प्रतिबन्धित छोकडा आयात गर्न सरकारी कागजात किर्ते, व्यवसायी नवीन अग्रवाल पक्राउ
काठमाडौँ । सरकारले आयातमा पूर्ण बन्देज लगाएको छोकडा (खजुर) भित्राउन सरकारी कार्यालयको लेटरहेड, छाप र हस्ताक्षर किर्ते गरेको आरोपमा एक व्यवसायी पक्राउ परेका छन् ।
प्रतिबन्धित १०० टन छोकडा आयात गर्ने अनुमति पत्र किर्ते गरेको अभियोगमा बिहीबार काठमाडौँको कालिकास्थानस्थित ’सिम्भिन इन्टरनेशनल इम्पेक्स’ का सञ्चालक ५५ वर्षीय नवीन कुमार अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी ब्यूरोका अनुसार अग्रवालले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको लेटरहेड, छाप र विभागका पूर्वमहानिर्देशकको नाम तथा हस्ताक्षरको दुरुपयोग गरी नक्कली (किर्ते) अनुमति पत्र तयार पारेका थिए । उक्त किर्ते अनुमति पत्र उनले वीरगञ्ज भन्सार कार्यालयमा पेस गरेर छोकडा भित्राउने प्रयास गरेको अनुसन्धानबाट खुलेको छ ।
नेपाल सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ बमोजिम २०७६ चैत २४ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै अर्को सूचना नआएसम्मका लागि छोकडा आयातमा पूर्ण बन्देज लगाएको छ। सोही प्रतिबन्धित वस्तु गैर कानुनी रूपमा भित्राउन उनले सरकारी कागजातको किर्ते गरेका हुन् ।
काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर खटिएको प्रहरी टोलीले अग्रवाललाई वीरगञ्ज–११ आदर्शनगरबाट पक्राउ गरेको हो।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण