आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
अपराध

डेरा खोज्ने निहुँमा ‘रेकी’ गरेर गरगहना लुटपाट

काठमाडौँको ७ ठाउँमा सिक्री लुट्ने समूह पक्राउ
बिहीबार, १७ वैशाख २०८३, १५ : १९
बिहीबार, १७ वैशाख २०८३

सारांश

  • डेरा खोज्ने निहुँमा 'रेकी' गरेर गरगहना लुट्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
  • चन्द्रागिरि क्षेत्रमा मात्रै ७ वटा लुटपाटमा संलग्न गिरोहले डेराको बारेमा सोध्ने बहानामा महिलाका गरगहना लुटेर फरार हुने गरेका थिए ।
  • प्रहरीले यस घटनामा संलग्न ६ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

काठमाडौँ । काठमाडौँ उपत्यकाका हरेक गल्लीमा दैनिक डेरा खोज्दै हिँड्ने मान्छेको कमी हुँदैन । डेरा खोज्दै हिँडेको मान्छे देख्नु धेरैका लागि सामान्य विषय पनि हो । यही सामान्यजस्तो लाग्ने विषयको आडमा गरगहना लुट्ने गिरोह सक्रिय भएको पाइएको छ ।

चन्द्रागिरि नगरपालिका–१३ स्थित मितेरी चोकमा हिँडिरहेकी ७० वर्षीय वृद्धालाई मोटरसाइकलमा आएका दुई जना युवकले रोकिएर सोधे, ‘आमा ! यो ठाउँमा डेरा पाइन्छ ?’

२०८२ चैत १९ गते दिउँसो एक्लै हिँडिरहेकी महिलाले डेरा पाउनसक्ने बताएपछि युवाहरूले डेराकै सम्बन्धमा थप सोधखोज गर्न थाले । ती महिलाले निःसङ्कोच भएर ती युवासँग डेराका सम्बन्धमा आफूलाई थाहा भएसम्मको जानकारी दिइन् ।

कुरा चलिरहेकै समयमा तिनै डेरा खोज्नेहरूले उनको गलामा रहेको सुनको सिक्री अकस्मात थुते । अनि, छिनभरमै मोटरसाइकल हुइँक्याएर फरार भए ।

वृद्धा छाँगाबाट खसेजस्तो भइन् । परिवारका सदस्यहरूले त्यसबारे प्रहरी वृत्त थानकोटकी डीएसपी एलिजा गिरीलाई जानकारी गराए ।

सो घटना भएको एक हप्ताअघि चैत १२ मा पनि लुटेराहरूले चन्द्रागिरि–६ स्थित मातातीर्थ फनपार्कमा २९ वर्षीय महिलाको गलाबाट सुनको सिक्री लुटेका थिए । फन पार्कको बाटो हिँडिरहेकी महिलाले घाँटीमा लगाएको डेढ तोला सुनको सिक्री लुटेको घटनाबारे थानकोट प्रहरीले अनुसन्धान गर्दै थियो ।

लगातार भएको दोस्रो घटनाको अपराध प्रकृति सामान थियो । लुटेराहरूले डेराबारे सोधपुछ गर्थे, र अलमल्याएर गहना थुतेर फरार हुन्थे ।

चन्द्रागिरि क्षेत्रमा यस प्रकारको लुटपाट रोकिएन । वैशाख ६ मा चन्द्रागिरि नगरपालिका–७ स्थित घुमाउनेमा अर्की एक जना महिलाको सुनको सिक्री लुटपाट भयो । मोटरसाइकलमा आएका युवाहरूले डेढ तोला बराबरको सिक्री लुटेर भागेका थिए ।

काठमाडौँको चन्द्रागिरि क्षेत्रमा यस प्रकारको लुट आतङ्क मच्चाउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । वैशाख ११ मा भएको लुटमा संलग्न ४ जनालाई तारकेश्वर नगरपालिका–४ स्थित पैयुँटारबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।

सो समूहका थप दुई जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवकोटको ककनी गाउँपालिका–३ स्थित वाउँखेल घर भएका २१ वर्षीय सविन तामाङ, २६ वर्षीय विमल तामाङ, २१ वर्षीय सुजन तामाङ र नुवाकोटको बिदुर घर भएका ४४ वर्षीय सतिश अमात्य छन् । उनीहरूमाथि प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।

चार जनामाथि अनुसन्धान गर्दा संलग्नता खुलेका थप दुई जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयले सुमन तामाङ र विजय तामाङलाई पक्राउ गरिएको जनाएको छ । उनीहरूको साथबाट प्रहरीले चोरीको मोटरसाइकल समेत बरामद गरेको छ ।

लुटमा संलग्न सविन तामाङ यसअघि पनि चोरी मुद्दामा पक्राउ परेका व्यक्ति हुन् । प्रहरी वृत्त जनसेवाले पक्राउ गरेर उनलाई चोरी मुद्दा चलाएको प्रहरीको आपराधिक अभिलेख प्रणाली (सीआरएस) रेकर्डमा भेटिएको छ ।

७ ठाउँमा लुटपाट

चन्द्रागिरिसहित यो समूहले काठमाडौँको ७ ठाउँमा महिलाहरूलाई लक्षित गरेर सुनको सिक्री लुटेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपितहरूले स्वयम्भु, कीर्तिपुर, बालाजुको तिनपिप्ले, सुकेधारा, थानकोट, मातातीर्थ, नैकाप घुमाउने र मितेरी चोकमा महिलाको सिक्री लुटेको भेटिएको छ ।

लुट्न जाँदा उनीहरू चोरीको मोटरसाइकल लिएर जान्थे । लुटेर केही पर पुगेपछि चोरीको मोटरसाइकल छाडेर उनीहरू अरु साधन प्रयोग गरेर भाग्थे । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘एकदुई दिनपछि गएर नियाल्ने र प्रहरीले नलगेको भएमा फेरी उनीहरू सो मोटरसाइकल लिएर जाने गरेको देखिन्छ ।’

प्रहरी वृत्त थानकोटको टोलीले आरोपितहरूले लुट्न प्रयोग गरेको दुई वटा मोटरसाइकल बरामद गरेको छ । सो मोटरसाइकल चोरीको रहेको पुष्टि भएको छ । मितेरी चोकमा हिँडिरहेकी ७० वर्षीय वृद्धालाई सविन र बिमलले लुटेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । प्रहरीसँग उनीहरूले सो घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् ।

वैशाख ६ मा आरोपितहरूले चन्द्र्रागिरि नगरपालिका–७ घुमाउनेस्थित बाटोमा हिँडिरहेको अवस्थामा एक जना महिलाको डेढ तोला बराबरको सुनको सिक्री लुटेर फरार भएका थिए । लगातार लुटपाट भएपछि थानकोटकी डीएसपी एलिजा गिरीले अनुसन्धान तीव्र बनाएकी थिइन् । उनले नेतृत्व गरेको टिमले २५ दिन अनुसन्धान गरेर आरोपितहरूलाई पक्राउ गरेको हो ।

सिक्री लुट्ने समूह दिउँसो १२ बजेपछि ५ बजेसम्म सक्रिय हुने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । दिउँसोको समयमा मानिसहरूको आवतजावत कम हुने हुनाले आरोपितहरूले त्यो समय छनोट गरेको आशंका गरिएको छ ।

उनीहरूले सुरुमा कोठा भाडामा दिनेबारे सोध्ने र भाडा कति छ भनेर महिलाहरूलाई अल्मल्याउने गर्छन् । वृद्ध महिलालाई टार्गेट गरेर उनीहरूले भन्छन्, ‘थकाई लाग्यो होला, बस्नुस् भन्छन् ।’

एउटै महिलालाई उनीहरूले धेरै समय रेकी गर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराई भन्छन्, ‘एक्लै हिँडेका महिलाहरूलाई फलो गरेर सिक्री लुटेर फरार हुने उनीहरूको अपराध प्रवृति देखिएको छ ।’

लुटमा संलग्न विमल तामाङ यसअघि टिप्पर चालक थिए । धादिङ हुँदै काठमाडौँ टिप्पर चलाउने उनी अहिले चोरीमा लागेका हुन् । सविन तामाङ मोटरसाइकल राइडर हुन् । उनलाई सहकर्मीले ‘बाबु’ भनेर बोलाउँछन् ।

आरोपितहरूले लुटेको १ तोला सुन प्रहरीले बरामद गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप