रोल्पा जिप दुर्घटना : बिहानैदेखि उद्धार कार्य पुनः सुरु
सारांश
- रोल्पाको थवाङ गाउँपालिकामा भएको जिप दुर्घटना स्थलमा आज बिहानैदेखि पुनः खोज तथा उद्धार कार्य सुरु गरिएको छ।
- लगातार पानी र रात परेपछि हिजो स्थगित गरिएको उद्धार कार्य सडक भिरालो र चिप्लो भएकाले ढिलाइ भएको छ।
- दुर्घटनामा २० जनाको मृत्यु भएको पुष्टि भएको छ भने एक जना घाइतेको थप उपचारका लागि रिफर गरिएको छ।
बुटवल । रोल्पा जिल्लाको थवाङ गाउँपालिका–१ सल्यापमा २० जनाको ज्यान जानेगरी भएको जिप दुर्घटना स्थलमा आज बिहानैदेखि पुनः खोज तथा उद्धार कार्य सुरु गरिएको छ।
लगातार पानी परेका कारण र रात परेपछि हिजो उद्धार कार्य स्थगित गरिएको थियो। सडक अत्यन्त भिरालो र चिप्लो भएकाले उद्धार कार्यमा ढिलाइ भएको जनाइएको छ।
रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले आज बिहानैदेखि तीनै तहका सुरक्षाकर्मी परिचालन गरेर उद्धार कार्य अघि बढाइएको रातोपाटीलाई बताए।
रुकुम पूर्व जिल्लाबाट जलजला क्षेत्रतर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप बिहीबार दिउँसो दुर्घटनामा परेको थियो। जिप सडकबाट करिब ८ सय मिटर तल भिरमा खसेको थियो।
दुर्घटनास्थल अत्यन्तै अप्ठ्यारो भएकाले शवहरू सडकसम्म ल्याउन कठिन भइरहेको छ। हालसम्म ३ वटा शव मात्रै सडकमा ल्याइएको छ भने अन्यको उद्धार कार्य जारी रहेको छ।
दुर्घटनामा २० जनाको मृत्यु पुष्टि भएको छ भने एक जना घाइते छन्। घाइते समीर कामीलाई रुकुम पूर्व अस्पतालबाट थप उपचारका लागि बाहिर रिफर गरिएको छ।
सबै शव सडकसम्म ल्याएपछि मात्र पहिचान प्रक्रिया सहज हुने उनले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण