पुँजी बजारमा सीमित व्यक्तिको कब्जा र अर्बौँको दुरुपयोग भयो : अर्थमन्त्री
सारांश
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केही सीमित समूहले पुँजी बजारमा चलखेल, इन्साइडर ट्रेडिङ र जनताको १५-१६ अर्ब रुपैयाँ दुरुपयोग गरेर अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाएका छन्।
- उनले यस्ता समूहले आर्थिक लाभ मात्र नभई राजनीतिक संस्थामाथि समेत प्रभाव जमाउने प्रयास गरेको दाबी गरेका हुन्।
- सरकारले अब नेपालको पुँजी बजारलाई व्यावसायिक, पारदर्शी र विश्वस्तरीय मापदण्डअनुसार विकास गर्ने लक्ष्य लिएको छ।
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केही सीमित समूहले पुँजी बजारमा चलखेल, इन्साइडर ट्रेडिङ र जनताको १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरेर अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाएका छन्।
मंगलबार अर्थ समिति बैठकमा बोल्दै उनले यस्ता समूहले आर्थिक लाभ मात्र नभई राजनीतिक संस्थामाथि समेत प्रभाव जमाउने प्रयास गरेको दाबी गरेका हुन्।
विगत केही वर्षमा वित्तीय तथा आर्थिक संस्थाहरू निश्चित व्यक्तिहरूको कब्जामा गएको कटु यथार्थलाई स्वीकार गर्नुपर्ने अवस्था रहेको अर्थमन्त्री वाग्लेले उल्लेख गरे। केही समूहले बजारमा कृत्रिम प्रभाव सिर्जना गरेर राजनीतिक नेतृत्वलाई समेत प्रभावित पार्ने अवस्था सिर्जना भएको उनको टिप्पणी छ। सरकारले अब नेपालको पुँजी बजारलाई व्यावसायिक, पारदर्शी र विश्वस्तरीय मापदण्डअनुसार विकास गर्ने लक्ष्य लिएको उनले स्पष्ट पारे।
बैठकमा अर्थमन्त्री वाग्लेले भने, ‘स्टक एक्सचेन्जको पुनः संरचनाको लागि गठन गरिएको एउटा समितिले जुन प्रतिवेदन दिएको छ, त्यसलाई हामी कार्यान्वयन गछौं। हिजो पनि स्टक मार्केट, पुँजी बजार बारे एकदमै उदार नीतिहरू घोषणा गरिएको छ राष्ट्रपति मार्फत र यसलाई बजेटमा हामी थप आकार दिन्छौँ। यसलाई हामी प्रोफेसनलाइज गरेर एउटा विश्वस्तरीय क्यापिटल मार्केटको मापदण्डलाई पछ्याउने गरेर नै अगाडि जाने हो। तर विगत केही वर्षमा यी संस्थाहरू केही व्यक्तिहरूको कब्जामा गएको यथार्थलाई पनि हामीले स्वीकार गर्नुपर्दछ। १५ अर्ब, १६ अर्बको जनताको पैसाको अपचलन गरेर मार्केट म्यानिपुलेसन, इन्साइडर ट्रेडिङ गरेर अकुत सम्पती जम्मा गरेर राजनीतिलाई प्रभावित गरेर केही प्रभावशाली नेताहरूलाई त उनीहरूको गोजीमै राखेर देशका राजनीतिक संस्थाहरू त कब्जामा भए भए आर्थिक संस्थाहरू पनि कब्जा गरेको एउटा असाध्यै कटु यथार्थ थियो। जेन–जी आन्दोलनलाई हामीले धन्यवाद दिनैपर्छ। त्यो हस्तक्षेप नभएको भए हामी साच्चिकै भड्खालोमा जाकिने क्रममा रहेछौँ र अहिले मुलुकले नयाँ कोर्समा गएको छ।’
सरकारले स्टक एक्सचेन्ज पुनःसंरचनाका लागि प्राप्त प्रतिवेदन कार्यान्वयन गर्दै पुँजी बजारमा व्यापक सुधारको तयारी गरिरहेको उनले जानकारी दिए। सरकारले सुशासनलाई केन्द्रमा राखेर अघि बढिरहेको बताउँदै अर्थमन्त्रीले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै पहिलो वर्ष सुशासनको बलियो जग निर्माणमा केन्द्रित हुने र त्यसपछि विकास निर्माणका कामहरू स्वतः स्वचालित ढङ्गले अगाडि बढ्ने धारणा व्यक्त गरे।
उनले जेनजी आन्दोलनले मुलुकलाई गलत दिशामा जानबाट जोगाएको र अहिले सुशासनलाई ठूलो प्राथमिकताका साथ अगाडि बढाइएको उल्लेख गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण