शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

नेकपा एमालेको पुनर्गठन कि पुस्तान्तरणसहितको पुनर्गठन ?

बिहीबार, १७ वैशाख २०८३, १३ : ३०
बिहीबार, १७ वैशाख २०८३

सारांश

  • नेकपा एमाले वैधता, विश्वास, शैली र भविष्यको संकटमा छ र यसलाई सामान्य पुनर्गठनभन्दा पुस्तान्तरणसहितको गहिरो पुनर्गठनको आवश्यकता छ ।
  • पुस्तान्तरण भनेको केवल उमेर परिवर्तन नभई निर्णय गर्ने शैली, केन्द्रिकरण, आलोचनाप्रतिको असहिष्णुता र अवसरको सीमितता जस्ता संरचनात्मक परिवर्तन हो ।
  • एमालेको पुनर्गठनका लागि विचारको अद्यावधिककरण, सांगठनिक लोकतन्त्रको कार्यान्वयन, कार्यशैलीमा परिवर्तन, नैतिक विश्वसनीयता कायम र नेतृत्व हस्तान्तरणको स्पष्ट रोडम्याप आवश्यक छ ।

नेपालका पुराना राजनीतिक दलहरू अहिले केवल निर्वाचन परिणामको हिसाब–किताबको सीमित संकटमा मात्रै छैनन् । उनीहरू वैधता, विश्वास, शैली र भविष्यको संकटमा छन् । नेकपा एमाले पनि यही दोबाटोमा उभिएको छ । प्रश्न अब यति मात्र होइन कि पार्टी पुनर्गठन गर्ने कि नगर्ने । मूल प्रश्न यो हो– के एमाले सामान्य पुनर्गठनमै सीमित रहने हो कि पुस्तान्तरणसहितको गहिरो पुनर्गठनतर्फ जाने हो ?

यो प्रश्न किन महत्त्वपूर्ण छ भने, हालसम्मको अभ्यास हेर्दा पुनर्गठन शब्द नेपाली राजनीतिमा धेरै प्रयोग भएको छ । तर त्यसको परिणाम धेरै पटक पदहरूको फेरबदलमा सीमित भएको देखिन्छ । कमिटी फेरिन्छन्, जिम्मेवारी हेरफेर हुन्छ, अनुहारहरू केही नयाँ देखिन्छन्, तर सोच पुरानै रहन्छ । निर्णय– प्रक्रिया उस्तै रहन्छ, आलोचना सुन्ने संस्कार बदलिँदैन र जनतासँगको सम्बन्ध अझै एकतर्फी नै रहन्छ । यस्तो पुनर्गठनले सङ्गठनलाई केही समय त धान्न सक्छ, तर इतिहासलाई मोड्न सक्दैन ।

एमाले आज त्यही निर्णायक मोडमा उभिएको छ । अब आफूलाई आफैलाई सोध्नुपर्ने बेला भएको छ के पार्टी अझै पनि अतीतमुखी उपलब्धिको ब्याजमै रमाउन चाहन्छु ? के उसले भविष्यमा लगानी गर्ने साहस राख्छ ? कुनै पनि ठुलो पार्टीको दीर्घायु केवल पुराना योगदानले मात्र तय भएको हुँदैन, त्यसलाई वर्तमानका प्रश्नको उत्तर दिने क्षमता र नैतिकता चाहिन्छ । 

जनताले अब वंश, विरासत, भाषणकला वा गौरवगाथा मात्र हेरेर निर्णय गर्दैनन् उनीहरू परिणाम, जबाफदेहिता, व्यवहार, विधि र भविष्यको दृष्टि समेत राजनीति, पार्टी र नेतृत्वमा खोज्छन् ।

ठिक यति नै  बेला नेकपा एमालेले पुस्तान्तरणको अर्थ स्पष्ट गर्न सक्नुपर्छ । पुस्तान्तरण भनेको केवल वृद्धको ठाउँमा युवा ल्याउने प्रक्रिया मात्र होइन । उमेर परिवर्तन मात्र पनि होइन । यदि निर्णय गर्ने शैली उस्तै रहने, केन्द्रिकरण उस्तै रहने, आलोचना, असहिष्णुता उस्तै रहने र संगठनभित्र अवसरको ढोका सीमित वृत्तमै घुमिरहने हो भने ४० वर्षका मान्छेले पनि ७० वर्षकै राजनीति दोहोर्‍याउन सक्छन् । 

त्यसैले एमालेलाई चाहिएको पुस्तान्तरण जैविक होइन, राजनीतिक हुनुपर्छ । दृश्य होइन, संरचनात्मक हुनुपर्छ । प्रतीकात्मक होइन, कार्यसंस्कृतिगत हुनुपर्छ ।

एमालेको बल भनेकै संगठनात्मक स्मृति हो । यसको वैचारिक आधार, अनुशासन, देशव्यापी संरचना, प्रशिक्षण परम्परा, कार्यकर्ता पंक्ति र आन्दोलनको इतिहास हो । यो सबै कमजोर जगमा ठडिएको छैन । तर यही शक्ति अहिले कमजोरीमा बदलिने जोखिममा पनि छ । 

जब इतिहास आत्मालोचनाको स्रोत बन्न छोडेर आत्मसन्तुष्टिको आधार बन्छ, तब सङ्गठन जड हुन थाल्छ । पार्टीभित्र वरिष्ठता योग्यता भन्दा माथि बस्न थाल्यो भने प्रतिभा किनारामा पुग्छ । नेतृत्व विकल्पलाई प्रतिस्पर्धाका रूपमा नहेरी असुविधाको रूपमा हेर्न थाल्यो भने नयाँ पुस्ता पार्टीमा बस्छ, तर पार्टीको मुख्य भावबाट टाढिन सक्छ ।

युवालाई ठाउँ दिने चर्चा धेरै हुन्छ । तर ठाउँ दिने भनेको केवल मञ्चमा ताली पिट्न बोलाउने, प्रचारमा दौडाउने वा केही सहायक जिम्मेवारी थमाउनु मात्र होइन । आजको समाज पुस्तान्तरणको अर्थ व्यावहारिक हुनपर्छ, जहाँ नीति निर्माणमा पहुँच, निर्णय प्रक्रियामा सहभागिता, नेतृत्वमा निष्पक्ष प्रतिस्पर्धा र गल्ती सच्याउने अधिकारलाई प्रार्थमिकताका साथ कार्यान्वयनमा लैजान सकियोस् । 

युवा पुस्ताले पार्टीमा प्रवेश मात्रै होइन, प्रभाव पनि पाउनुपर्छ । प्रभावविहीन सहभागिता पार्टी सजावटका लागि ठिक छ तर त्यसले पार्टी, सङ्गठन र आन्दोलन बलियो हुँदैन । एमालेले यदि साँच्चिकै पुनर्गठन गर्न चाहन्छ भने पाँच वटा गहिरा प्रश्नबाट भाग्न मिल्दैन ।

युवा पुस्ताले पार्टीमा प्रवेश मात्रै होइन, प्रभाव पनि पाउनुपर्छ । प्रभावविहीन सहभागिता पार्टी सजावटका लागि ठिक छ तर त्यसले पार्टी, सङ्गठन र आन्दोलन बलियो हुँदैन । एमालेले यदि साँच्चिकै पुनर्गठन गर्न चाहन्छ भने पाँच वटा गहिरा प्रश्नबाट भाग्न मिल्दैन ।

पहिलो, विचारको अद्यावधिककरण गरौँ । जनताको बहुदलीय जनवाद केवल इतिहासको पाठ होइन, वर्तमानको कार्यक्रम बन्नुपर्छ । आजको नेपालमा रोजगारी, प्रवासन, डिजिटल अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, स्थानीय शासन, संघीयता, जलवायु सङ्कट र सामाजिक न्याय जस्ता मुद्दामा स्पष्ट, आधुनिक र लागू गर्न सकिने दृष्टि बिना कुनै पनि वैचारिक नारा जीवित रहन सक्दैन । 

पार्टीले आफ्ना पुराना सिद्धान्तलाई जोगाउनुपर्छ । तर तिनलाई स–सम्मान इतिहासको विरासत बनाएर समय अनुकूल परिमार्जन गर्न सक्नु पर्छ । नत्र पार्टीकै अस्थित्व संकटमा पर्ने निश्चित छ ।

दोस्रो, सांगठनिक लोकतन्त्रलाई कार्यान्वयन गरौँ । जब पार्टीभित्र प्रश्न सोध्ने अधिकार कमजोर हुन्छ, तब बाहिर जनताबाट विश्वास माग्ने नैतिक बल पनि घट्छ । बैठकहरू औपचारिक, निर्णयहरू पूर्वनिर्धारित, आलोचनालाई अनुशासनहीनता मान्ने परम्पराले अन्ततः दललाई खोक्रो बनाउँछ । 

एमालेभित्र हराएको फरक मतलाई सङ्गठन बलियो बनाउने आधार मान्ने प्रवृत्तिलाई अब सुधारको स्रोतका रूपमा स्वीकार गर्ने परिपाटी बस्नुपर्छ । नेतृत्वको सम्मान रहन सक्छ, तर सम्मानको नाममा मौनता थोपरिनु खतरानाक पारिपाटी हो ।

तेस्रो, कार्यशैलीमा व्यापक परिवर्तनको अनिवार्यता । पुरानो राजनीतिक भाषाले नयाँ समाजलाई छुन सक्दैन । अहिलेका नागरिक, विशेषतः युवा, दलसँग भावनात्मक सम्बन्धभन्दा बढी कार्यसम्पादनको सम्बन्ध राख्छन् । उनीहरू घोषणापत्र भन्दा नतिजा हेर्छन् । भाषणभन्दा व्यवहार हेर्छन् । नेताको व्यक्तित्व भन्दा संस्थाको विश्वसनीयता हेर्छन् । एमालेले नागरिकको यो नयाँ मनोविज्ञान बुझेन भने संगठनको आकार ठुलो भएर पनि जनआकर्षण घट्दै जानु स्वाभाविक बन्छ । 

चौथो, नैतिक विश्वसनीयता कायम गरौँ । कुनै पनि पार्टीको सङ्कट केवल चुनाव हार्दा सुरु हुँदैन । सङ्कट तब सुरु हुन्छ जब जनता उसले बोल्ने भाषा र गर्ने कामबिचको दूरी नाप्न थाल्छन् । भ्रष्टाचार, अवसरवाद, गुटीय सुरक्षा, शक्ति–केन्द्रित संस्कार, र सार्वजनिक जीवनमा विनम्रताको अभावले वैचारिक दललाई पनि साधारण सत्ताकेन्द्रित समूहमा झारिदिन्छ । एमालेले आफूलाई अरूभन्दा फरक देखाउन चाहन्छ भने नैतिक अनुशासनलाई व्यक्तिगत सदाचारको विषय मात्र नभई संस्थागत मापदण्ड बनाउनु पर्नेछ ।

पाँचौँ, नेतृत्व हस्तान्तरणको स्पष्ट रोडम्याप के हो ? नेतृत्व परिवर्तन कुनै दुर्घटना वा भावनात्मक विद्रोहबाट होइन, विधिसम्मत सङ्क्रमणबाट हुनुपर्छ । यहीँ एमालेको परीक्षा हुन्छ । यदि पार्टीले नेतृत्व पुस्तान्तरणलाई ‘अहिले होइन, पछि’ भन्दै धकेलिरह्यो भने त्यो पछि कहिल्यै आउँदैन । समयमै मार्ग प्रशस्त नगर्ने नेतृत्वले अन्ततः आफ्नै विरासत पनि साघुँर्‍याउँदै जान्छ । इतिहासमा ठुला नेता ती होइनन् जो लामो समय टिके; ती हुन् जसले समयमै आफूभन्दा ठुलो संस्था निर्माण गरे ।

अहिले एमालेलाई चाहिएको कुरा पुराना नेताको अपमान होइन, नयाँ पुस्ताको सम्मान हो । अग्रजहरूको योगदान अस्वीकार गरेर नयाँ अध्याय सुरु हुँदैन । तर योगदानको सम्मान र स्थायी नियन्त्रण एउटै कुरा होइन । अग्रजले मार्गदर्शन गर्ने, नयाँ पुस्ताले नेतृत्व लिने, र संस्थाले व्यक्ति भन्दा माथि उभिने संस्कार बसाल्न सकियो भने मात्रै पुनर्गठन अर्थपूर्ण हुन्छ । अन्यथा, पुस्तान्तरणको नारा पनि अन्ततः आन्तरिक निराशा शान्त पार्ने अस्थायी भाषणमै सीमित हुनेछ ।

राजनीतिमा सबैभन्दा खतरनाक भ्रम के हो भने सङ्गठन बलियो छ भने जनता सधैँ साथमा रहन्छन् । सङ्गठन जनतासँगको सम्बन्धको माध्यम हो, विकल्प होइन । जनता फेरिएका छन् । उनीहरूको अपेक्षा फेरिएको छ । असन्तोष व्यक्त गर्ने तरिका फेरिएको छ । राजनीतिक निष्ठा पनि अब स्थायी रहेन । यस्तो समयमा कुनै पनि पार्टीले आफ्ना संरचना, भाषा, अनुशासन, नेतृत्व र कार्यक्रमलाई अद्यावधिक नगरी केवल इतिहासको बलमा भविष्य निर्माण गर्न सक्दैन ।

त्यसैले एमालेसामु आजको विकल्प स्पष्ट छ– सामान्य पुनर्गठन गर्ने कि पुस्तान्तरणसहितको पुनर्गठन ? पहिलो बाटोले पार्टीलाई केही समय बचाउन सक्छ । दोस्रो बाटोले मात्र पार्टीलाई अर्थपूर्ण बनाउन सक्छ । पहिलो बाटोमा पदहरूको व्यवस्थापन छ । दोस्रोमा भविष्यको निर्माण । पहिलो बाटोले शान्ति दिन सक्छ । दोस्रोले सम्भावनाको नयाँ क्षितिजतर्फ बोलाइरहेको छ ।

नेपालको लोकतन्त्रलाई पनि सजीव, प्रतिस्पर्धी र उत्तरदायी मुख्यधाराका दल चाहिन्छन् । त्यस अर्थमा एमालेको पुनर्गठन एमालेको मात्र प्रश्न होइन; यो राष्ट्रिय राजनीतिक स्वास्थ्यको प्रश्न पनि हो । तर त्यो पुनर्गठन विश्वसनीय तब मात्र हुन्छ, जब पार्टीले साहसपूर्वक स्वीकार गर्छ– अब अनुहार फेर्नु मात्र पर्याप्त छैन । संस्कार फेरिनुपर्छ; केवल नेतृत्व होइन, नेतृत्व गर्ने तरिका बदलिनुपर्छ । केवल सङ्गठन होइन, संगठनको आत्मा पुनर्निर्माण हुनुपर्छ ।

यहीँबाट उत्तर निस्किन्छ– एमालेलाई पुनर्गठन होइन, पुस्तान्तरणसहितको पुनर्गठन चाहिएको छ । किनकि समयले अब व्यवस्थापन होइन, रूपान्तरण मागिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पौडेल निर्जन
अर्जुन पौडेल निर्जन
लेखकबाट थप