त्रिभुवन विमानस्थलको आपत्कालीन सुरक्षा व्यवस्थापनमा गम्भीर प्रश्न, तयारी कागजमा, व्यवहारमा अस्तव्यस्तता
सारांश
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आपतकालीन सुरक्षा व्यवस्थापन र सूचना प्रवाहमा गम्भीर प्रश्न उठेको छ ।
- टर्किस एयरलाइन्सको जहाजमा सामान्य प्राविधिक समस्या हुँदा विमानस्थल प्रशासनको तयारी कागजमा मात्र सीमित रहेको देखियो ।
- विमानस्थलको सुरक्षा प्रणाली र व्यवस्थापकीय कमजोरीले अन्तर्राष्ट्रिय समुदायमा नेपालको हवाई सुरक्षाप्रति अविश्वास बढाएको छ ।
काठमाडौँ । मुलुकको प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणाली र आपत्कालीन व्यवस्थापन पुनः एक पटक प्रश्नको घेरामा तानिएको छ । सोमबार बिहान टर्किस एयरलाइन्सको जहाजमा देखिएको सामान्य प्राविधिक समस्या र त्यसपछि उत्पन्न अन्योलले नेपालको नागरिक उड्डयन क्षेत्रमा रहेको संरचनागत र व्यवस्थापकीय कमजोरीलाई नराम्रोसँग उदाङ्गो पारेको छ ।
यो घटना केवल एउटा जहाजको टायरबाट धुवाँ निस्किएको विषय मात्र नभई सङ्कटका बेला विमानस्थल प्रशासन कसरी अक्षम साबित हुन्छ भन्ने एउटा ताजा उदाहरण बनेको छ ।
इस्तानबुलबाट २७८ यात्रु र ११ चालक दल सहित टर्किस एयरलाइन्सको टीके–७२६ उडान बिहान साढे ६ बजे अवतरण गरेर ट्याक्सी–वे ‘ब्राभो’ हुँदै पार्किङतर्फ मोडिने क्रममा थियो । कन्ट्रोल टावरमा रहेका नियन्त्रकहरूले सोही समयमा जहाजको एउटा टायरबाट धुवाँ निस्किएको देखे ।
उनीहरूले तत्काल पाइलटलाई सचेत गराए । सम्भावित हाइड्रोलिक चुहावट वा आगलागीको जोखिमलाई मध्यनजर गर्दै पाइलटले सम्बन्धित इन्जिनको पावर कट गरे । विमानस्थलको फायर ब्रिगेड घटनास्थलमा पुग्यो र ड्राइ केमिकल पाउडर प्रयोग गरेर धुवाँ नियन्त्रणमा लियो । यात्रुहरूलाई इमर्जेन्सी एक्जिटबाट निकाल्ने तयारी समेत भयो । तर, यसपछिको घटनाक्रम झन् रहस्यमय र अस्तव्यस्त देखियो ।
सूचना व्यवस्थापनमा चरम लापरबाही
कुनै पनि अन्तर्राष्ट्रिय विमानस्थलमा संकट आइपर्दा आधिकारिक सूचना प्रवाह सबैभन्दा महत्त्वपूर्ण पक्ष हुन्छ । तर, सोमबार विमानस्थल प्रशासन पूर्णतः मौन रह्यो । जहाजभित्र रहेका यात्रु र विमानस्थलमा उड्न ठिक्क परेका अन्य सयौँ यात्रुहरू के भइरहेको छ भन्ने भेउ पाउन नसकेर अन्योलमा परे ।
आधिकारिक सूचना अधिकारी वा विमानस्थल प्रमुखले यथार्थ जानकारी दिनुको साटो सञ्चारमाध्यममा उच्च स्रोत र सुरक्षाकर्मीका फरक–फरक भनाइहरू बाहिर आए । कसैले यसलाई सामान्य तातिएको भने त कसैले ठुलै दुर्घटना टरेको दाबी गरे । यसले यात्रुहरूमा त्रास मात्र फैलाएन नेपालको हवाई सुरक्षाप्रति अन्तर्राष्ट्रिय समुदायमा जाने सन्देशलाई समेत धुमिल बनायो ।
विशेषगरी युरोपियन युनियनले नेपाली हवाई सेवालाई वर्षौँदेखि ‘कालोसूची’ मा राखिरहेको सन्दर्भमा यस्ता संवेदनशील घटनामा पारदर्शी सूचनाको अभाव हुनु लज्जास्पद विषय हो । आधिकारिक संयन्त्रले सत्य तथ्य समयमै बाहिर ल्याएको भए न त हल्ला चल्ने थियो, न त यात्रुहरूमा असुरक्षाको भावना पैदा हुने थियो ।
कागजी अभ्यास र फितलो कार्यान्वयन
नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रत्येक वर्ष ठुलो रकम खर्च गरेर विमानस्थलमा ‘इमर्जेन्सी ड्रिल’ वा आपत्कालीन अभ्यास गर्छ । तर, सोमबारको घटनाले ती अभ्यासहरू केवल फोटो खिच्न र रिपोर्ट बनाउनमा मात्र सीमित रहेको देखायो । विमानस्थलभित्र रहेको इमर्जेन्सी अपरेटिङ सेन्टर यस्ता बेला सक्रिय हुनुपर्नेमा त्यसको उपस्थिति कतै देखिएन । केही समयअघि भएको सौर्य एयरलाइन्सको दुर्घटनामा पनि उद्धार टोली हिलो र विमानस्थलभित्रै छरिएका निर्माण सामग्रीका कारण समयमा पुग्न नसकेको कटु सत्य त्यो बेलाको अध्ययन प्रतिवेदनले देखाएको थियो । धावनमार्ग नजिकै रहेका आयोजनाका सामग्रीहरूले उद्धारमा अवरोध पुर्याउनु विमानस्थल प्रशासनको अदूरदर्शिताको पराकाष्ठा हो ।
सुरक्षा संयन्त्रमा छिद्र र विदेशी अविश्वास
विमानस्थलको आन्तरिक सुरक्षा कति कमजोर छ भन्ने कुरा विगतका केही घटनाले प्रस्ट पार्छन् । केही समयअघि भएको जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीहरू अन्यत्र मोडिनेबित्तिकै सर्वसाधारण यात्रुहरू सिधै जहाज पार्किङ गर्ने संवेदनशील क्षेत्रसम्म पुगेका थिए । यो एउटा गम्भीर सुरक्षा चुहावट थियो ।
यही कमजोरीका कारण अहिले पनि भारतीय वायुसेवा (इन्डिगो, एयर इन्डिया आदि) ले नेपालको सुरक्षा जाँचमा विश्वास नगरेर जहाजको ढोकामा पुग्नुअघि पुनः आफ्नै सुरक्षाकर्मीमार्फत यात्रुहरूको जाँच गराउने गरेका छन् । यो नेपालको सुरक्षा प्रणालीमाथि लागेको एउटा ठुलो अन्तर्राष्ट्रिय प्रश्न चिह्न हो ।
सौन्दर्यकरण भर्सेस सुरक्षा
विमानस्थलका उच्च तहका अधिकारीहरूको ध्यान अहिले सुरक्षा र प्रविधिभन्दा पनि बाहिरी चमकधमक र ‘कस्मेटिक’ सुधारमा बढी केन्द्रित देखिन्छ । शौचालय सफा राख्नु र गार्डेन बनाउनु राम्रो कुरा हो, तर एउटा अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो प्राथमिकता हवाई सुरक्षा र चुस्त व्यवस्थापन हुनुपर्छ । विमानस्थललाई केवल आम्दानीको स्रोत र सरसफाइको थलोका रूपमा मात्र हेरिने प्रवृत्तिले प्राविधिक र सुरक्षा पक्ष सधैँ ओझेलमा परिरहेका छन् ।
विमानस्थल भनेको देशको ऐना हो । त्यहाँ हुने सानोभन्दा सानो त्रुटिले मुलुकको छवि र पर्यटन उद्योगमा दीर्घकालीन नकारात्मक असर पार्न सक्छ । सोमबारको टर्किस एयरलाइन्सको घटनाले हामीलाई सचेत गराएको छ- यदि हामीले सूचना व्यवस्थापन, उद्धार तयारी र सुरक्षा प्रणालीलाई आधुनिक र पारदर्शी बनाउन सकेनौँ भने अर्को ठुलो विपत्ति टार्न मुस्किल हुनेछ ।
प्राधिकरणले अब ‘ड्रिल’ मात्र होइन, वास्तविक संकट व्यवस्थापनको क्षमता बढाउनु जरुरी छ । अन्यथा अन्तर्राष्ट्रिय जगतले नेपाली आकाशलाई असुरक्षित मानिरहने र हाम्रा विमानस्थलहरू ‘अस्तव्यस्तताको नमुना’ बनिरहने खतरा सधैँ कायमै रहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियमको गोल वर्षा, न्युजिल्यान्डविरुद्ध ४–१ को फराकिलो अग्रता
-
दोस्रो संस्करणको ‘इन्डियन एम्बेसेडर्स क्रिकेट प्रतियोगिता’ सुरु
-
न्युजिल्यान्डविरुद्ध बेल्जियमको गोलवर्षा
-
धार्मिक आस्था र जैविक विविधताको अनुपम संगम : पार्वती कुण्ड
-
जहाँ प्रकृतिसँग लुकामारी गर्दै संस्कृतिसँग साक्षात्कार गर्न पाइन्छ (तस्बिरहरू)
-
बेल्जियमको अग्रता दोब्बर, ट्रसयार्डको दोस्रो गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण