आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

हराएको ३५ लाख पर्ने मोटरसाइकल दुई हप्तामा फेला

आइतबार, २७ वैशाख २०८३, १३ : ५३
आइतबार, २७ वैशाख २०८३

सारांश

  • काठमाडौँको बबरमहलबाट हराएको ३५ लाख मूल्य पर्ने अप्रिला मोटरसाइकल दुई हप्तापछि ट्राफिक प्रहरीले फेला पारेको छ ।
  • ट्राफिक प्रहरीले कालोपुलमा फेला पारेको उक्त मोटरसाइकलसहित पछिल्लो समय बरामद भएका ६५ वटा दुईपाङ्ग्रे सवारी साधन धनीलाई हस्तान्तरण गरेको छ ।
  • यसका साथै, प्रहरीले हराएका तीन जना प्रहरी कर्मचारीका मोटरसाइकल पनि फेला पारी धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ । काठमाडौँको बबरमहलबाट हराएको ३५ लाख मूल्य पर्ने मोटरसाइकल दुई हप्तामा ट्राफिक प्रहरीले भेट्टाइदिएको छ ।

अप्रिला कम्पनीको बा.७७ प ८८४८ नम्बरको मोटरसाइकल दुई साताअघि बबरमहलबाट हराएको थियो । आफ्नो सवारी हराएकोबारे मोटरसाइकल धनी अलिङ्क लामिछानेले उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सूचना दिएका थिए ।

खोजतलास गर्दा कालोपुलमा सो मोटरसाइकल भेटिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । उनले भने, ‘खोजी तीव्र पारेका थियौँ, कालोपुलमा भेटियो ।’

आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक कार्यक्रमको बिचमा सो मोटरसाइकल सहित पछिल्लो समय भेटिएको ६५ वटा दुईपाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

ट्राफिकको चोरी नियन्त्रण गर्ने टिमले विभिन्न समयमा हराएका ३ जना प्रहरी कर्मचारीको मोटरसाइकल पनि भेट्टाइदिएको छ । दुई जना सशस्त्र प्रहरी र एकजना नेपाल प्रहरीका नायव निरीक्षक (सई)को मोटरसाइकल भेट्टाएर धनीलाई हस्तान्तरण गरेको हो ।

सशस्त्र प्रहरीका सई वसन्त कुमार श्रेष्ठको बा.६९ प १०६० नम्बरको मोटरसाइकल रानीपोखरीबाट हराएको थियो । सोह्रखुट्टेमा फेला परेको सो मोटरसाइकल उनले आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आएर रिसिभ गरेका छन् ।

ट्राफिक प्रहरी कार्यालयमा कार्यरत सई सुरज कार्कीको मोटरसाइकल जेनजी प्रदर्शनमा हराएको थियो । रामशाहपथ स्थित बग्गीखाना बाट हराएको बा.६० प ५२८२ नम्बरको मोटरसाइकल फेला परेको छ ।

सशस्त्र प्रहरीमा कार्यरत रामकुमार लामिछानेले चढ्ने बागमती प्रदेश–०२–०२७ प ४३९७ नम्बरको मोटरसाइकल पनि भेटिएको छ । शुभकामना चोकबाट हराएको उनको मोटरसाइकल नेपालटारमा फेला परेको हो । मोटरसाइकल पाएपछि लामिछानेले भने, ‘लगभग माया मारेको थिएँ ।’

लामो सयमदेखि हराएको मोटरसाइकल फिर्ता पाउँदा दुई पाङ्ग्रे सवारीका धनीहरूले खुसी व्यक्त गरेका छन् । आफ्नो मोटरसाइकल फिर्ता पाएपछि मनोज दुलालले भने, ‘मोटरसाइकल भेटिन्छ भन्ने आशा गरेको थिइनँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप