भाजपा नेताका स्वकीयको हत्याले बंगालमा तनाव : टीएमसीद्वारा सीबीआई जाँचको माग
सारांश
- पश्चिम बंगालमा विधानसभा चुनावको नतिजापछि भाजपा नेताका स्वकीय सचिवको हत्याले राजनीतिक तनाव बढेको छ।
- हत्यामा योजनाबद्ध रूपमा नक्कली नम्बर प्लेट प्रयोग गरिएको र प्रहरीले अनुसन्धान गरिरहेको छ।
- भाजपाले राजनीतिक रिसइबीको आशंका गरेको छ भने टीएमसीले सीबीआई जाँचको माग गर्दै घटनाको निन्दा गरेको छ।
कोलकाता । पश्चिम बंगालमा विधानसभा चुनावको नतिजा सार्वजनिक भएलगत्तै सुरु भएको राजनीतिक हिंसाले उग्र रूप लिएको छ।
चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले २९४ मध्ये २०७ सिट जितेर बहुमत हासिल गरेको केही दिनभित्रै उत्तर २४ परगनाको मध्यमग्राममा भाजपाका वरिष्ठ नेता सुवेदु अधिकारीका स्वकीय सचिव चन्द्रनाथ रथको गोली हानी हत्या भएपछि राज्यमा तनाव उत्कर्षमा पुगेको छ।
अधिकारीलाई नन्दिग्राम र भवानीपुर दुवै क्षेत्रमा ममता बनर्जीविरुद्ध जिताउन मुख्य भूमिका खेलेका रथको बुधबार राति योजनाबद्ध रूपमा हत्या गरिएको थियो। घटनापछि बंगालका विभिन्न स्थानमा हिंसात्मक झडप र गिरफ्तारीका शृङ्खला सुरु भएका छन्।
घटनाको अनुसन्धान गरिरहेको प्रहरीले आक्रमणकारीहरूले निकै चतुरतापूर्वक योजना बुनेको फेला पारेको छ। पश्चिम बंगालका प्रहरी महानिर्देशक (डीजीपी) सिद्धीनाथ गुप्ता आफैं अस्पताल पुगेर अनुसन्धानको प्रगतिबारे जानकारी दिएका छन्।
प्रहरीले घटनास्थल नजिकैबाट एउटा शंकास्पद चार पाङ्ग्रे गाडी नियन्त्रणमा लिएको छ, जसको नम्बर प्लेट केरमेट गरिएको थियो। उक्त नम्बर प्लेटको अनुसन्धान गर्दा त्यो सिलिगुढीका बासिन्दा विलियम जोसेफको नाममा दर्ता भएको गाडीको रहेको खुल्यो। तर, प्रहरीले जोसेफसँग सम्पर्क गर्दा उनको वास्तविक गाडी घटनास्थल भन्दा झन्डै ५५७ किलोमिटर टाढा सिलिगुढीकै ग्यारेजमा सुरक्षित रहेको पाइयो।
यसबाट अपराधीहरूले नक्कली नम्बर प्लेट प्रयोग गरेर गत तीन–चार दिनदेखि रथको निगरानी गरिरहेको र पूर्ण योजनाका साथ हत्या गरेको पुष्टि हुन्छ। प्रहरीले सीमावर्ती क्षेत्र तथा बंगलादेश र झारखण्ड नाकामा समेत उच्च सतर्कता अपनाएको छ।
राजनीतिक दाबी–प्रतिदाबी
भाजपा नेता सुवेदु अधिकारीले घटना राजनीतिक रिसिइबीका कारण भएको हुन सक्ने संकेत गरे पनि आफ्ना कार्यकर्तालाई तत्काल संयम अपनाउन र कानुन हातमा नलिन अपिल गरेका छन्। ‘हामी अहिले नै कुनै निष्कर्षमा पुग्दैनौं तर टीएमसीले सधैं आतंकको राजनीति गरेको कुरा सत्य हो, प्रहरीलाई अनुसन्धान गर्न दिनुपर्छ’ अधिकारीले भने।
भाजपा नेत्री अग्निमित्रा पलले भने सिधै राजनीतिक कनेक्सन जोड्दै भनिन्, ‘यो सायद ममता बनर्जी भवानीपुरमा पराजित हुनुको परिणाम हो।’
उता, सत्तारुढ तृणमूल कांग्रेस (टीएमसी) ले भने हत्याको कडा शब्दमा भर्त्सना गर्दै यसलाई राजनीतिक रूप नदिन आग्रह गरेको छ। टीएमसीले चुनाव परिणाम आएदेखि यता भाजपा समर्थित कार्यकर्ताको आक्रमणमा आफ्ना पनि तीन जना कार्यकर्ता मारिएको दाबी गरेको छ।
पार्टीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामी मध्यमग्रामको घटनाको कडा निन्दा गर्छौं र दोषीलाई कानुनी दायरामा ल्याउन अदालतको निगरानीमा सीबीआई जाँचको माग गर्दछौँ।’
नतिजा आएको सोमबारदेखि नै बंगालमा चुनावी हिंसा भड्किएको छ। प्रहरी तथ्यांक अनुसार अहिलेसम्म चुनावी हिंसाको आरोपमा राज्यभरबाट १५ सयभन्दा बढी मानिसलाई पक्राउ गरिसकिएको छ। रथको हत्यापछि अस्पताल बाहिर र मध्यमग्राम क्षेत्रमा भाजपा कार्यकर्ताको आक्रोश चुलिएपछि स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा केन्द्रिय सुरक्षा बल परिचालन गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण