बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

पोखरामा यातायात व्यवसायीको महाधिवेशन सुरु

आइतबार, २७ वैशाख २०८३, २० : ०१
आइतबार, २७ वैशाख २०८३

पोखरा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशन आइतबारदेखि पोखरामा सुरु भएको छ।

पुराना कानुन संशोधन र प्रविधिमैत्री यातायात प्रणालीको एजेन्डालाई प्रमुख मानेर सुरु भएको महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ केन्द्रीय नेतृत्व समेत चयन गर्नेछ। महाधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यातायात क्षेत्र सबै व्यवसायको मेरुदण्ड रहेको भन्दै व्यवसायीका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। 

‘यातायात क्षेत्रमा जनता हरेक घण्टा जोडिएका छन् । यस्तो संवेदनशील क्षेत्रको व्यवस्थित विकासका लागि सरकार, व्यवसायी र मजदुर एकै ठाउँमा बसेर छलफलबाट समाधान खोज्नुपर्छ,’ उनले भने ।

अहिलेको युगमा यातायात क्षेत्र अनिवार्य रूपमा प्रविधिमा जानुपर्ने उनको तर्क छ । पाण्डेले प्रदेश सरकारले व्यवसायीलाई निरुत्साहित गर्न नभई प्रविधिमा रूपान्तरण गर्न कानुन ल्याएको बताए । 

राइड सेयरिङ नियमावलीपछि व्यवसायीहरू आन्दोलित भएका थिए । अहिले पुनः नियमावलीलाई संशोधन गरेर पारित गरिएको छ । पाण्डेले सार्वजनिक यातायातलाई भरोसायोग्य बनाउनका लागि प्रविधिको उच्चतम उपयोग गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा महासङ्घका केन्द्रीय अध्यक्ष विजयबहादुर स्वाँरले यातायात क्षेत्रमा विशुद्ध नेपालीहरूको १३ खर्बभन्दा बढी लगानी रहेको र प्रत्यक्ष–अप्रत्यक्ष रूपमा ४० लाख नागरिक यसमा आश्रित रहेको बताए।

उनले पुराना र बाधक कानुन नै यस क्षेत्रको सबैभन्दा ठुलो समस्या रहेको भन्दै फास्ट ट्र्याकबाट कानुन संशोधन गर्न सरकारसँग आग्रह गरे । ‘दुर्घटनापछिको अवस्थामा व्यवसायीलाई थुन्ने र तर्साउने कामले लगानीकर्ता निरुत्साहित भएका छन्,’ उनले भने, ‘यस्ता धेरै कानुन छन्, जसलाई राज्यले तुरुन्त संशोधन र सुधार गर्नुपर्छ ।’

उनले सार्वजनिक यातायात सुधार सुझाव आयोगले तयार पारेको प्रतिवेदनलाई मार्गदर्शक मानेर आगामी कार्यसमितिले काम गर्न आग्रह गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सडक दुर्घटनाबाट दैनिक औसत ८ जनाको ज्यान गइरहेको भन्दै प्रहरीले मात्रै दुर्घटना न्यूनीकरण गर्न नसक्ने भएकाले यस क्षेत्रमा सम्बद्ध सबैको साथ र सहयोग आवश्यक रहेको औँल्याए।

पोखरा महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । नयाँ केन्द्रीय कार्यसमितिका लागि महाधिवेशनमा चुनावी सरगर्मी बढेको छ । केन्द्रीय अध्यक्ष पदमा पुण्यप्रसाद सिटौला (सरोज), हरिशरण केसी (हुस) र केदार क्षेत्रीको नाम चर्चामा छ।

हालका वरिष्ठ उपाध्यक्ष सिटौलाले अनलाइन टिकट, क्यासलेस कारोबार र जीपीएस प्रणालीसहित प्रविधिमैत्री यातायात र बिमा नीति सुधारलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् । अर्का दाबेदार तथा पूर्व कार्यवाहक अध्यक्ष केसीले पेसागत मर्यादा, वैज्ञानिक एवं स्थिर भाडादर र दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राखेका छन्। 

यसैगरी, केदार क्षेत्रीले यातायात महासङ्घको एकीकरण, इन्धनमा अनुदान र यातायातमा हुने लगानीको बैंक ब्याजदर कटौतीलाई आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सारेका छन् । सानुकाजी श्रेष्ठको नाम पनि अध्यक्षको उम्मेदवारका रूपमा चर्चामा छ।

देशभरका ३ सय ८७ वटा संस्थाबाट प्रतिनिधित्व रहेको महाधिवेशनमा १५ सयभन्दा बढी मतदाता सहभागी छन् भने पर्यवेक्षकसहित करिब ४ हजार सहभागी भएका महासङ्घले जनाएको छ। सोमबार बन्दसत्र सञ्चालन हुनेछ भने मङ्गलबार नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुने बताइएको छ । मतदानका लागि ४० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुनेछ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप