मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
सुदूरपश्चिमका सीमानाकामा तस्करी

सशस्त्रले छोडेको प्रहरीले समात्ने, प्रहरीले छोडेको सशस्त्रले

सर्वसाधारणलाई सय रुपैयाँको नियममा सास्ती, तस्करलाई भने ‘सेटिङ’मा उन्मुक्ति
मङ्गलबार, २९ वैशाख २०८३, १३ : ००
मङ्गलबार, २९ वैशाख २०८३

सारांश

  • सुदूरपश्चिम प्रदेशका सीमा क्षेत्रबाट हुने तस्करी सुरक्षा निकायका लागि चुनौती बनेको छ।
  • कैलालीको त्रिनगर नाकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको तस्करीको सामान प्रहरीले फिर्ता गरिदिएपछि दुई सुरक्षा निकायबीच विवाद भएको छ।
  • स्थानीय व्यवसायीहरूले नाकामा कडाइभन्दा बढी सेटिङ चल्ने गरेको र तस्करीमा सुरक्षा निकायको मिलेमतो हुने गरेको आरोप लगाएका छन्।

धनगढी । नेपाल र भारतबिचको खुला सिमानाका कारण सुदूरपश्चिम प्रदेशका सीमा क्षेत्रबाट हुने तस्करी सुरक्षा निकायका लागि चुनौतीको विषय बनेको छ। दैनिक रूपमा ठूलो मात्रामा भन्सार छलीका सामान बरामद भइरहे पनि तस्करीको जालो तोडिनुको साटो झन् जेलिँदै गएको देखिन्छ। 

एकातिर सुरक्षा निकायले कडाइ गरेको दाबी गरिरहेका छन् भने अर्कोतिर सुरक्षा संयन्त्रभित्रैको आन्तरिक विवाद र सेटिङका खबरले तस्करी नियन्त्रणमा प्रश्नचिह्न खडा गरेको भन्दै स्थानीयहरू आक्रोशित बनेका छन्।

केही दिनअघि कैलालीको त्रिनगर नाकामा घटेको एउटा प्रतिनिधि घटनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबिचको समन्वय अभावलाई छताछुल्ल पारेको छ। भारतबाट लुकिछिपी करिब ४० हजार रुपैयाँ बराबरको कपडा भन्सार छलेर ल्याउँदै गरेकी एक महिलालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो। 

तर, ती महिला भागेर नजिकैको त्रिनगर प्रहरी चौकी पुगेपछि स्थिति तनावपूर्ण बन्यो। सशस्त्र प्रहरीले सामान बरामद गर्न आग्रह गरे पनि नेपाल प्रहरीले असहयोग गरेपछि दुवै सुरक्षा निकायबिच विवाद उत्पन्न भएको थियो।

विवादका बिच सशस्त्र प्रहरीले उक्त सामान प्रहरी चौकीमै छाडेर फर्किएको थियो। तर, प्रहरी चौकीमा राखिएको उक्त सामान भोलिपल्टै सम्बन्धित महिलालाई फिर्ता गरिएको खुलेको छ। फिर्ता गरिएको सामान पुनः धनगढी चौराहातिर लैजाँदै गर्दा सशस्त्र प्रहरीको अर्को चेकपोस्टले फेरि बरामद गरेको थियो। 

यो घटनाले त्रिनगर प्रहरी चौकीका इन्चार्ज एवं प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) रामसिंह बोहराको कार्यशैलीलाई विवादमा तानेको छ। प्रहरीले नै बरामद सामान फिर्ता गरिदिनुले तस्करीमा सेटिङ हुने गरेको व्यवसायीहरूको आरोपलाई थप बल पुर्‍याएको छ।

स्थानीय व्यवसायीहरूका अनुसार सरकारले स्थलमार्गबाट एक सय रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने नियम कडाइका साथ लागू गरेपछि तस्करी झन् बढेको छ।

‘नाकामा कडाइभन्दा पनि सेटिङ बढी चल्छ,’ धनगढीका एक व्यवसायीले भने, ‘प्रहरीले छोडेको सामान सशस्त्रले समात्ने र सशस्त्रले छोडेको प्रहरीले समात्ने जस्तो नाटक भइरहेको छ। सेटिङ मिलाउन सके दुवै निकायबाट सहजै उन्मुक्ति पाइने अवस्था छ।’

कञ्चनपुरको पुनर्वासका स्थानीय बासिन्दा रामहरि चौधरी पनि सीमाको अवस्था देखेर चिन्तित छन्।

‘भन्सार नाकाबाट अवैध रूपमा सामान भित्र्याउनेहरूको लर्को देखिन्छ। उनीहरूमा सुरक्षाकर्मीको कुनै डर छैन। सामान्य सर्वसाधारणलाई कडाइ गरिन्छ तर व्यावसायिक रूपमा तस्करी गर्ने समूहलाई रोकतोक छैन,’ उनले भने।

यस विषयमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसपी सागर बोहराले तस्करी नियन्त्रणमा प्रहरी सधैँ प्रतिबद्ध रहेको बताएका छन्।

‘त्यो घटनाका सम्बन्धमा आवश्यक छानबिन र प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालयलाई जिम्मा दिइएको छ। प्रहरीले आफ्नो काम सधैँ इमानदारीपूर्वक गरिरहेको छ। कहिलेकाहीँ यस्ता प्राविधिक वा समन्वयका समस्या देखिए पनि अवैध सामान ल्याउनेलाई हामी कदापि छोड्दैनौँ। अवैध सामान बरामद गर्ने र कानुनी कारबाही गर्ने प्रक्रिया निरन्तर जारी छ,’ उनले भने।

सीमानाकामा खटिएका सुरक्षाकर्मीका अनुसार कैलाली र कञ्चनपुरका नाकाबाट भन्सार छली गरेर सामान ल्याउने कार्यमा धेरैजसो महिलाहरूको प्रयोग हुने गरेको छ। उनीहरूले नै सामान नेपाली बजार र पसलसम्म पुर्‍याउने गरेका छन्। सीमा सुरक्षा गुल्म त्रिनगरको तथ्याङ्कले पनि तस्करीको भयावह चित्र देखाउँछ। गुल्मका अनुसार गत वैशाख महिनामा मात्रै करिब ३० लाख रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरिएको छ।

सरकारले बाहिरबाट आयात हुने वस्तुमा अनिवार्य खुद्रा मूल्य (एमआरपी) घोषणा गर्नुपर्ने नियम ल्याएपछि केही समय भन्सार जाँचपास प्रभावित भएको थियो। जसका कारण चोरी नाकाबाट तस्करी बढेको व्यवसायीहरूको दाबी छ। 

हाल सरकारले एमआरपी घोषणाकै आधारमा जाँचपासमा केही लचकता अपनाए पनि तस्करीको शृङ्खला भने रोकिन सकेको छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप