लगानी १३ करोड ३० लाख रुपैयाँ पुगिसकेको छ ।
लमहीकै निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्थामा १४५८ जना सदस्य आबद्ध छन्, जसको वासलात आकार ८ करोड १० लाख रुपैयाँ र निक्षेप ४ करोड ९५ लाख रुपैयाँ छ ।
गण्डकी प्रदेशको नवलपुरस्थित सकलादेवी सामाजिक उद्यमी महिला सहकारीको वासलात ७ करोड ४९ लाख रुपैयाँ र कुल निक्षेप ३ करोड ७१ लाख रुपैयाँ रहँदा कास्कीको माछापुच्छ्रेस्थित प्रतिभा सामाजिक उद्यमी महिला सहकारीको वासलात ५ करोड ९९ लाख रुपैयाँ र कुल निक्षेप २ करोड ३० लाख रुपैयाँ पुगेको छ ।
यसैगरी, मधेस प्रदेशको सर्लाहीस्थित हरिपुर सामाजिक उद्यमी महिला सहकारीको वासलात ७ करोड १९ लाख रुपैयाँ र कुल निक्षेप २ करोड ८० लाख रुपैयाँ छ । बागमती प्रदेशको सिन्धुलीस्थित कमलामाई सामाजिक उद्यमी महिला सहकारीको वासलात १ करोड ९३ लाख रुपैयाँ र पाल्पाको गल्धा सामाजिक उद्यमी महिला सहकारीको वासलात ४ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।
उनीहरूले आफ्नो वित्तीय अवस्था देखाउँदै ग्रामीण महिलाहरूले सामान्य बचतमात्रै नगरी करोडौँको वित्तीय अवस्था बनाएकाले अब उत्पादनमा जोडिन आएको बताएका थिए ।
- पारदर्शीताको दाबी
यी सहकारीहरूले वित्तीय रूपमा सक्षम भएकै कारण आफूहरू लगानी पाउन पूर्ण रूपमा योग्य भएको बलियो तर्क लगानीकर्तासामु राखेका छन् । सहकारीका नेतृत्वकर्ताहरूका अनुसार उनीहरूमाथि लगानी गर्नुको सबैभन्दा ठुलो आधार १०० प्रतिशत महिला प्रतिनिधित्व भएको सञ्चालक समिति र पूर्ण पारदर्शी संस्थागत सुशासन हो ।
यी सहकारीले नियमित रूपमा बाह्य लेखापरीक्षण (एक्सटर्नल अडिट) गराउँदै आएका छन् । उनीहरूका अनुसार सहकारी संस्थाहरूसँग आवद्ध सीमान्तकृत किसानहरूको विशाल सञ्जाल र उनीहरूको उत्पादन क्षमता नै लगानीका लागि योग्य र पर्याप्त आधार हुन् ।
सहकारीहरूले लगानीकर्ताहरूसँग पुँजीमात्र मागेका छैनन्, बरु अदुवा, बेसार, सिमी र टिमुरजस्ता निर्यातयोग्य उपज र दुग्धजन्य पदार्थको उत्पादन बढाउने निश्चित योजना देखाएका थिए ।
- लगानीकर्ताहरू सकारात्मक
कृषि मन्त्रालयका सूचना अधिकारी डा. मणिरत्न अर्यालले उत्पादनमा जोडिन खोज्ने सहकारीहरूलाई लगानी गर्न सरकार पनि तयार रहेको बताएका थिए । उनले यस्ता सहकारीहरूलाई सरकारले सहुलियत ऋण, अनुदान जस्ता कुराहरू कार्यविधि अनुसार दिन सकिने बताएका थिए ।
ठुला बैंक तथा वित्तीय संस्थाबाहेक आफूलाई लगानी गर्न आग्रह गर्दै आएका सहकारीहरूसँग उत्पादित सामग्री खरिद गर्ने निर्यातकर्ता कम्पनी ‘एक्विस्टा नेपाल’ले ९ करोड रुपैयाँ बराबरको अग्रिम खरिद सम्झौता गरिसकेको छ । यस्तै हेफर इन्टरनेशनल नेपालले आगामी एक वर्षसम्म यी सहकारीहरूलाई प्राविधिक सहयोग, व्यवसाय व्यवस्थापन र अनुगमनमा ‘कोचिङ’ गर्ने जिम्मा लिएको छ ।
बैंक तथा व्यावसायिक क्षेत्रसँग ७ वटा सहकारीले फरक फरक रकम गरी करिब १२ करोड लगानी मागेका थिए । यसमा सहकारीको योजनाप्रति सकारात्मक रहेको भन्दै उक्त रकम बराबरको डिल गर्न वित्तीय संस्थाहरू तयार देखिएका थिए ।
उनीहरूले सहकारीहरूलाई लगानी गर्न तयार रहेको बताए पनि कुन सहकारीलाई कुन वित्तीय संस्थाबाट कति रकम लगानी सहयोग गर्ने भन्नेबारे खुलाएनन् । ‘कागजात र प्रस्तुतिको आधारमा डिल’मा सकारात्मक भएका छन् । अब फिल्ड पनि हेरेर सहकारीहरूले लगानी पाउँछन्,’ कार्यक्रमका सहजीकरण गरेका हेफर इन्टरनेशनलका प्रतिनिधि प्रविण गुरुङले बताए ।
कार्यक्रममा ग्लोबल आइएमई बैंक, साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएसडीसी लघुवित्त वित्तीय संस्था लगायतले लगानीमा चासो देखाएका हुन् ।
‘प्रत्यक्ष सञ्चालनको ढाँचा अध्ययन गरी लगानी गर्ने प्रतिबद्धता जनाएका छन्,’ गुरुङले भने । निजी क्षेत्रका व्यावसायिक निर्यातकर्ताहरू र विशेषगरी कृषि उद्यममा लगानी गर्ने प्रभाव लगानीकर्ताहरूले पनि यसमा चासो देखाएका छन् ।
गुरुङका अनुसार लगानीकर्ता बैंक तथा वित्तीय संस्थाहरूले र निजी क्षेत्र पनि सहकारीहरूलाई प्रत्यक्ष रूपमा ठुलो परिमाणको ‘थोक कर्जा’, ‘व्यवसाय प्रवर्द्धन कर्जा’ उपलब्ध गराउनेछन् । लगानीको सुरक्षाका लागि त्रिपक्षीय सम्झौताको मोडल अपनाइने उनले बताए । जसमा बैंकले सहकारीलाई कर्जा दिनेछ । सहकारीका किसानले उत्पादन गर्नेछन् र निर्यातकर्ता कम्पनीले सोझै खरिद गरी भुक्तानी बैंक वा सहकारीको खातामार्फत फर्स्यौट गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशी भूमिमा अस्ट्रेलियाको पहिलो सिरिज जित, रेनश र डेविड नायक
-
ऋषभ पन्त पारिश्रमिक घटाएर दिल्ली क्यापिटल्स फर्किँदै, कुलदीप यादव लखनउ जाने
-
देशभर किन बढ्यो रेबिजविरुद्ध खोपको अभाव ?
-
‘घरमा पनि सरसफाइ गर’, विश्वकपमा स्टेडियम सफा गर्ने जापानी फ्यानहरूलाई श्रीमतीहरूको सुझाव
-
खेल सुरु भएको २ मिनेटमै टर्कीविरुद्ध पाराग्वेकाे अग्रता
-
टर्की र पाराग्वेबीच खेल सुरु, दुवै टोली पहिलो अंकको खोजीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण