ईर्ष्या, असुरक्षा र करुणाहीन समाजतर्फको यात्रामा नेपालको मध्यम वर्ग
सारांश
- नेपाल राजनीतिक संक्रमणसँगै गहिरो सामाजिक-मनोवैज्ञानिक संक्रमणबाट गुज्रिरहेको छ, जहाँ ईर्ष्या, आक्रोश र असन्तुष्टि व्यक्त भइरहेको छ।
- पश्चिमी मध्यम वर्गको तुलनामा नेपाली मध्यम वर्ग अस्थिर आर्थिक आधार र उच्च आकांक्षाले युक्त छ, जसले यसलाई असुरक्षित र प्रतिस्पर्धी बनाएको छ।
- समाजमा बढ्दो ईर्ष्या, धनप्रति रिस र गरिबप्रति करुणाहीनताले गर्दा नेपाल सभ्यताको सट्टा सामाजिक पतनतर्फ गइरहेको छ।
मैले विगत एक दशकदेखि नेपालमा भइरहेका केही सामाजिक घटनाहरूलाई विशेष चासोका साथ नियालिरहेको छु। समाजशास्त्रको विद्यार्थीका रूपमा ती घटनाहरूले मलाई बारम्बार एउटा गम्भीर प्रश्नतर्फ डोर्याइरहेका छन्– के हाम्रो समाजको मनोदशा फेरिँदै गएको हो ?
केही वर्षअघि चितवनका एक माहुरी कृषक आफ्ना सयौँ घार लिएर दाङ चरनका लागि पुगेका बेला अज्ञात व्यक्तिले उनका ४४ वटा माहुरीका घारमा विष हालिदिए। दोषी कहिल्यै पत्ता लागेन। ०७७ सालमा गोरखाको दरबुङमा माछापालन गर्दै आएका राजेन्द्र श्रेष्ठ कोरोना महामारीको समयमा आइसोलेसनमा बसिरहेका बेला उनको माछापोखरीमा विष हालेर सबै माछा नष्ट गरियो, तर त्यो घटनाको कुनै स्पष्ट निष्कर्ष निस्किएन।
चितवनमा एक व्यावसायिक किसानको केराबारी रातारात काटेर सखाप पारियो, अर्का किसानको भैँसीगोठमा आगजनी गरियो, जहाँ भैँसी र पाडो जलेर मर्दाको दर्दनाक दृश्य सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो। केही वर्षअघि चितवनमै माछा चोरी रोक्न पोखरी वरिपरि लगाइएको विद्युतीय तारबारमा करेन्ट लागेर दुई जनाको मृत्यु भयो । प्रहरीका अनुसार उनीहरू जाल लिएर माछा चोरी गर्न गएका थिए। शान्ति प्रक्रियापछि नेपालमा विशेषतः कृषि र साना उद्यमसँग सम्बन्धित यस्ता घटनाहरू बारम्बार देखिन थाले।
तर पछिल्लो समय यी प्रवृत्तिहरू व्यक्तिगत क्षतिमा मात्र सीमित रहेनन्। ०८२ सालको आन्दोलनका क्रममा देशका विभिन्न ठाउँमा व्यावसायिक घराना, निजी सम्पत्ति र उद्योगमाथि आगजनी, तोडफोड र लुटपाटका घटना भए। ती घटनाहरूलाई केवल अपराध भनेर बुझ्दा समाजको गहिरो मनोवैज्ञानिक पक्ष छुट्न सक्छ। किनभने त्यहाँ केवल हिंसा थिएन; त्यहाँ अरूको श्रम, उन्नति वा सम्भावित समृद्धि सहज रूपमा स्वीकार गर्न नसक्ने एउटा गहिरो सामाजिक असन्तोष पनि लुकेको देखिन्थ्यो।
यसरी हेर्दा नेपाल केवल राजनीतिक सङ्क्रमणबाट मात्र होइन, गहिरो सामाजिक–मनोवैज्ञानिक सङ्क्रमणबाट गुज्रिरहेको अनुभूत हुन्छ। लामो समयदेखि समाजभित्र गुम्सिएर बसेको ईर्ष्या, आक्रोश र असन्तुष्टि कहिले आन्दोलनका रूपमा सडकमा विस्फोट हुन्छ, कहिले सामाजिक सञ्जालमा कठोर प्रतिक्रियाका रूपमा देखापर्छ । र, कहिले दैनिक जीवनमा सामाजिक मनोविज्ञानमा रहेको करुणा क्रमशः हराउँदै गएको रूपमा प्रकट हुन्छ ।
आज समाजमा आक्रोशको मात्रा बढेको देखिन्छ । तर त्यो आक्रोश स्पष्ट राजनीतिक चेतनाभन्दा धेरै सामाजिक तुलना, वर्गीय असुरक्षा र आन्तरिक असन्तोषका रूपमा प्रकट भइरहेको छ। त्यसैले आजको नेपाललाई बुझ्न केवल राजनीति दृष्टिकोण मात्र पर्याप्त छैन । वर्गीय चेतना, सामाजिक मनोविज्ञान र आधुनिक उपभोक्तावादी संस्कृतिको दृष्टिविन्दुबाट पनि नियाल्नु आवश्यक छ।
यो वर्गीय संरचना बुझ्नका लागि पश्चिमी समाजमा मध्यम वर्ग कसरी निर्माण भएको थियो भन्ने ऐतिहासिक प्रक्रियासँग तुलना गरेर हेर्नु ठिक हुन्छ । पश्चिमी समाजमा मध्यम वर्ग औद्योगिकीकरण, उत्पादनशील अर्थतन्त्र, संस्थागत विकास, श्रमको दीर्घकालीन स्थायित्व र नागरिक अधिकारको विस्तारसँगै क्रमिक रूपमा विकसित भएको वर्गका रूपमा उदाएको हो।
त्यहाँ मध्यम वर्ग केवल उपभोगको परिणाम होइन, उत्पादन र संस्थागत स्थिरताको परिणाम थियो, जसले उसलाई तुलनात्मक रूपमा आर्थिक सुरक्षा, सामाजिक आत्मविश्वास र सार्वजनिक नैतिकताको आधार दिएको थियो। तर नेपालको मध्यम वर्ग भने तीव्र सामाजिक सङ्क्रमणको परिणाम हो ।यहाँ वैदेशिक रोजगारी, रेमिट्यान्स, बैंकको ऋण, घरजग्गा बजार, निजी शिक्षा र उपभोक्तावादी आकाङ्क्षाले एकै पटक वर्गको निर्माण गरेको पाइन्छ । यसै कारण यसको आर्थिक आधार अस्थिर तर आकाङ्क्षाहरूमा अत्यन्त उच्च छ।
ग्रिक दार्शनिक अरस्तु र फ्रेन्च समाजशास्त्री पियरे बोर्दिउले मध्यम वर्गलाई दुई फरक ऐतिहासिक र सामाजिक दृष्टिकोणबाट व्याख्या गरेका छन । अरस्तुले मध्यम वर्गलाई समाजको नैतिक सन्तुलन कायम गर्ने, विवेकी र संयमित वर्गका रूपमा हेरेका थिए। उनका अनुसार मध्यम वर्ग अत्यधिक धनीको घमन्ड र अत्यधिक गरिबीको आक्रोशबिचको स्थिर शक्ति हो, जसले लोकतन्त्र र सामाजिक शान्तिलाई टिकाइराख्छ।
तर बोर्दिउले आधुनिक समाजको मध्यम वर्गलाई ‘प्रतिष्ठाको संघर्ष गर्ने वर्ग’ का रूपमा व्याख्या गरेका छन्, जहाँ मानिस केवल आर्थिक सुरक्षाका लागि होइन, सामाजिक मान्यता, सांस्कृतिक हैसियत र सम्मानका लागि निरन्तर प्रतिस्पर्धा गरिरहेको हुन्छ। नेपालको वर्तमान मध्यम वर्गलाई हेर्दा अरस्तुको आदर्शभन्दा बोर्दिउको अवधारणा धेरै नजिक देखिन्छ। किनभने नेपाली मध्यम वर्ग उत्पादनमुखी स्थिर अर्थतन्त्रबाट विकसित भएको आत्मविश्वासी वर्ग होइन; यो तीव्र सामाजिक सङ्क्रमण, वैदेशिक रोजगारी, ऋण, उपभोगवादी संस्कृति र सामाजिक असुरक्षाबिच हुर्किएको वर्ग हो।
यहाँ मानिसले घर, घडेरी, गाडी, निजी विद्यालय, अङ्ग्रेजी बोलिचाली, सामाजिक सञ्जालमा देखिने जीवनशैली वा उपभोगका प्रतिकमार्फत आफ्नो सामाजिक स्तर प्रमाणित गर्न खोज्छन् । त्यसैले नेपालको मध्यम वर्ग अरस्तुले कल्पना गरेको स्थिर र सार्वजनिक हितप्रति उत्तरदायी वर्गभन्दा धेरै बोर्दिउले वर्णन गरेको ‘स्टाटस एन्जाइटी’ र सामाजिक तुलनाद्वारा सञ्चालित मध्यम वर्गसँग मेल खान्छ।
कुनै पनि सभ्य समाजको वास्तविक उन्नति, उसले आफू भन्दा कमजोर मानिससँग कस्तो व्यवहार गर्छ भन्नेमा मापन हुन्छ, नेपाली समाज यसैमा चुक्दै गएको छ ।
तर पूर्ण रूपमा बोर्दिउकै ढाँचामा पनि यसलाई सीमित गर्न सकिँदैन । किनभने नेपालको मध्यम वर्ग अझै सङ्क्रमणशील अवस्थामा छ । ऊ आर्थिक रूपमा अझै असुरक्षित छ, तर सांस्कृतिक रूपमा आफूलाई माथिल्लो वर्गसँग जोड्न चाहन्छ। यही विरोधाभासले नेपाली मध्यम वर्गलाई एकैसाथ आकांक्षी, असुरक्षित, प्रतिस्पर्धी, धनी वर्गप्रति ईष्र्यालु र कहिलेकाहीँ निम्न वर्गप्रति भने करुणाहीन बनाइरहेको देखिन्छ।
यहीँबाट सुरु हुन्छ ईष्र्याको समाजशास्त्र । ईर्ष्या केवल व्यक्तिगत कमजोरी होइन; यो आधुनिक असमान समाजले उत्पादन गर्ने संरचनात्मक भावना पनि हो। यस विषयमा अमेरिकी समाजशास्त्री थोस्र्टिन वेब्लनले ‘देखावटी उपभोग’ को अवधारणा दिएका थिए। उनका अनुसार आधुनिक समाजमा मानिसले वस्तु केवल उपयोगका लागि होइन, आफ्नो सामाजिक हैसियत देखाउनका लागि पनि उपभोग गर्छ।नेपालमा सामाजिक सञ्जालले यो संस्कृतिलाई अझ तीव्र बनाएको छ।
आज मानिसहरू आफ्नै जीवनभन्दा धेरै अरूको जीवनसँग प्रतिस्पर्धा गरिरहेका छन्। मानिसका वास्तविक संघर्ष अनि जीवन भन्दा इन्स्टाग्राम, टिकटक र फेसबुकले प्रस्तुत गर्ने सफलताको एउटा कृत्रिम चित्र निर्माण गर्नमै समाज अभ्यस्त भएको देखिन्छ, जहाँ सम्पन्नता नै सम्मानको एकमात्र मुख्य आधार हो । यस्तो अवस्थामा विदेश जान नसक्नु, आफूले चाहे जस्तो बस्तु उपभोग गर्न नसक्नु र केही आम्दानी गरे पनि अरूले देखाए जस्तो आर्थिक प्रगति देखाउन नसक्नु र आफू निरन्तर पछि परेको अनुभव गर्नु मानिसभित्र असन्तोष र ईर्ष्या जन्मिनुको कारण हो । समाजसास्त्रीय दृष्टिकोणमा यो स्वाभाविक प्रक्रिया हो।
तर नेपालको वर्तमान समाजको सबैभन्दा ठुलो विरोधाभास अर्को ठाउँमा देखिन्छ। सबै मानिसहरू धनी बन्न चाहन्छन् तर यहाँ धनीप्रति गहिरो रिस र अविश्वास बाढेको छ । तथापि गरिबप्रतिको करुणा भने क्रमशः कमजोर हुँदै गएको देखिन्छ । समाजमा यस्तो मनोविज्ञान बढ्दै गएको छ, जहाँ मानिस धनीको सफलताप्रति आक्रोशित हुन्छ, सँग–सँगै सुकुम्बासीको घर भत्किँदा, मजदुर विस्थापित हुँदा वा गरिबले आत्महत्या गर्दा सहज रूपमा कठोर प्रतिक्रिया दिन सक्छ।
मध्यम वर्गीय मानिसहरूमा हुने यस्तो विरोधाभासलाई जर्मन दार्शनिक म्याक्स शेलरले ‘रिसेन्टिमेन्ट’ भनेका छन् । जब मानिसले आफूलाई अपमानित, असफल वा असुरक्षित महसुस गर्छ तर वास्तविक शक्तिसँग प्रत्यक्ष संघर्ष गर्न सक्दैन, तब त्यो दबिएको रिस कमजोर समूहहरूमाथि खनिन्छ। यस्ता मनोविज्ञानले मानिसलाई वास्तविकता भन्दा फरक सत्य स्थापित गर्न र त्यसलाई नै आत्मसाथ गर्न, आफ्नो कमजोरी लुकाउन अरूको सफलतालाई घृणा गर्न प्रयोग गर्ने गर्छ ।
त्यसैले कहिलेकाहीँ यस्तो समाजमा धनीप्रतिको असन्तोष र गरिबप्रतिको कठोरता सँग–सँगै गाँसिएर आइपुग्छ । नेपालमा पछिल्ला आन्दोलनहरूमा व्यापारीका घर, निजी सम्पत्ति, उद्योग वा विपक्षी राजनीतिमा संलग्न नेताका घरहरूमाथि आक्रमण भएका घटनाहरूलाई यसै सन्दर्भमा बुझ्नु पर्छ । भीडले केवल घर जलाइरहेको हुँदैन; उसले आफूभित्र लामो समयदेखि थुप्रिएको अपमान, आक्रोश र असन्तोषको प्रतीक जलाइरहेको हुन्छ।
फ्रान्सेली चिन्तक रिन जिरार्डका अनुसार आधुनिक समाजमा मानिस वस्तुभन्दा बढी अरूको सामाजिक स्थान चाहन्छ। जब समाजको ठुलो जनसङ्ख्या अवसरविहीन, बेरोजगार र अपमानित महसुस गर्छ र सानो समूह अत्यधिक सम्पन्न तथा पहुँचयुक्त देख्छ, तब सम्पत्ति केवल निजी सम्पत्ति रहँदैन; त्यो अन्यायको प्रतीक बन्न थाल्छ। यसै कारण आन्दोलनका क्षणमा आक्रोश प्रायः प्रतीकात्मक सम्पत्तिमाथि विस्फोट हुन्छ। यो मनोविज्ञान र व्यवहार नेपाली समाजको परम्परागत रूपमा स्थापित सह–अस्थित्व अनि भाइचाराको मान्यता विपरीत थियो, जुन नेपाली मध्यम वर्गले, मध्यम वर्गमा उक्लिँदै गर्दा आफूमा विकसित गरेको थियो ।
तर यहाँ अर्को खतरनाक पक्ष पनि छ। यदि त्यो मध्यम वर्गीय आक्रोश चेतनामा रूपान्तरण भएन भने, त्यो न्यायको आन्दोलन होइन, अन्धो विनाशमा बदलिन सक्छ। इतिहासले देखाएको छ, जब समाजमा आर्थिक असमानता, बेरोजगारी र अपमान गहिरिन्छ तर राजनीतिक नेतृत्वले त्यसलाई अर्थपूर्ण दिशामा लैजान सक्दैन, तब आक्रोशले संरचनात्मक परिवर्तनभन्दा बढी प्रतीकात्मक हिंसा जन्माउँछ। नेपालमा अहिले देखिएको रिसको ठुलो भाग पनि यही दिशाहीन असन्तोष हो ।
यति मात्र होइन, पछिल्ला वर्षहरूमा गरिबप्रति समाजको व्यवहारमा कठोरता बढ्दो स्तरमा छ। सुकुम्वासी बस्ती हटाउने घटनामा धेरै मानिसले ‘कानुन त लागू हुनुपर्छ’ भनेर सहज समर्थन गरेको देखियो। निःसन्देह, राज्यलाई कानुनी व्यवस्था कायम गर्ने अधिकार छ। तर प्रश्न के हो भने के व्यवस्था मानवताभन्दा माथि हुन सक्छ? जब कुनै परिवार घरविहीन हुन्छ, जब दुई जना जिउँदा मानिसले आत्महत्या गर्छन्, जब बालबालिका खुला आकाशमुनि पुग्छन्, त्यतिबेला समाजको पहिलो प्रतिक्रिया करुणा हुनुपर्ने होइन र?
यदि मानिसको पीडाभन्दा ‘अवैध कब्जा हटाइयो’ भन्ने सन्तोषको मात्रा ठुलो हुन थाल्छ भने, त्यो केवल प्रशासनिक परिवर्तन होइन । त्यो नैतिक परिवर्तन हो। थिति बसाउने नाममा राज्यले भूमिहीन सुकुम्वासीको कुनै वैकल्पिक आवास हठात् डोजर लगाएर हटाउँदा मानवता र करुणा प्रदर्शन हुने अपेक्षा विपरीत मध्यम वर्गले नि:शर्त समर्थन गर्छ भने त्यस्तो समाजको प्रवृत्तिमाथि नै विचार गर्नुपर्ने हुन्छ ।
यस्तो हुनुमा उसले आफू मेहनत र कठोर सङ्घर्ष गरेर अहिलेको आर्थिक उन्नति हासिल गर्न सकेको तर भूमिहीनहरू अल्छी हुँदाहुँदै पनि सार्वजनिक जमिनमा बसोबास गरिरहेकाले आफूहरूमाथि अन्याय भएको यो वर्गको बुझाई रहन्छ । केही हुनेखानेहरूले नै विभिन्न राजनीतिक पहुँचका आधारमा सरकारी जमिन हडपेको प्रमाण बाहिरिएपछि त झनै यो वर्गको आक्रोश उच्च बिन्दुमा पुगेको देखिन्छ । फलस्वरूप अमानवीय विस्थापन र त्यसको कारण भएको आत्महत्यालाई समेत उनीहरू जायज ठहर्याउँछन् ।
राजनीतिक चिन्तक हान्ना अरेन्टले लेखेकी थिइन्,‘जब समाजले पीडालाई सामान्य मान्न थाल्छ, त्यहाँ अमानवीयता संस्थागत हुन्छ।’ करुणा हराएको राज्य बाहिरबाट बलियो देखिन सक्छ, तर भित्रबाट नैतिक रूपमा कमजोर हुँदै जान्छ। यस्तो राज्यले शान्ति निर्माण गर्दैन; उसले दबिएको विस्फोट निर्माण गर्छ। किनभने गरिबी केवल आर्थिक अवस्था होइन, निरन्तर अपमानको अनुभव पनि हो। र, लगातार अपमानित गरिएको समाज कुनै दिन विस्फोटक बन्न सक्छ।
सुकुम्वासी बस्ती भत्किँदै गर्दा आफ्नो अन्तिम भरोसा अनि आदर्श अभिभावक राज्यका अगाडि निरीह बनेर भक्कानिँदै गरेको कलिला मस्तिष्कहरू भोलीका नयाँ विद्रोहका लागि भूमिगत प्रज्वलनशील ऊर्जा बन्न सक्छन् । प्रायः इतिहास हेर्ने हो भने सफल क्रान्तिकारी नेतादेखि कुख्यात जिहादिहरु बाल मस्तिष्कमा गहिरो रूपमा गढेको अन्याय, दमन र अत्याचारकै कारण जन्मिएको उदाहरण बग्रेल्ती देख्न सकिन्छ ।
प्रख्यात जर्मन दार्शनिक कार्ल मार्क्सले इतिहासलाई वर्गीय द्वन्द्वको इतिहासका रूपमा व्याख्या गरेका छन् । उनको विचारलाई आजको नेपालमा यान्त्रिक रूपमा लागू गर्न त सकिँदैन तर एउटा सत्य अझै प्रासङ्गिक छ– जब असमानता तीव्र हुन्छ, अवसर सीमित हुन्छ र ठुलो जनसङ्ख्या आफूलाई भविष्यविहीन महसुस गर्न थाल्छ, तब समाजभित्र अदृश्य तनाव बढ्न थाल्छ।
तत्कालका लागि मध्यम वर्गीय कुलिनहरूले कठोर शासकलाई आफ्नो मसिहा ठान्न सक्छन् र सुरुमा मध्यम वर्गले कठोर राज्यलाई समर्थन गर्न सक्छ । किनभने उसलाई लाग्छ व्यवस्था जोगाउन बलियो नियन्त्रक आवश्यक छ। तर निरन्तरको श्रमिक वर्गमाथिको आक्रमणले देशको समग्र आर्थिक पद्धतिमा र श्रम र उपभोक्ता बजारमै असर पार्छ र आर्थिक सङ्कट गहिरिँदै जाँदा, त्यही असुरक्षा अन्ततः मध्यम वर्गतिर पनि फर्किन्छ। इतिहासमा धेरै पटक देखिएको छ– दबाइएको आक्रोश अन्ततः नियन्त्रण गर्ने संरचनामाथि नै फर्केर आउँछ।
नेपाल अहिले निर्णायक मोडमा उभिएको छ। यहाँ आकाङ्क्षा तीव्र छ तर अवसर सीमित छन्। तुलना व्यापक छ तर सामाजिक विश्वास कमजोर हुँदै गएको छ। मानिसहरू आर्थिक रूपमा मात्र होइन, भावनात्मक रूपमा पनि थाकिरहेका छन्। यस्तो अवस्थामा समाजले करुणा गुमायो भने, हामी बाहिरबाट आधुनिक देखिए पनि भित्रबाट क्रूर समाजमा रूपान्तरण हुन सक्छौँ । यस किसिमको मध्यम वर्गीय चेतना हाम्रो समाजमा लामो समय व्याप्त रहने र हाम्रो राज्यले आमरुपमा आर्थिक उन्नतिको संस्थागत विकास गरी सक्षम र अरस्तुले भने जस्तै राजनैतिक रूपमा स्थिर करुणायुक्त मध्यम वर्गमा रूपान्तरण नहुने हो भने यसले पुनः अर्को द्वन्द्व निम्त्याउन खतरा जीवित छ ।
कुनै पनि समाज केवल कानुन, विकास र प्रतिस्पर्धाले मात्र टिक्दैन। समाज अन्ततः सह–अस्तित्व, न्याय र करुणाले टिक्छ। यदि गरिबको आँसुले समाजलाई छुन छोड्छ भने, त्यो समाज आर्थिक रूपमा सम्पन्न भए पनि नैतिक रूपमा विपन्नतातर्फ यात्रा गरिरहेको छ भन्ने बुझ्दा हुन्छ ।
नेपाल आज यस्तो मोडमा उभिएको छ, जहाँ राज्यले केवल कानुनको कठोरता होइन, करुणाको नैतिक शक्ति पनि प्रदर्शन गर्न आवश्यक छ। व्यवस्था कायम गर्नु राज्यको दायित्व हो, तर व्यवस्था मानवताको मूल्यमा स्थापित हुन थाल्यो भने त्यसले स्थायित्व होइन, अन्ततः गहिरो असन्तोष जन्माउँछ। गरिब, सुकुम्वासी, बेरोजगार वा सीमान्तकृत समुदायलाई केवल ‘समस्या’ का रूपमा हेर्ने राज्य दीर्घकालीन रूपमा कहिल्यै सुरक्षित रहँदैन। राज्यले विकासलाई केवल सडक, भवन र लगानीको भाषामा होइन, नागरिकको सम्मान, सामाजिक न्याय र मानवीय गरिमाको भाषामा पनि परिभाषित गर्नुपर्छ।
त्यसैगरी नेपालको मध्यम वर्गले पनि आफूभित्र बढ्दै गएको असुरक्षा र तुलनामा आधारित चेतनालाई आत्म परीक्षण गर्न आवश्यक छ। समाज केवल व्यक्तिगत सफलताले टिक्दैन; त्यो पारस्परिक सहानुभूति र साझा मानवीय सम्बन्धले टिक्छ। यदि मध्यम वर्गले आफ्नो सङ्घर्षलाई मात्र वैध ठान्न थाल्यो र कमजोर वर्गको पीडालाई ‘अयोग्यता’ वा ‘अवैधता’ का रूपमा हेर्न थाल्यो भने, उसले अन्ततः आफ्नै समाजलाई कठोर र अस्थिर बनाउनेछ। कुनै पनि सभ्य समाजको वास्तविक उन्नति,उसले आफू भन्दा कमजोर मानिससँग कस्तो व्यवहार गर्छ भन्नेले मापन हुन्छ। नेपाली समाज यसैमा चुक्दै गएको छ ।
हामीले अन्ततः आफैलाई एउटा गम्भीर प्रश्न सोध्नै पर्नेछ । के हामी केवल सम्पन्न समाज बन्न चाहिरहेका छौँ वा मानवीयतासहितको सम्पन्न समाज?किनभने करुणा हराएको समृद्धि अन्ततः सभ्यताको होइन, सामाजिक पतनको सङ्केत हो ।
(लेखक हार्वर्ड मेडिकल स्कुलमा पोस्ट डक्टरल अनुसन्धाता हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
थाहा नगरपालिकामा आइतबार सार्वजनिक बिदा
-
भरतपुरमा रास्वपा केन्द्रीय समितिको अन्तिम बैठक, तस्बिरहरू
-
भारतमा ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक हुने
-
‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’
-
बास्तोला कम्प्लेक्सको संरचनामा पोखरा महागरले चलायो डोजर (तस्बिरहरू)
-
बिदा हुन लागेको केन्द्रीय समितिलाई सभापति लामिछानेको भावुक सम्बोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण