शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
कविता

के छ हालखबर ?

शनिबार, १९ वैशाख २०८३, ११ : १२
शनिबार, १९ वैशाख २०८३

सोध्नेहरू सोध्छन्
हालखबर के छ भनेर
कतै भेट्दा
बाटामा देख्दा
सामाजिक सञ्जालका
भित्तामा, रिल्समा
यत्रतत्र सबैतिर

भन्न त मन छ,
तिर्न नसकिने ऋण छ
सुनाउन त मन छ
ऋणी बन्नुपर्दाको हालत
म ऋणमै बाँचेको मान्छे हुँ
यो ऋण
कागजमा लेखिएको होइन,
न त यसको कुनै मिति छ

भनेर सकिँदैन
सुनाएर रित्तिँदैन
ऋणको शृङ्खला

ऋण पैसाको मात्रै भए पो
ऋण सम्बन्धहरूको छ
जिन्दगीमा अलमलिँदा
बाटो देखाउनेहरूको छ

बाआमाको त्याग र समर्पणको
गुरुहरूको ज्ञान र मार्गदर्शनको
त्यो प्रेमको पहिलो स्पर्शको
जसले मुटुलाई
धड्कन सिकायो
ऋण कत्ति हो कत्ति

यी ऋणहरू
कुनै कागजमा लेखिएका छैनन्,

यी त सम्झनाहरूजस्तै छन्,
जति भुल्न खोज्यो
उति नै गहिरिँदै जाने

तिर्न सकिने ऋण त पैसाको मात्र रहेछ
यी सबै कुरा
मनमै राखेर भनिदिन्छु
हालखबर अहिलेसम्म ठिकै छ ।

अनि, तपाईँको के छ ?
उही जवाफ दोहोरिन्छ
ठिक छ !
के साँच्चै सबै ठिक छ ?
त्यो ‘ठिकै’भित्र
कति थकान छ,
कति सम्झनाहरू छन्,
कति अपूरा धन्यवादहरू छन्–
कसैले सोध्दैन
हामी सबै
सत्य लुकाएर
समान उत्तर दिन्छौँ
र त्यसैबिच
हाम्रो मौनता
सबैभन्दा ठुलो स्वीकारोक्ति बन्छ—
हामी सबै
कुनै न कुनै
अतुलनीय ऋणमा बाँचेका छौँ
सायद
कहिल्यै तिर्न नसकिने

मन चुपचाप प्रश्न गर्छ—
के साँच्चै
सबै ठिक छ ?

हाल: कास्टेलो ब्रान्को, पोर्चुगल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रसन्न ढुङ्गाना
प्रसन्न ढुङ्गाना
लेखकबाट थप