आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

जर्मनीबाट ५ हजारभन्दा धेरै अमेरिकी सैनिक फिर्ता गर्ने ट्रम्पको संकेत

आइतबार, २० वैशाख २०८३, १० : ३४
आइतबार, २० वैशाख २०८३

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनीबाट ५ हजारभन्दा बढी सैनिक फिर्ता गर्ने योजना रहेको बताएका छन् ।
  • यसअघि पेन्टागनले आगामी ६ देखि १२ महिनाभित्र करिब ५ हजार सैनिक फिर्ता गर्ने घोषणा गरेको थियो ।
  • जर्मन रक्षा मन्त्रीले यस निर्णयलाई पूर्वानुमानित भन्दै युरोपले आफ्नै सुरक्षाको जिम्मेवारी अझ बढी लिनुपर्ने बताएका छन् ।

बर्लिन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनीबाट प्रारम्भिक रूपमा घोषणा गरिएको ५ हजार सैनिकभन्दा अझै बढी संख्यामा सेना फिर्ता गर्ने योजना रहेको बताएका छन् । 

शनिबार फ्लोरिडाको वेस्ट पाम बिचस्थित पाम बिच अन्तर्राष्ट्रिय विमानस्थलमा एयर फोर्स वन चढ्नुअघि पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “हामी ठुलो संख्यामा कटौती गर्दैछौं, र यो ५ हजारभन्दा धेरै हुनेछ ।”

यसअघि अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युरोपमा अमेरिकी सैन्य उपस्थितिको पुनरावलोकनपछि आगामी ६ देखि १२ महिनाभित्र करिब ५ हजार सैनिक फिर्ता गर्ने घोषणा गरेको थियो । ट्रम्पको यो अभिव्यक्ति जर्मन चान्सलर फ्रेड्रिक मत्स्ले अमेरिकालाई इरानसँगको द्वन्द्वमा अपमानित भएको टिप्पणी गरेपछि आएको हो । अमेरिकाले धेरैजसो नेटो  सहयोगीहरूलाई जानकारी नदिई इरानसँग सैन्य कारबाही सुरु गरेपछि युरोपेली नेताहरू र ट्रम्प प्रशासनबिच तनाव बढेको छ ।

जर्मनीका रक्षा मन्त्री बोरिस पिस्टोरियसले भने उक्त निर्णयलाई पूर्वानुमानित भन्दै यसको प्रभावलाई कम गरेर हेरेका छन् । यसले आफ्नै सुरक्षाको जिम्मेवारी युरोपले अझ बढी लिनुपर्ने आवश्यकता देखाएको उनले बताएका छन् । जर्मनीमा रहेको रामस्टाइन एयर बेस अमेरिकी वायु सेनाको युरोपस्थित मुख्यालय हो । यहाँबाट हवाई ढुवानी, एअरड्रप तथा एरोमेडिकल उद्धार जस्ता कार्यहरू सञ्चालन गरिन्छन् । साथै, त्यहाँ नेटोको महत्त्वपूर्ण सैन्य संरचना पनि छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप