शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै

बिहीबार, ०४ असार २०८३, २३ : ५२
बिहीबार, ०४ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'ए' को खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
  • खेलको छैटौँ मिनेटमा मिखाल सादिलेले गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाए पनि ८३औँ मिनेटमा तेबोहो मोकोएनाले पेनाल्टीमा गोल गर्दै दक्षिण अफ्रिकालाई बराबरीमा ल्याए।
  • यो बराबरीले दुवै टोलीको नकआउट चरणमा पुग्ने गणितीय सम्भावना कायमै राखेको छ।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । एटलान्टा स्टेडियममा बिहीबार नेपाली समय अनुसार राति ९ः४५ मा सुरु भएको रोमाञ्चक भिडन्तमा दुवै टोलीले विश्वकपमा आफ्नो पहिलो अंक जोड्न सफल भएका हुन् ।

यसअघि पहिलो खेलमा चेक रिपब्लिक दक्षिण कोरियासँग २–१ गोलअन्तरले पराजित भएको थियो भने दक्षिण अफ्रिका पनि आयोजक मेक्सिकोसँग २–० ले स्तब्ध भएको थियो । अंक विहीन रहेका यी दुवै टोलीका लागि आजको खेल अस्तित्व जोगाउने लडाईं जस्तै थियो ।

खेलको छौटौँ मिनेटमै मिखाल सादिलेकले गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका थिए । चेक टोलीले लामो समयसम्म उक्त अग्रतालाई जोगाउन सफल भए पनि खेलको अन्त्यतिर दक्षिण अफ्रिका खेलमा फर्कियो । ८३औँ मिनेटमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै मिडफिल्डर तेबोहो मोकोएनाले गोल गरेपछि खेल १–१ को बराबरीमा सकिएको हो ।

बराबरीको राहत मिले पनि दक्षिण अफ्रिकाका लागि म्बाथाको निलम्बन भने चिन्ताको विषय बनेको छ । चेक स्ट्राइकर प्याट्रिक शिकमाथि फाउल गरेपछि पहेँलो कार्ड पाएका उनले लगातार दुई खेलमा कार्ड पाएका कारण अब आगामी बिहीबार दक्षिण कोरिया विरुद्ध हुने अन्तिम समूह खेल गुमाउनेछन् ।

यो बराबरीसँगै दुवै टोलीको खातामा समान १–१ अंक भएको छ । अंक तालिकामा खाता खोलेसँगै दुवै टोलीको नकआउट ९अघिल्लो० चरण प्रवेश गर्ने गणितीय सम्भावना अझै जीवितै रहेको छ ।
अब समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकले मेक्सिकोको सामना गर्नेछ भने दक्षिण अफ्रिकाले दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्नेछ । अघिल्लो चरणमा पुग्न दुवै टोलीलाई आ–आफ्नो अन्तिम खेल जित्नै पर्ने दबाब छ भने अन्य खेलको नतिजाले पनि उनीहरूको भविष्य तय गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप