क्युवा र भेनेजुएलाले हामीलाई के भनिरहेका छन् ?
सारांश
- क्युवा र भेनेजुएला अमेरिकी साम्राज्यवादको चपेटामा परेका देश हुन् जसले औपनिवेशिकताको अन्त्यपछि प्रतिबन्ध, आक्रमण र षड्यन्त्रको सामना गरेका छन् ।
- क्युवामाथि सन् १९६० देखि जारी अमेरिकी नाकाबन्दीले स्वास्थ्य, शिक्षा र जनजीवनमा नकारात्मक प्रभाव पारेको छ, जसले गर्दा देशलाई अर्बौं डलरको क्षति पुगेको छ ।
- भेनेजुएलामाथि सन् २०१७ देखि लगाइएको अमेरिकी आर्थिक प्रतिबन्धले तेल उत्पादनमा भारी गिरावट ल्याएको छ र मुद्रास्फीति आकाशिएको छ, जसले लाखौं जनतालाई देश छोड्न बाध्य पारेको छ ।
विश्व इतिहासको लामो यात्रामा साम्राज्यवाद एउटा यस्तो कुरूप शक्ति हो, जसले साना र कमजोर राष्ट्रहरूलाई आफ्नो आर्थिक, सैन्य र राजनीतिक चपेटामा पारी उनीहरूको स्वाधीनता र सार्वभौमिकतामाथि निरन्तर प्रहार गर्छ । ल्याटिन अमेरिकी महादेशमा अवस्थित क्युवा र भेनेजुएला अमेरिकी साम्राज्यवादको चपेटाका जीवन्त उदाहरण हुन् ।
यी दुई देशले औपनिवेशिकताको अन्त्यपछि अमेरिकी साम्राज्यवादको प्रतिबन्ध, आक्रमण र षड्यन्त्रको लामो इतिहास भोगेका छन् । अमेरिकी साम्राज्यवादको नाङ्गो नाचका विरुद्ध आफ्नो अस्तित्व, स्वतन्त्रता र समाजवादी आदर्शको रक्षा गर्ने अदम्य साहस देखाएका छन् ।
यस आलेखमा साम्राज्यवादको चेपाइका बाबजुद आफ्नो देशको स्वाधीनताको पक्षमा ती दुई मुलुक कसरी सङ्घर्षरत छन्, अमेरिकी नाकाबन्दीले भेनेजुएला र क्युवाको स्वास्थ्य, शिक्षा, जनजीवन र अर्थतन्त्रमा कसरी नकारात्मक प्रभाव पारिरहेको छ तथा अमेरिकी नाकाबन्दीविरुद्ध ती देशहरूले कसरी प्रतिरोध गरिरहेका छन् भन्ने विषयमा चर्चा गरिनेछ ।
- आधा शताब्दी लामो अमेरिकी नाकाबन्दी
सन् १९५९ को क्युवाली क्रान्तिपछि फिडेल क्यास्ट्रोको नेतृत्वमा क्युवाले समाजवादी मार्ग रोज्यो । तत्कालीन अमेरिकी प्रशासनले यसलाई आफ्ना लागि खतरा ठान्यो । त्यसपछि उनीहरूले क्युवाविरुद्ध कठोर आर्थिक र वित्तीय नाकाबन्दी लगाए । सन् १९६० देखि सुरु भएको नाकाबन्दी आजसम्म जारी छ । संयुक्त राष्ट्रसङ्घको महासभामा वर्षौंदेखि अमेरिकी प्रशासनको अमानवीयता विरुद्ध प्रस्ताव पारित हुँदै आए पनि अमेरिकाले यसलाई कार्यान्वयन नगरी अटेर गरिरहेको छ ।
अमेरिकाको यस्तो कार्यव्यवहारले ‘नकचरोको औषधि हुँदैन’ भन्ने पुर्खाहरूको आहान सत्य साबित हुँदै छ । सन् २०२४–२०२५ को तथ्याङ्कअनुसार एक वर्षमा नाकाबन्दीले क्युवालाई ७.५६ अर्ब डलरको क्षति पुर्याएको छ । अघिल्लो वर्षको तुलनामा यो ४९ प्रतिशतले बढी हो । यदि नाकाबन्दी नभएको भए क्युवाको कुल गार्हस्थ्य उत्पादन ९.२ प्रतिशतले बढ्न सक्ने अनुमान छ ।
नाकाबन्दीको असर सामान्य जनजीवनमा देखिएको छ । खाद्यान्न, औषधि, इन्धन, कृषि सामग्री र पूर्वाधार निर्माणका सामानको आयातमा अत्यन्त कठिनाइ छ । अन्तर्राष्ट्रिय मानवाधिकार संस्थाका अनुसार क्युवाको ८० प्रतिशतभन्दा बढी जनसङ्ख्या यो नाकाबन्दीको सुरुवातपछि जन्मिएको छ ।
यसले पुस्तौँदेखि नै क्युवाली बालबालिका, वृद्धवृद्धा र बिरामीहरूको मौलिक अधिकार हनन भइरहेको छ । औषधि उद्योगले अमेरिकी प्रतिबन्धका कारण अत्यावश्यक कच्चा पदार्थ र प्रविधि प्राप्त गर्न सकिरहेको छैन । अरू बेलाको त कुरा छाडौँ कोभिड–१९ महामारीको बेला पनि अमेरिकाले चिकित्सा सामग्रीको आपूर्तिमा अवरोध पुर्याई आफ्नो सक्कली अनुहार प्रदर्शित गर्यो ।
यी सबै चुनौतीका बाबजुद क्युवाले अन्तर्राष्ट्रिय मञ्चमा नैतिक रूपमा संयमता कायम गरेको छ । क्युवाले सीमित साधनस्रोतका बाबजुद विश्वकै उत्कृष्ट स्वास्थ्य र शिक्षा प्रणाली विकास गरेको छ । क्युवाको शिशु मृत्युदर ल्याटिन अमेरिकाकै सबैभन्दा न्यून स्तरमा छ र औसत आयु धेरै विकसित देशसरह पुगेको छ । क्युवाले सयौँ चिकित्सक विश्वका गरिब र द्वन्द्वग्रस्त क्षेत्रमा पठाएर अन्तर्राष्ट्रिय ऐक्यबद्धताको अनुपम उदाहरण प्रस्तुत गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको मानवाधिकार परिषद्की प्रतिवेदक एलेना दौहानले स्पष्ट शब्दमा भनेकी छन्, ‘यी एकतर्फी प्रतिबन्धहरूले क्युवाको जीवनको हरेक पक्षलाई असर गरेका छन्, अतः अमेरिकाले तत्कालै यस्तो अमानवीय नाकाबन्दी हटाउनुपर्छ ।’
- भेनेजुएलाः तेल र प्रतिरोधको युद्ध
भेनेजुएला विश्वको सबैभन्दा ठूलो तेल भण्डार भएको मुलुक हो । ह्युगो चाभेजको नेतृत्वमा सन् १९९८ देखि भेनेजुएलाले साम्राज्यवादविरोधी र समाजवादी मार्ग अँगाल्यो । यसले अमेरिकी कम्पनीहरूको प्रभाव घटाउँदै तेलको राष्ट्रिय नियन्त्रण बढायो । यसको सीधा प्रतिक्रियामा अमेरिकाले सन् २०१७ देखि भेनेजुएलामाथि लक्षित आर्थिक प्रतिबन्धहरू थोपर्न सुरु गर्यो ।
विशेषगरी तेल प्रतिबन्ध, वित्तीय अवरोध र राष्ट्रपति निकोलस मादुरोको सरकारलाई अवैध ठहराउने प्रयास भयो । यतिले मात्र नपुगी भेनेजुएलाको संवैधानिक राष्ट्रपतिलाई अन्तर्राष्ट्रिय कानुनविपरीत अपहरण गरी रातारात अमेरिका पुर्याइयो । भेनेजुएलामा गरिएको तेल प्रतिबन्ध र आर्थिक नाकाबन्दीको असर अत्यन्त विनाशकारी रह्यो ।
सन् २०२५ को अन्त्यतिर भेनेजुएलाको मुद्रास्फीति ६०० प्रतिशत पुग्ने अनुमान गरिएको छ । तेल उत्पादन प्रतिदिन ३२ लाख ब्यारेलको उच्च स्तरबाट घटेर १० लाख ब्यारेलमा सीमित भयो । अमेरिकाले भेनेजुएलाका तेल ट्याङ्कर जफत गर्ने, बन्देज लगाउने र ‘तेल अवरोध’ को नीति अघि सारेर भेनेजुएली जनताको अधिकार अपहरण गरेको छ । संयुक्त राष्ट्रसङ्घको वडापत्रको बर्खिलाप गई आफ्नो जनविरोधी चेहरा विश्वसामु देखाएको छ ।
विदेशी मुद्रा सञ्चितिमा भएको भारी गिरावटले खाद्यान्न, औषधि र अन्य अत्यावश्यक वस्तुको आयात ठप्प बनाइएको छ । संयुक्त राष्ट्र र अन्तर्राष्ट्रिय श्रम सङ्गठनका अनुसार लाखौँ भेनेजुएलाली जनता देश छोडेर छिमेकी मुलुकहरूमा शरण लिन बाध्य भएका छन् ।
- भेनेजुएलामा सैन्य हस्तक्षेपको खतरा
साम्राज्यवादी चेपाइको अर्को पाटो हो– दीर्घकालीन राजनीतिक अस्थिरता र तख्तापलटका अनेकौँ प्रयास । सन् २००२ मा चाभेज सरकारविरुद्ध सैन्य तख्तापलट भयो, जसको पछाडि अमेरिकी प्रशासनको प्रत्यक्ष सहभागिता थियो । तर जनताको ठूलो आन्दोलनले चाभेजलाई पुनः सत्तामा फर्कायो । तर, केही नलागेपछि सन् २०१८ मा अमेरिकाले जुआन गुइडोलाई ‘अन्तरिम राष्ट्रपति’ को मान्यता दिँदै मादुरो सरकारलाई हटाउन दबाब सिर्जना गर्न थाल्यो ।
प्रतिबन्धका अतिरिक्त, भेनेजुएलाको सीमा क्षेत्रमा सैनिक अभ्यास पनि बढाइयो । त्यति मात्र होइन उसले ‘प्राइभेट मिलिट्री कम्पनी’ तथा भेनेजुएला सरकारविरुद्ध व्यापक प्रोपोगान्डा क्याम्पेनलाई अघि बढाउन विभिन्न संस्थाहरूलाई अघि बढायो । यो सबै बृहत्तर अमेरिकी हस्तक्षेपको परिणाम थियो । अहिले त राष्ट्रपति मादुरोलाई नै अपहरण गरिएको छ ।
तर, भेनेजुएलाको सेना र जनताको एकताले अमेरिकाको प्रत्येक प्रयासलाई हावा खुवाइदिएको छ । राष्ट्रपति मादुरोले बारम्बार भनेका थिए, ‘भेनेजुएलाले साम्राज्यवादका अघिल्तिर घुँडा टेक्नेछैन । हाम्रो सङ्घर्ष बोलिभरको सपनाको संरक्षणका लागि हो ।’ भेनेजुएलाको राष्ट्रिय एकता आन्दोलनले अमेरिकी प्रतिबन्धहरूलाई ‘आर्थिक तथा राजनीतिक नरसंहार’ को संज्ञा दिएको छ ।
- अन्तर्राष्ट्रिय ऐक्यबद्धता किन ?
साम्राज्यवादको चपेटामा यी दुई देश मात्र परेका छैनन् । हाइटीदेखि कोलम्बियासम्म र भारतदेखि दक्षिण अफ्रिकासम्मले साम्राज्यवादी हस्तक्षेपको दंश विभिन्न कालखण्डमा बेहोरेका छन् । कुरा के हो भने अहिले क्युवा र भेनेजुएलामा अमेरिकी हस्तक्षेप सफल भयो भने यसले ग्रिनल्यान्ड र क्यानडाको बाटो प्रशस्त गर्नेछ । त्यसैले ट्रम्प नेतृत्वको अमेरिकी प्रशासन यसलाई जसरी पनि सफल पार्ने दबाबमा छ । त्यसैले क्युवाका राजदूत कार्लोस द सेस्पेडेसले चेतावनी दिए, ‘भेनेजुएलाको अधीनता सबैका लागि एउटा उदाहरण हुनेछ । रोकथामका लागि केवल एकीकृत अन्तर्राष्ट्रिय सहकार्य नै अहिलेका लागि महत्त्वपूर्ण र सर्वसम्मत बाटो हो ।’
विश्वका न्यायप्रेमी जनताको ऐक्यबद्धता विगतमा पनि सफल छ । सन् २०२५ अक्टोबरमा हवानामा ५० हजारभन्दा बढी मानिसहरू भेनेजुएलाको समर्थनमा सडकमा उत्रिएर फेरि पुरानै ऐक्यबद्धताको आह्वान गरेका छन् । अन्तर्राष्ट्रिय पिपुल्स एसेम्बलीले क्युवा र भेनेजुएलामा ‘एकता मिसन’ पठाएर सौर्य प्यानल, खाद्यान्न र औषधि पुर्याएको छ ।
यी व्यावहारिक सहयोगले के देखाउँछ भने साम्राज्यवादविरुद्धको लडाइँ केवल राजनीतिक मात्र नभई सामूहिक मानवीयतालाई जिउँदो राख्ने यत्न पनि हो । यो हाम्रो दायित्व हो । अमेरिकी साम्राज्यवादको विरोध र क्युवा–भेनेजुएलालाई हाम्रो समर्थन आफ्नो सार्वभौमिकता विरुद्ध हुन सक्ने हस्तक्षेपका लागि अन्तर्राष्ट्रिय ऐक्यबद्धताको पहल पनि हो ।
क्युवा र भेनेजुएलाको सङ्घर्षले विश्वका सबै उत्पीडित राष्ट्रराज्यहरूलाई प्रेरित गर्छ । एकजुट हुन र एकअर्कालाई परेको अप्ठ्यारोलाई सल्ट्याउन एकताबद्ध हुन पनि सिकाउँछ । हामीले अन्तर्राष्ट्रिय जगत्मा यति पनि गर्न सकेनौँ भने यसले हामीभित्रको मानवतालाई नै खियाउँदै लग्ने निश्चित छ ।
अथाह चुनौतीका बाबजुद क्युवाले आफ्नो स्वास्थ्य प्रणालीको गुणस्तर र चेतनामा कुनै कमी आउन दिएको छैन । विश्वभरका द्वन्द्वग्रस्त क्षेत्रहरूमा अमेरिकाले आम मानिस मार्ने हतियार र मिसाइल सिस्टम सहयोग गर्दै गर्दा क्युवाले भने ती क्षेत्रहरूमा औषधि र डाक्टर पठाउने गर्छ । पुँजीवादी र समाजवादी शासन व्यवस्थाबीचको मूल चारित्रिक भिन्नता भनेकै यही हो । मानवता जोगाउन हतियार र औषधिमा कुन महत्त्वपूर्ण हो भन्ने संसारभरका आम मानिसले बुझेका छन् ।
यस्तोमा प्रश्न उठ्छ, हामी के गर्न सक्छौँ ? विश्वका न्यायप्रेमी जनताले क्युवा र भेनेजुएलाका पक्षमा आवाज उठाउँदा हामीले एक पित्को नै सही, हाम्रो आवाज पनि मिसाउनुपर्ने हुन्छ । यसका लागि क्रमशः पाँचवटा काम गर्न सक्छौँ ।
पहिलो, संयुक्त राष्ट्रमा क्युवाविरुद्धको नाकाबन्दी अन्त्यको प्रस्तावलाई समर्थन गर्ने र आफ्नो सरकारलाई दबाब दिने । दोस्रो, भेनेजुएलामाथिको अमेरिकी प्रतिबन्धको विरोधमा हस्ताक्षर अभियान र प्रदर्शनमा सहभागी हुने । तेस्रो, क्युवा र भेनेजुएलाको वास्तविकताबारे स्वतन्त्र मिडिया र सामाजिक सञ्जालमा जानकारी प्रवाह गरिरहने । चौथो, क्युवाली चिकित्सा मिसन र भेनेजुएलाका सामाजिक परियोजनाहरूलाई आर्थिक सहयोग गर्ने । पाँचौँ, अन्तर्राष्ट्रिय ऐक्यबद्धता समितिहरूमा सामेल भई एकताको सन्देश विश्वभर पुर्याउने ।
- निष्कर्ष
क्युवा र भेनेजुएला साम्राज्यवादको चेपाइमा जेलिएका दुई साना राष्ट्र हुन् । तर तिनीहरूको अदम्य इच्छाशक्तिले सम्पूर्ण विश्वलाई अमानवीयता, प्रभुत्व र आर्थिक युद्धविरुद्धमा प्रतिरोध सम्भव छ भन्ने देखाएको छ । यी दुई देशले अमेरिकी साम्राज्यवादको विरोध गर्न हुँदैन, सकिँदैन भन्ने तर्कलाई कमजोर बनाएर जनताको साथमा प्रभुत्वशालीलाई पनि परास्त गर्न सकिन्छ भन्ने पाठ सिकाएका छन् ।
‘बेला न कुबेला भेनेजुएला’ भन्नेहरू कसको पक्षमा उभिएका, कसको विचारधारा बोकेका मानिस हुन् र गुइडो जस्ता मानिस हरेक देशमा हुन सक्छन् भन्ने पाठ पनि हामीलाई तिनै दुइटा देशले दिएका छन् । विश्वभरका न्यायप्रेमी जनता एकजुट भए भने साम्राज्यवाद परास्त हुन्छ होइन, विश्वभरका जनता खण्डित भए भने यी दुई प्रतिरोधी राष्ट्रहरूको स्वतन्त्र अस्तित्व नामेट हुन सक्छ । त्यसपछि पालो तपाईंकै मुलुकको हो भन्ने पनि यिनै दुई राष्ट्रले बलियो सन्देश दिएका छन् ।
न्याय र मानवताको यो लडाइँमा क्युवा र भेनेजुएला पक्कै एक्ला छैनन् । त्यसैले सकेसम्म क्युवा र भेनेजुएलाको पक्षमा आवाज उठाऊँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाहा नगरपालिकामा आइतबार सार्वजनिक बिदा
-
भरतपुरमा रास्वपा केन्द्रीय समितिको अन्तिम बैठक, तस्बिरहरू
-
भारतमा ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक हुने
-
‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’
-
बास्तोला कम्प्लेक्सको संरचनामा पोखरा महागरले चलायो डोजर (तस्बिरहरू)
-
बिदा हुन लागेको केन्द्रीय समितिलाई सभापति लामिछानेको भावुक सम्बोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण