बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’हरू भाइरल

सोमबार, २१ वैशाख २०८३, ११ : ३४
सोमबार, २१ वैशाख २०८३

सारांश

  • चीनमा सामाजिक सञ्जालमार्फत अमेरिकी एफ–३५ लडाकु विमानलाई कसरी खसाल्ने भन्नेबारे ट्युटोरियल भिडियोहरू भाइरल भएका छन् ।
  • यी भिडियोहरूमा इरानलाई अमेरिकी सैन्य शक्तिसँग कसरी सामना गर्ने भन्नेबारे प्राविधिक ज्ञान प्रदान गरिएको छ ।
  • यस्ता सामग्रीहरूले सूचना युद्धको नयाँ आयामको प्रतिनिधित्व गर्ने र डिजिटल युगमा युद्धको स्वरूप परिवर्तन भएको सङ्केत दिन्छन् ।

काठमाडौँ ।  पश्चिम एसियामा तनाव र युद्धको अवस्था चर्किंदै जाँदा विश्व राजनीतिमा मात्र नभएर डिजिटल क्षेत्रमा पनि अनौठा प्रवृत्ति देखा पर्न थालेका छन् । खासगरी चीनमा सामाजिक सञ्जालमार्फत प्रसारित केही भिडियोले अन्तर्राष्ट्रियस्तरमै ध्यान खिच्न सफल भएका छन् ।

ती भिडियोमा प्राविधिक रूपमा दक्ष केही चिनियाँ नागरिकहरू इरानलाई अमेरिकी सैन्य शक्तिसँग कसरी सामना गर्ने भन्नेबारे ‘ट्युटोरियल’ प्रदान गरिरहेका छन् । अझ रोचक कुरा के छ भने यी सामग्री सिर्जना गर्नेहरूले न त कुनै सरकारी सहयोग लिएका छन्, न आर्थिक लाभका लागि नै काम गरिरहेका छन् ।

यस्तै प्रवृत्तिको एउटा उदाहरण गत मार्च १४ मा देखा प-यो । त्यस दिन चिनियाँ सामाजिक सञ्जालमा अमेरिकी अत्याधुनिक ‘एफ–३५’ लडाकु विमानलाई कसरी खसाल्ने भन्ने व्याख्या गरिएको विस्तृत भिडियो सार्वजनिक भयो ।

‘लाहौ टक्स वर्ल्ड’ नामको एउटा अकाउन्टबाट पोस्ट भएको त्यो भिडियोमा एकदमै प्राविधिक एवं व्यवस्थित ढंगले इरानले कसरी आफ्नो सस्तो र उपलब्ध सैन्य प्रविधि प्रयोग गर्दै अत्याधुनिक स्टेल्थ फाइटरलाई लक्ष्य बनाउन सक्छ भन्ने कुरा व्याख्या गरिएको थियो ।

इरानी दर्शकले विस्तृतमा बुझ्न अझ सहज होस् भनेर भिडियोमा पर्सियन भाषामा ‘सब–टाइटल’ समेत राखिएको थियो ।

उक्त भिडियोले सामाजिक सञ्जालमा केही दिनमै करोडौँ दर्शकको ध्यान आकर्षित ग-यो । सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भएको यस्तो सामग्रीले सामान्य प्रयोगकर्ताहरूको मात्रै नभएर सैन्य विश्लेषक तथा अन्तर्राष्ट्रिय सम्बन्धका ज्ञाताहरूको समेत ध्यान खिच्यो ।

अझ चाखलाग्दो कुरा त भिडियो सार्वजनिक भएको पाँच दिनपछि अर्थात् मार्च १९ मा इरानले अमेरिकी ‘एफ–३५’ लडाकु विमानमाथि आक्रमण गरेको दाबीसमेत ग¥यो । यस्तो अनौठो संयोगले धेरै प्रश्न उब्जाएको छ ।

यस प्रकारका भिडियो एकाध अपवादका रुपमा मात्रै देखा परेका छैनन् । गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेयता यस्ता सामग्रीहरूको संख्या उल्लेखनीय रूपमा बढेको देखिन्छ ।

विभिन्न चिनियाँ ‘कन्टेन्ट क्रिएटर’हरूले युद्ध रणनीति, राडार प्रणाली, मिसाइल प्रक्षेपणको प्रविधि तथा ड्रोनको प्रभावकारी प्रयोग जस्ता विषयमा विस्तृत विश्लेषण प्रस्तुत गर्न थालेका छन् । यी भिडियोमा प्रयोग गरिएका ‘ग्राफिक्स’, ‘एनिमेसन’ तथा ‘डेटा’ को प्रस्तुति सामान्य छैनन् ।

उनीहरूले उत्पादन गरेको सामग्री व्यवस्थित र पेसेवरजस्ता देखिन्छन् । यसले ती भिडियोमा प्रस्तुत सामग्रीबारे दर्शकहरूलाई थप विश्वसनीयता प्रदान गरिरहेको छ ।

यो सामान्य घटना पक्कै पनि होइन । यसले डिजिटल युगमा युद्धको स्वरूप कसरी फेरिँदैछ भन्ने स्पष्ट सङ्केत दिइरहेको छ ।

पहिले युद्धहरू केवल भौतिक मैदानमा सीमित हुन्थे, तर अहिले भने सूचना र ज्ञान पनि महत्त्वपूर्ण ‘हतियार’ बनेका छन् । कुनै देशको नागरिकले आफ्नै पहलमा अर्को देशलाई रणनीतिक सहयोग पु¥याउनु, त्यो पनि सार्वजनिक अनलाइनमार्फत, यो पक्कै पनि सामान्य होइन ।

यसलाई विश्लेषकहरूले आधुनिक विश्वको जटिलता र विकसित अन्तरसम्बन्धको उदाहरण बताएका छन् ।

यो मामिलाले केही गम्भीर प्रश्न पनि उठाएको छ । यस्ता सामग्री केवल व्यक्तिगत रुचि वा प्राविधिक जिज्ञासाकै परिणाम मात्र हुन् वा यसमा कुनै घुमाउरो राजनीतिक लक्ष्य पनि अन्तर्निहित छ ?

यस्ता भिडियोहरूले युद्धलाई अझ चर्काउने सम्भावना कत्तिको छ ? ‘डिजिटल प्लेटफर्म’ हरूले यस्ता संवेदनशील सामग्रीको नियन्त्रण कसरी गर्न सक्छन् ? यी प्रश्न अबको दिनमा अझै ज्वलन्त हुँदै जाने निश्चित छ ।

चिनियाँ सामाजिक सञ्जालमा फैलिरहेका यस्ता ‘ट्युटोरियल’हरू केवल प्राविधिक भिडियोमात्र नभएर अत्याधुनिक युद्ध, अन्तर्राष्ट्रिय राजनीति र डिजिटल प्रभावबिच हुर्कदो जटिल अन्तरसम्बन्धका सङ्केत हुन् ।

विशेषज्ञहरू यस्ता गतिविधिले ‘सूचना युद्ध’ को नयाँ आयामको प्रतिनिधित्व गर्ने बताउँछन् । उनीहरूका अनुसार अबका युद्ध केवल बन्दुक र बमको भरमा मात्रै नभएर डेटा, त्यसको विश्लेषण र डिजिटल सामग्रीमार्फत पनि लडिन्छ ।

यसका धेरै जोखिमको अलावा साना देशहरूलाई केही अवसर पनि हुनसक्छ । साना मुलुकहरू पनि ठुला शक्तिहरूसँग प्रतिस्पर्धा गर्ने नयाँ अवसर सिर्जना हुन सक्छ, तर यस्तो अवसरले ल्याउन सक्ने जोखिम भने धेरै ठुलो हुनसक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप