बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

सार्वजनिक बिदामा ओपिडी खोल्ने निर्णयप्रति चिकित्सक संघको आपत्ति, निर्णय फिर्ता लिन माग

शुक्रबार, १८ वैशाख २०८३, ०१ : ५२
शुक्रबार, १८ वैशाख २०८३

सारांश

  • नेपाल चिकित्सक संघले सार्वजनिक बिदामा ओपिडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध अव्यवहारिक र अवैज्ञानिक भन्दै तत्काल फिर्ता लिन माग गरेको छ ।
  • संघले चिकित्सक तथा स्वास्थ्यकर्मीहरू पनि श्रमिक भएको र बिदाको दिन ओपिडी चलाउँदा उनीहरूमाथि अन्याय हुने जनाएको छ ।
  • सार्वजनिक बिदामा ओपिडी सेवा बन्द राखी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको बिदा कायम गर्न संघले माग गरेको छ ।

काठमाडौँ । नेपाल चिकित्सक संघले सार्वजनिक बिदाका दिन पनि सरकारी अस्पतालहरूमा बहिरंग विभाग (ओपिडी) सेवा सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको अनुरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयको उक्त निर्णय अव्यवहारिक र अवैज्ञानिक भएको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ ।

मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) र बुद्ध जयन्तीको बिदाको दिन पनि देशभरका सबै सरकारी अस्पतालमा ओपिडी सेवा सञ्चालन गर्न अनुरोध गरेको थियो ।

संघले अहोरात्र सेवामा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरू पनि श्रमिक नै भएको र अन्तर्राष्ट्रिय मान्यताअनुसार श्रमिक दिवसको बिदाको दिनमा समेत ओपिडी सेवा सञ्चालन गर्दा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि ठुलो अन्याय हुने उल्लेख गरेको छ ।

‘अस्पतालमा इमर्जेन्सी लगायतका अत्यावश्यक सेवा बिदाका दिनमा समेत सञ्चालन हुने र ओपिडी सेवा अत्यावश्यक सेवा नभएकाले १–२ दिन बन्द रहँदा फरक नपर्ने देखिन्छ,’ संघका महासचिव डा. सञ्जिब तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई अन्य पेशाकर्मीलाई जस्तै बिदा दिने प्रचलन रहेको र अन्य चाडपर्वमा पनि ३ दिन वा बढी बिदा पर्न सक्ने हुँदा मन्त्रालयको उक्त निर्णय अव्यवहारिक र अवैज्ञानिक रहेको छ ।’

संघले मन्त्रालयको उक्त विज्ञप्ति अविलम्ब फिर्ता लिई वैशाख ३१ गते (मे १) का दिन ओपिडी सेवा बन्द राखी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको बिदा कायम गर्न माग गरेको छ ।

nma

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप