शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

क्यालिफोर्नियाकी पूर्वमेयरले गरिन् चीनका लागि अवैध एजेन्ट बनेको स्वीकार

मङ्गलबार, २९ वैशाख २०८३, १५ : २०
मङ्गलबार, २९ वैशाख २०८३

सारांश

  • क्यालिफोर्नियाकी पूर्वमेयर इलीन वाङले चीनका लागि अवैध एजेन्टको रूपमा काम गरेको स्वीकार गरेकी छन् ।
  • वाङले अमेरिकाको न्याय विभागसमक्ष विदेशी सरकारको प्रतिनिधि बनेर काम गरेको आरोप स्वीकार गरेकी हुन् ।
  • उनले सञ्चालन गरेको वेबसाइटले चिनियाँ अमेरिकी समुदायलाई लक्षित गरी समाचार दिने गरेको थियो ।

वाशिङटन डीसी । क्यालिफोर्नियाकी एक पूर्वमेयरले चीनका लागि अवैध एजेन्टको रूपमा काम गरेको स्वीकार गरेकी छन् ।

अमेरिकी अधिकारीहरूका अनुसार लस एञ्जलसको उपसहर आर्काडियाकी पूर्वमेयर इलीन वाङले अमेरिकी सरकारलाई जानकारी नदिई चीनको पक्षमा प्रचारात्मक गतिविधि सञ्चालन गरेकी थिइन् । उनी अमेरिकाको न्याय विभागसमक्ष दोष स्वीकार गर्ने सहमतिमा पुगेकी हुन् । सन २०२० को अन्त्यदेखि २०२२ सम्म अवैध रूपमा विदेशी सरकारको प्रतिनिधि बनेर काम गरेको आरोप वाङले स्वीकार गरेकी छन् ।

अभियोजनकर्ताहरूका अनुसार वाङले 'यूएस न्यूज सेन्टर' नामक वेबसाइट सञ्चालन गरेकी थिइन्, जसले चिनियाँ अमेरिकी समुदायलाई लक्षित गरेर समाचार दिने गरेको थियो । यो वेबसाइट वाङ र उनले याओनिङ सनसँग मिलेर सञ्चालन गरेकी थिइन् । यस मामिलामा विदेशी सरकारका लागि अवैध एजेन्ट बनेको अभियोगमा सनलाई चार वर्षको जेल सजाय सुनाइएको छ ।

अमेरिकी न्याय विभागका अनुसार वाङले चीन सरकारले लेखेको एउटा लेख पुनः प्रकाशित गरेकी थिइन्, जसमा शिनजियाङ क्षेत्रमा उइघुर समुदायमाथि नरसंहार गरेको आरोप अस्वीकार गरिएको थियो । वाङले सोमबार मेयर पदबाट राजीनामा दिएकी छन् । दोषी ठहर भएमा उनले अधिकतम १० वर्षसम्म जेल सजाय पाउनेछिन् । कि वाङले आफ्नो व्यक्तिगत जीवनमा गल्ती स्वीकार गरेको तर यो गतिविधि सार्वजनिक पदसँग सम्बन्धित नभएको दाबी उनका वकिलहरू ब्रायन ए सन र जेसन लियाङले भनेका छन् । 

अमेरिकी राष्ट्रिय सुरक्षा सहायक महान्यायाधिवक्ता जोन ए आइजेनबर्गले निर्वाचित अधिकारीहरूले केवल आफ्ना नागरिकको हितमा काम गर्नुपर्ने बताउँदै कुनै विदेशी सरकारसँगको लुकाइएको सम्बन्ध गम्भीर विषय भएको टिप्पणी गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै हप्ता बेइजिङमा चिनियाँ समकक्षी सी चिनपिङसँग भेट गर्न तयारी गरिरहेको समयमा यो खबर आएको हो । भेटमा ट्रम्प र सीले व्यापार, ताइवान र अन्य अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल हुने अपेक्षा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप