सार्वजनिक जग्गाहरूलाई अतिक्रमणबाट जोगाउन नदी किनारमा ‘बुद्ध पार्क’ बनाऔँ : नगरप्रमुख महर्जन
सारांश
- ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आफ्नो कार्यकालमा बौद्ध सम्पदाको संरक्षण र पुनर्निर्माण कार्य सम्पन्न भएको बताएका छन्।
- उनले नदी किनारका सार्वजनिक जग्गालाई अतिक्रमणबाट जोगाउन बुद्ध पार्क निर्माणको प्रस्ताव अघि सारेका छन्।
- मेयर महर्जनले आफ्नो कार्यकालमा सम्पदा संरक्षणलाई उच्च प्राथमिकता दिएको र सुकुम्बासी समस्या नरहेको बताए।
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आफ्नो कार्यकालमा महानगरभित्रका बौद्ध सम्प्रदायसँग सम्बन्धित मूर्त तथा अमूर्त सम्पदाको संरक्षण र पुनर्निर्माण कार्य पूर्ण भएको बताएका छन्। २५७० औँ बुद्ध जयन्तीको अवसरमा संयुक्त राष्ट्र सङ्घीय कार्यालयको परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
नगरप्रमुख महर्जनले आफ्नो पहिलो कार्यकालमा ललितपुरका विहार, बही, चैत्य र मन्दिरको पुनर्निर्माण तथा जीर्णोद्धारमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्दै ती कार्य हाल सम्पन्न भइसकेको उल्लेख गरे। सम्पदा संरक्षणको सन्दर्भमा पूर्व नगरप्रमुख स्व. बुद्धराज बज्राचार्यको योगदानको चर्चा गर्दै महर्जनले पुनर्निर्माण प्रक्रियामा सहयोग पुर्याउने भारत र जापान सरकारप्रति आभार प्रकट गरे।
मूर्त सम्पदाका साथै अमूर्त सम्पदाको जगेर्नाका लागि महानगरले बुद्ध जयन्ती समारोह समिति र हरेक चार वर्षमा हुने ‘महासम्यक’ पर्व सञ्चालनार्थ ‘अक्षय कोष’ को व्यवस्था गरी आर्थिक स्थायित्व प्रदान गरेको जानकारी समेत उनले दिए। काठमाडौँ उपत्यका मेयर्स फोरमका अध्यक्ष समेत रहेका महर्जनले नदी किनारका सार्वजनिक जग्गालाई अतिक्रमणबाट जोगाउन नयाँ प्रस्ताव अघि सारेका छन्। नदी किनारका खाली क्षेत्रमा बुद्धका मूर्तिसहितका आकर्षक पार्क निर्माण गर्न सके त्यसको उचित व्यवस्थापन हुने र भविष्यमा पुनः हुन सक्ने अतिक्रमण रोक्न सकिने उनको तर्क छ।
उनले आफ्नो योजनाअनुसार महानगरका अधिकांश बौद्ध सम्पदाको पुनरुत्थान भइसकेको दाबी गर्दै कतै कुनै कार्य बाँकी भए जानकारी गराउन सम्बन्धित सबैमा आग्रह गरे। ललितपुर महानगरपालिकामा सुकुम्बासी समस्या नरहेको र उपलब्ध नदी किनारका क्षेत्रमा पार्क निर्माण भइसकेको भए तापनि छिमेकी महानगर र नगरपालिकाका लागि यो एउटा उत्तम विकल्प हुन सक्ने उनले बताए।
यस प्रस्तावलाई छिट्टै उपत्यका मेयर्स फोरममा छलफलको विषय बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले यस कार्यमा बुद्धिजीवी तथा बौद्ध विद्वान्को रचनात्मक सहयोगको अपेक्षा गरे। नेपालको संविधानबमोजिम मेयर पदमा दुई कार्यकाल मात्र बस्न पाउने प्रावधान रहेकाले यो आफ्नो अन्तिम वर्ष भएको उल्लेख गर्दै उनले आफ्नो कार्यकालमा सम्पदा संरक्षणलाई उच्च प्राथमिकतामा राखेको प्रस्ट पारे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पदाको संरक्षणका लागि ललितपुरमा ‘जिआईएस’ र ’क्युआर कोड’ प्रणाली लागू गरिने
-
जग्गाको द्वैध स्वामित्व अन्त्य गरी किसानको हकहित संरक्षण गर्न सरकार प्रतिबद्ध छ : मन्त्री रावल
-
राष्ट्रिय सभाबाट ‘सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३’ स्वीकृत
-
ललितपुर महानगरको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)
-
गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा यातायातका तत्कालीन अधिकृत गौतम दोषी ठहर, १ वर्ष कैद सजाय
-
पार्टीबारे फैलाइएका भ्रममा नपर्न माधव नेपालको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण