बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
आईपीएल २०२६

अङ्क तालिकामा राजस्थानलाई उछिन्ने दाउमा गुजरात

शनिबार, २६ वैशाख २०८३, १८ : ००
शनिबार, २६ वैशाख २०८३

सारांश

  • गुजरात टाइटन्सले आज राजस्थान रोयल्सलाई अङ्क तालिकामा उछिन्ने मौका छ।
  • दुवै टोलीले समान १२ अङ्क जोडेका छन्, तर राजस्थान नेट रनरेटमा अगाडि छ।
  • राजस्थानको बलिङ र ध्रुव जुरेलको सुस्त ब्याटिङ चिन्ताको विषय बनेको छ।

जयपुर । आईपीएल २०२६ को ५२औँ खेल आज राजस्थान रोयल्स र गुजरात टाइटन्स बिच खेलिँदै छ। 

यो खेल राजस्थानको घरेलु मैदान जयपुरस्थित सवाई मानसिंह स्टेडियममा साँझ ७:४५ बजे सुरु हुनेछ।

शुभमन गिलको कप्तानीमा रहेको गुजरात टाइटन्सलाई अङ्क तालिकामा राजस्थानलाई पछि पार्ने अवसर छ। दुवै टोलीले १० खेलमा ६ जित र ४ हारसहित १२-१२ अङ्क जोडेका छन्, तर राम्रो नेट रनरेटका कारण राजस्थान चौथो र गुजरात पाँचौँ स्थानमा छ।

गुजरात लगातार पछिल्ला तीन खेल जितेर उत्कृष्ट लयमा छ। उता, रियान परागको कप्तानीमा रहेको राजस्थान रोयल्सले भने पछिल्ला पाँचमध्ये तीन खेल हारेको छ।

  • दुवै टोली १०औँ पटक आमनेसामने हुँदै

दुवै टोलीबिच हालसम्म ९ खेल भएका छन्। जसमा राजस्थानले ३ र गुजरातले ६ खेल जितेका छन्। अघिल्लो सिजनमा दुवैले एक-एक खेल जितेका थिए। 

यस सिजनमा भने यो दोस्रो भिडन्त हो। अहमदाबादमा भएको पहिलो खेलमा राजस्थान ६ रनले विजयी भएको थियो।

  • लगातार दुई पटक २२०+ को स्कोर जोगाउन सकेन राजस्थानले

राजस्थान रोयल्सका लागि सबैभन्दा ठुलो चिन्ता बलिङ बनेको छ। पछिल्ला दुई खेलमा २२० भन्दा बढी रन बनाए पनि टोलीले त्यसलाई जोगाउन सकेन। 

दिल्ली क्यापिटल्सविरुद्धको पछिल्लो खेलमा रियान परागको ९० रनको मद्दतमा राजस्थानले २२५ रन बनाएको थियो, तर दिल्लीले ७ विकेट बाँकी छँदै लक्ष्य पूरा गर्‍यो। सवाई मानसिंह स्टेडियममा पनि पछिल्ला दुई खेलमा २२० भन्दा बढीको लक्ष्य पूरा भएको छ। 

यस्तो अवस्थामा टस जित्ने टोलीले पहिले बलिङ रोज्न सक्छ। १० खेलमा १५ विकेटसहित जोफ्रा आर्चर राजस्थानका सर्वाधिक विकेट लिने बलर हुन्।

  • ध्रुव जुरेलको ब्याटिङमाथि प्रश्न, स्ट्राइक रेट सुधार्ने चुनौती

वैभव सूर्यवंशी (४०४ रन) र यशस्वी जायसवाल (३१२ रन) का कारण राजस्थानको शीर्ष क्रम बलियो देखिएको छ। तर, तेस्रो नम्बरमा ब्याटिङ गरिरहेका ध्रुव जुरेलको सुस्त पारी भने चिन्ताको विषय बनेको छ। 

jurel

जुरेलले पछिल्ला तीन पारीमा दुई पटक ३० बलमा ४२ रन र एक पटक २० बलमा १६ रन बनाएका छन्। जारी सिजनमा उनको स्ट्राइक रेटले टोलीको रन गतिलाई असर गरिरहेको छ। वैभव राजस्थानका लागि सर्वाधिक रन बनाउने ब्याटर हुन्।

  • उत्कृष्ट लयमा गुजरातका टप-३ ब्याटर

गुजरात टाइटन्स सही समयमा लयमा फर्किएको देखिन्छ। कप्तान शुभमन गिल (३७८ रन) र साई सुदर्शन (३८५ रन) ले लगातार रन बनाइरहेका छन्। सुदर्शनले पछिल्ला चार पारीमा दुई अर्धशतक र एक शतक प्रहार गरेका छन्। 

जोस बटलर (३३५ रन) लयमा फर्किनाले गुजरातको शीर्ष क्रम थप बलियो भएको छ। यद्यपि, टोलीले मध्यक्रम धराशायी (मिडिल अर्डर कोल्याप्स) हुने समस्याबाट भने बच्नुपर्नेछ, जसका कारण मुम्बईविरुद्ध टोली १०० रनमै समेटिएको थियो। गिल टोलीका सर्वाधिक रन बनाउने खेलाडी हुन्।

  • रबाडाको नेतृत्वमा धारिलो छ गुजरातको पेस अट्याक

टाइटन्सको बलिङ नै उनीहरूको सबैभन्दा ठूलो हतियार हो। कागिसो रबाडा १६ विकेटसहित पेस अट्याकको नेतृत्व गरिरहेका छन्। उनी टोलीका सर्वाधिक विकेट लिने बलर पनि हुन्। उनलाई प्रसिद्ध कृष्णा (१२ विकेट) र मोहम्मद सिराज (११ विकेट) ले राम्रो साथ दिइरहेका छन्। राजस्थानको मैदानमा गुजरातका यी तीन तीव्र गतिका बलरले आफ्नो गति र सटिकतामार्फत रोयल्सका ब्याटरलाई रोक्ने प्रयास गर्नेछन्।

  • सवाई मानसिंह स्टेडियममा ब्याटरलाई फाइदा

सवाई मानसिंहको पिचमा नयाँ बलले सुरुमा तीव्र गतिका बलरलाई मुभमेन्ट दिन्छ। ब्याटर सेट भइसकेपछि बाउन्स र फास्ट आउटफिल्डका कारण सट खेल्न सहज हुन्छ। यस मैदानमा आईपीएलको पहिलो पारीको औसत स्कोर १६६ रन रहेको छ भने दोस्रो पारीमा १५०-१६० को बिचमा हुने गर्छ।

  • आज जयपुरमा वर्षाको सम्भावना छैन

आज जयपुरमा खेलका दौरान मौसम गर्मी हुनेछ। खेल सुरु हुँदा तापक्रम ३२°C देखि ३७°C को बिचमा रहने अनुमान छ र आकाश सफा रहनेछ। वर्षाको कुनै सम्भावना छैन।

टोलीको अवस्था

राजस्थान रोयल्ससँग नान्द्रे बर्गरको फर्म/फिटनेसको समस्या छ र उनीहरूले यसमा परिवर्तन गर्दै क्वेना मफाका वा एडम मिल्नेमध्ये एकलाई मौका दिन सक्छन्। उनीहरूले बर्गरको स्थानमा दसुन सानाकालाई पनि ल्याउन सक्छन्, जसले ब्याटिङ र बलिङ दुवै विकल्प दिन्छन्। ब्याटिङ अझ बलियो बनाउन शिमरोन हेटमायरलाई पनि प्लेइङ इलाभेनमा फर्काउने सम्भावना छ।

  • राजस्थान रोयल्स (सम्भावित १२): १. यशस्वी जायसवाल, २. वैभव सूर्यवंशी, ३. ध्रुव जुरेल (विकेटकिपर), ४. रियान पराग (कप्तान), ५. डोनोभान फरेरा, ६. रवीन्द्र जडेजा, ७. शुभम दुबे, ८. जोफ्रा आर्चर, ९. रवि बिश्नोई, १०. नान्द्रे बर्गर/दसुन सानाका, ११. ब्रिजेश शर्मा, १२. तुषार देशपाण्डे।

gujrat

गुजरात टाइटन्सले पछिल्लो खेलमा निशान्त सिन्धुलाई डेब्यु गराएको थियो र विजयी संयोजन (विनिङ कम्बिनेसन) परिवर्तन गर्ने सम्भावना कम छ। पन्जाब किंग्सविरुद्ध आफूले फालेको एक मात्र ओभरमा मानव सुथारले २७ रन दिएका थिए, तर अघिल्ला खेलहरूमा उनी प्रभावकारी थिए। उनले ब्याटिङमा पनि गहिराइ थप्छन्, जसको अर्थ आर साई किशोरले अझै आफ्नो पालो कुर्नुपर्ने हुन सक्छ।

  • गुजरात टाइटन्स (सम्भावित १२): १. शुभमन गिल (कप्तान), २. साई सुदर्शन, ३. जोस बटलर (विकेटकिपर), ४. निशान्त सिन्धु, ५. वासिङ्टन सुन्दर, ६. जेसन होल्डर, ७. राहुल तेवाटिया, ८. राशिद खान, ९. मानव सुथार, १०. अरशद खान, ११. कागिसो रबाडा, १२. मोहम्मद सिराज।

तथ्याङ्क र रोचक जानकारी

  • डोनोभान फरेराको २६४.८६ को स्ट्राइक रेट आईपीएल २०२६ को डेथ ओभरमा ३० भन्दा बढी बल सामना गर्ने कुनै पनि ब्याटरको तेस्रो उच्च स्ट्राइक रेट हो। उनले यस चरणमा ११ छक्का पनि प्रहार गरेका छन्, जुन टिम डेभिडको १२ छक्कापछिको दोस्रो उच्च हो।
  • मोहम्मद सिराजको पावरप्ले इकोनोमी रेट ६.९२ रहेको छ, जुन यो सिजन अकिल होसेनको ६.४४ पछिको दोस्रो उत्कृष्ट हो (कम्तीमा ३० बल फ्याँकेकामध्ये)।
  • शुभमन गिलले जोफ्रा आर्चरविरुद्ध सतर्क हुनुपर्नेछ, जो पावरप्लेमा उत्कृष्ट लयमा छन्। आईपीएलमा आर्चरले गिललाई ६ पारीमा ३ पटक आउट गरिसकेका छन्।
  • रियान पराग आईपीएलमा जेसन होल्डरविरुद्ध दुई पारीमै दुई पटक र राशिद खानविरुद्ध ६ पारीमा दुई पटक आउट भएका छन्। राशिदविरुद्ध उनको स्ट्राइक रेट मात्र ९० रहेको छ।
  • वैभव सूर्यवंशीले एक वर्षअघि गुजरातविरुद्ध नै आफ्नो पहिलो आईपीएल शतक प्रहार गरेका थिए। त्यसयता उनले यो सिजन आफ्नो नाममा थप एक शतक दर्ता गरिसकेका छन्।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप