बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

झापामा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज २०२६ हुने, प्रथमलाई एक लाख पुरस्कार

बिहीबार, २४ वैशाख २०८३, १८ : ०४
बिहीबार, २४ वैशाख २०८३

काठमाडाैँ । नेपाली खानाको मौलिकता, विविधता र सांस्कृतिक पहिचानलाई संरक्षण र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित दोस्रो राष्ट्रिय पाककला प्रतियोगिता २०२६ झापामा आयोजना हुने भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी र नेपाल सेफ सोसाइटीको संयुक्त आयोजनामा आगामी जेठ १ र २ गते झापाको पाथीभरा कुलिनरी आर्ट कलेजमा प्रतियोगिता सञ्चालन हुने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

नेपाल पर्यटन बोर्डको सभाहलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटीका केन्द्रीय अध्यक्ष अरुण अधिकारीले प्रतियोगिताले नेपाली पाककलालाई व्यावसायिकता, नवप्रवर्तन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमतासँग जोड्ने विश्वास व्यक्त गरे ।

उनले नेपालका सातै प्रदेशका मौलिक तथा रैथाने खानाको खोज, अनुसन्धान, संरक्षण र प्रवर्द्धनमा प्रतियोगिता केन्द्रित रहने बताए । ‘विभिन्न भौगोलिक क्षेत्रका लोपोन्मुख तथा परम्परागत परिकारलाई एउटै मञ्चमा प्रस्तुत गर्दै नयाँ पुस्ताका शेफलाई सिर्जनशीलता र नवप्रवर्तनतर्फ प्रेरित गर्ने हाम्रो उद्देश्य हो,’ अध्यक्ष अधिकारीले भने ।

कार्यक्रममा खुला पाककला प्रतियोगिता, विभिन्न खाद्य प्रतिस्पर्धा तथा खाद्य महोत्सव आयोजना गरिनेछ । ५० भन्दा बढी स्टल रहने महोत्सवमा स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरका परिकारको स्वाद लिन सकिने आयोजकले जनाएको छ । 

प्रतियोगितामा १० भन्दा बढी देशका अनुभवी अन्तर्राष्ट्रिय शेफ निर्णायकका रूपमा सहभागी हुनेछन् । उनीहरूको सहभागिताले नेपाली शेफहरूलाई विश्वस्तरीय मूल्याङ्कन, मार्गदर्शन र अनुभव आदानप्रदानको अवसर मिल्ने विश्वास आयोजकको छ ।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धकले शेफहरू विश्वव्यापी जनशक्ति भएको उल्लेख गर्दै उनीहरूले स्थानीय तहसम्म सहकार्य र योगदान पुर्‍याउने बताए । ‘शेफहरू विश्वव्यापी जनशक्ति हुन् । उनीहरूले स्थानीय स्तरमा समेत सहकार्य गर्दै समाज र पर्यटन क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेका छन्,’ उनले भने । 

थपलियाले पाककलालाई राजधानीबाहिर विस्तार गर्नु साहसिक कदम भएको उल्लेख गर्दै थपे, ‘पाककलालाई राजधानी बाहिर लैजानु ठुलो हिम्मतको काम हो । यसले स्थानीय पर्यटन, उत्पादन र संस्कृतिलाई थप प्रवर्द्धन गर्नेछ,’ उनले भने । 

उनले नेपाली खानाको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न शेफहरूले साँचो सांस्कृतिक दूतको भूमिका निर्वाह गरिरहेको समेत बताए । प्रतियोगितामा सहभागिताका लागि तीन सदस्यीय टोली अनिवार्य गरिएको छ । सहभागी टोलीहरूले सोसाइटीको आधिकारिक खातामा दर्ता शुल्क जम्मा गरी सहभागिता सुनिश्चित गर्नुपर्ने जनाइएको छ । 

प्रतियोगिताका विजेतालाई प्रथम पुरस्कार स्वरूप एक लाख रुपैयाँ, द्वितीयलाई ७५ हजार रुपैयाँ र तृतीयलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप