सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

व्यापारिक फाइदाका लागि आईपीएल फाइनल बेंगलुरुबाट अहमदावाद सारियो: कर्नाटकका गृहमन्त्री

शुक्रबार, २५ वैशाख २०८३, ०६ : २३
शुक्रबार, २५ वैशाख २०८३

सारांश

  • कर्नाटकका गृहमन्त्री जी परमेश्वरले आईपीएल २०२६ को फाइनल खेल व्यावसायिक लाभ र स्टेडियमको क्षमताका कारण बेंगलुरुबाट अहमदावाद सारिएको बताएका छन्।
  • उनले चिन्नास्वामी स्टेडियमको ३३ हजार सिट क्षमता कम भएकाले र अहमदावादको स्टेडियममा एक लाखभन्दा बढी सिट क्षमता भएकाले बीसीसीआईले उक्त निर्णय गरेको स्पष्ट पारे।
  • गृहमन्त्रीले सुरक्षा वा व्यवस्थापनमा कमजोरी वा विधायकलाई नि:शुल्क टिकट वितरणका कारण खेल सारिएको भन्ने हल्लाको खण्डन गरेका छन्।

बेंगलुरु । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले आईपीएल २०२६ को फाइनल खेल बेंगलुरुको सट्टा अहमदावादमा आयोजना गर्ने निर्णय गरेपछि कर्नाटक सरकारले यसको बचाउ गरेको छ।

कर्नाटकका गृहमन्त्री जी परमेश्वरले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै व्यावसायिक लाभ र स्टेडियमको क्षमताका कारण फाइनल खेल सारिएको बताएका हुन्।

यसअघि साविक विजेताको घरेलु मैदानमा फाइनल गर्ने परम्परा अनुसार बेंगलुरुमा खेल हुने तय भए पनि बिसीसीआईले बुधबार मे ३१ को फाइनल अहमदावादमा हुने घोषणा गरेको थियो। गृहमन्त्री परमेश्वरले बेंगलुरुको चिन्नास्वामी स्टेडियममा सिट क्षमता कम भएकाले बिसीसीआईले अहमदावाद रोजेको बताए।

‘हामीले अनौपचारिक रूपमा जानकारी पाए अनुसार यहाँ ३३ हजार सिट क्षमता मात्र छ, जसमा करिब ७–८ हजार सिट भीआइपी र प्रायोजकका लागि सुरक्षित हुन्छ,’ उनले भने, ‘अहमदावादको स्टेडियममा एक लाखभन्दा बढी सिट क्षमता छ, त्यसैले व्यापारिक हिसाबले उनीहरूले त्यहाँ खेल सार्ने निर्णय गरेको हुनुपर्छ।’

उनले सुरक्षा वा व्यवस्थापनमा कमजोरी भएका कारण खेल सारिएको भन्ने चर्चाको खण्डन गरे। अहिलेसम्म बेंगलुरुमा भएका खेलहरूमा सुरक्षालाई लिएर कुनै गुनासो नआएको र प्रहरी वा प्रशासनप्रति कसैको असन्तुष्टि नरहेको उनले स्पष्ट पारे।

विधायकहरूलाई नि:शुल्क टिकट वितरण गरेका कारण खेल सारिएको भन्ने आरोपलाई पनि उनले अस्वीकार गरे। ‘टिकट वितरणको कुरासँग यसको कुनै सम्बन्ध छैन, केही थान पासले के फरक पार्छ र?’ उनले प्रश्न गरे।

कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारले पनि बुधबारै यो विषयमा स्पष्टीकरण दिँदै ठुलो स्टेडियमको उपलब्धता नै मुख्य कारण भएको बताएका थिए। गत मार्चमा शिवकुमारले प्रत्येक विधायकलाई आईपीएलका तीनवटा नि:शुल्क टिकट दिने घोषणा गरेपछि त्यसको चौतर्फी आलोचना भएको थियो।

विधानसभामा विधायकहरूले सिट व्यवस्थापन र टिकट नपाएको भन्दै गुनासो गरेपछि सभामुख यूटी खादरले सरकारलाई टिकटको व्यवस्था गर्न निर्देशन दिएका थिए।

यता बीसीसीआईले भने जारी गरेको विज्ञप्तिमा ‘स्थानीय संघ र अधिकारीहरूका केही मागहरू बोर्डको निर्देशिका र प्रोटोकलभन्दा बाहिर रहेकाले’ स्थान परिवर्तन गर्नुपरेको उल्लेख गरेको छ। यद्यपि ती मागहरू के थिए भन्नेबारे बिसीसीआईले स्पष्ट खुलाएको छैन।

यस वर्षको प्लेअफका अन्य खेलहरू धरमशाला र नयाँ चण्डीगढमा हुने तय भएको छ। अघिल्ला सिजनहरूमा पनि अहमदावादले नै फाइनल खेलको आयोजना गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप