शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

शैक्षिक उपलब्धिमा ७ विश्व रेकर्डसहित नेपाली मूलका आशिष बने ‘विश्व नम्बर वान’

बिहीबार, १७ वैशाख २०८३, १५ : ३४
बिहीबार, १७ वैशाख २०८३

काठमाडौँ । नेपाली मूलका आशिष विष्टले एकैसाथ शैक्षिक उपलब्धिका सात विश्व कीर्तिमान राखेका छन् ।

अष्ट्रेलियाको पर्थमा बसोबास गर्दै आएका आशिषलाई ‘वर्ल्ड बुक अफ रेकड्र्स’ लन्डनले स्नातकोत्तर तथा व्यावसायिक शैक्षिक उपलब्धिका लागि सात विश्व कीर्तिमानसहित आधिकारिक मान्यता दिएको हो। योसँगै उनी विश्वकै सबैभन्दा बढी शैक्षिक सम्मान प्राप्त व्यक्ति बनेका छन् ।

विष्टका सात फरक कीर्तिमानहरू व्यावसायिक मान्यता, बहुविषयगत दक्षता र छिटो डिग्री पूरा गर्ने उपलब्धिसँग सम्बन्धित छन् । उनले विश्वकै सबैभन्दा सम्मानित चार्टर्ड एकाउन्टेन्ट तथा सबैभन्दा धेरै शैक्षिक योग्यता भएका ज्योतिषविद्का रूपमा मान्यता पाएका हुन् ।

उनका उपलब्धिहरू यस्ता छन्

  • ६ वर्ष ६ महिनामै चार देशबाट पाँच एडभान्स डिग्री
  • ४० महिनामै चार एडभान्स डिग्री
  • १ वर्ष ६ महिनामै दुई फरक क्षेत्रमा स्नातकोत्तर र विद्यावारिधिसहित तीन एडभान्स डिग्री
  • १७ महिनामा एकसाथ विद्यावारिधि र स्नातकोत्तर पूरा

उनका तीन कीर्तिमानलाई वर्ल्ड बुक अफ रेकड्र्सले उच्च श्रेणीको ‘सर्टिफिकेट अफ एमिनेन्स’ मान्यता पनि दिएको छ।

यी उपलब्धिको प्रमाणीकरणका लागि धेरै महिनासम्म उनको शैक्षिक प्रमाणपत्र, व्यावसायिक योग्यताको परीक्षण र स्वतन्त्र कानुनी समीक्षा गरिएको थियो ।

उनका योग्यतामा ज्योतिषमा विद्यावारिधि, ज्योतिषमा स्नातकोत्तर, बेलायतबाट अकाउन्ट तथा फाइनान्समा एमएससी, अष्ट्रेलियाबाट अकाउन्टिङमै मास्टर्स, तथा एसीसीएको उच्च मेम्बबरसिप तह एफसिसिए समावेश छन् ।

उनको शैक्षिक यात्रा नेपाल, भारत, बेलायत र अष्ट्रेलियासम्म फैलिएको छ। औपचारिक शिक्षाबाट १० वर्ष टाढा रहेपछि उनले पुनः अध्ययन सुरु गरी दुई वर्षभन्दा केही बढी समयमा एसीसीए पूरा गरे र त्यसपछि धेरै उच्च डिग्री हासिल गरे ।

आशिष विष्ट भन्छन्, ‘एक दशकपछि पुनः अध्ययनमा फर्किन सजिलो थिएन। तर मेहनतमा केन्द्रित भए परिणाम आफैँ आउँछ भन्ने मलाई विश्वास थियो ।’

स्नातकोत्तर र व्यावसायिक तहमा हासिल गरेका उनका सात कीर्तिमानले यसअघि माध्यमिक तहमा अभिलेखित शैक्षिक विश्व कीर्तिमानहरूको सङ्ख्यालाई समेत पछि पारेको छ ।

हाल विष्ट रिसर्चर र एजुकेटरका रूपमा कार्यरत छन्। शिक्षा, फाइनान्स र ज्योतिषसम्बन्धी विषयमा उनी अन्तर्राष्ट्रिय दर्शकसँग सामाजिक सञ्जालमार्फत पनि जोडिएका छन् ।

विष्टको कीर्तिमानबारे विश्वका विभिन्न सञ्चारमाध्यमहरूले स्थान दिँदै समाचार प्रकाशित गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप