नागढुंगा सुरुङमार्ग सञ्चालन गर्न सम्झौता, साउनदेखि सञ्चालनमा ल्याइने
सारांश
- नागढुंगा-सिस्नेखोला सुरुङमार्गको सञ्चालन र व्यवस्थापनका लागि आयोजना र सेवा प्रदायक युसिन-एआरटी जेभीबीच सम्झौता भएको छ ।
- सेवा प्रदायक कम्पनीले ५ वर्षसम्म सञ्चालन, मर्मत, ट्राफिक व्यवस्थापन, र सुरक्षा प्रणालीको रेखदेख गर्नेछ ।
- सन् २०२६ जुलाईको अन्त्यसम्ममा (साउन) सुरुङमार्ग सार्वजनिक यातायातका लागि खुला गरिनेछ ।
काठमाडौँ । लामो प्रतीक्षापछि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि बाटो खुलेको छ । सुरुङमार्गको सञ्चालन तथा व्यवस्थापनका लागि बुधबार नागढुंगा सुरुङमार्ग निर्माण आयोजना र सेवा प्रदायक युसिन–एआरटी जेभीबिच औपचारिक सम्झौता भएको आयोजना निर्देशक सौजन्य नेपालले जानकारी दिए ।
उनका अनुसार युसिन–एआरटी जेभीले अबको ५ वर्षसम्म सञ्चालन तथा मर्मतको औपचारिक रूपमा जिम्मा पाएको छ । यो सुरुङ सञ्चालनका लागि तय गरेको कार्यतालिका अनुसार सन् २०२६ मे को दोस्रो सातासम्म (वैशाख अन्तिम) मा सेवा प्रदायक कम्पनी कार्यक्षेत्रमा परिचालन हुनेछ ।
त्यसलगत्तै सुरुङका अत्याधुनिक प्रणालीहरूबारे जनशक्तिलाई तालिम दिइनेछ । ‘सन् २०२६ जुनको दोस्रो सातासम्म प्राविधिक जनशक्तिको तालिम सम्पन्न गर्ने र सोही महिनाको अन्त्यसम्ममा परीक्षण सञ्चालन गर्ने हाम्रो लक्ष्य छ,’ आयोजना प्रमुख नेपालले भने ।
सुरुङ मार्गको सुरक्षा र प्राविधिक पक्षको पूर्ण प्रमाणीकरण भएपछि सन् २०२६ जुलाईको अन्त्यसम्म अर्थात् (साउन) मा यो सुरुङ सार्वजनिक यातायातका लागि खुला गरिने उनको भनाइ छ ।
सुरुङ मार्गको सञ्चालन र मर्मतसम्भारको जिम्मा पाएको सेवा प्रदायकले सिभिल संरचना, मेकानिकल, इलेक्ट्रिकल र सुरुङभित्रका सुरक्षा प्रणालीहरूको नियमित रेखदेख र मर्मत गर्नुपर्ने उल्लेख छ ।
यसका साथै सेवा प्रदायकले सुरुङभित्रको ट्राफिक व्यवस्थापन, टोल (दस्तुर) सङ्कलन, र चौबीसै घण्टा सुरुङको अनुगमन गर्नेछ । आपतकालीन अवस्था आइपरेमा सरोकारवाला निकायहरूसँग समन्वय गरी उद्धार तथा राहतका कार्यहरू गर्ने जिम्मेवारी पनि सोही कम्पनीलाई दिइएको छ।
सडक विभागको निर्देशनमा सुरुङ मार्गको प्रयोगबारे सार्वजनिक सचेतना फैलाउने र सञ्चालन सम्बन्धी सूचनाहरू नियमित रूपमा प्रवाह गर्नुपर्नेसमेत सम्झौतामा उल्लेख छ।
आयोजना प्रमुख नेपालका अनुसार यो सुरुङ मार्ग सञ्चालनमा आएपछि नागढुंगाको घुमाउरो सडक र ट्राफिक जामबाट यात्रुहरूले मुक्ति पाउनेछन्।
आधुनिक प्रविधि र कडा सुरक्षा मापदण्डका कारण सुरुङ भित्रको यात्रा सुरक्षित, भरपर्दो र सहज हुने विश्वास आयोजनाले लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण