मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

के बेलायतले कोल्टे फेर्दैछ ?

आइतबार, ०३ जेठ २०८३, १३ : ४०
आइतबार, ०३ जेठ २०८३

सारांश

  • बेलायतको राजनीतिमा विभाजन, भावनात्मक बहस र राजनीतिक निराशा बढेको छ ।
  • आप्रवासन, सीमा नियन्त्रण, घरको अभाव र राष्ट्रिय पहिचान जस्ता मुद्दाहरूले वर्तमान राजनीतिक बहसलाई केन्द्रित गरेका छन् ।
  • सामाजिक सञ्जाल र भाइरल सामग्रीले राजनीतिलाई प्रभावित पारेको छ, जसले गर्दा लोकतन्त्रको भविष्यमाथि प्रश्न उठेको छ ।

यदि कसैले मलाई अहिलेको बेलायती राजनीतिक अवस्थालाई तीन शब्दमा वर्णन गर्न भन्यो भने, म ‘पोलाराइजेशन, रेटोरिक र एलियनेशन’ भन्ने थिएँ । यी तीन शब्दहरूले अहिलेको बढ्दो विभाजन, भावनात्मक राजनीति र मानिसहरूबिच बढ्दो राजनीतिक निराशालाई झल्काउँछन् ।

धेरै वर्षसम्म बेलायतको राजनीति दुई मुख्य दलले चलाएका थिए । तर अहिले धेरै मानिस ती दुवै दलसँग निराश छन् । यसै कारण नयाँ राजनीतिक दलहरूप्रति समर्थन बढिरहेको छ । धेरै मानिस सबै नीतिसँग सहमत नभए पनि पुराना दलहरूबाट दिक्क भएर नयाँ विकल्पतर्फ गइरहेका छन् ।

यो चुनाव धेरै हदसम्म आप्रवासन र सीमा नियन्त्रणमा केन्द्रित देखियो । अवैध रूपमा देश प्रवेश गर्ने समस्या, घरको अभाव, सार्वजनिक सेवामाथिको दबाब र राष्ट्रिय पहिचान अहिले मुख्य राजनीतिक मुद्दा बनेका छन् । केही अनुमानअनुसार बेलायतमा आप्रवासी जनसंख्या अहिले १७–२० प्रतिशत नजिक पुगेको हुन सक्छ ।

आजको राजनीति सामाजिक सञ्जाल, भाइरल सामग्री, भावनात्मक बहस र तथ्यांकको चयनात्मक प्रयोगबाट धेरै प्रभावित भइरहेको छ । मानिसहरूको आप्रवासन, धर्म, अपराध र राष्ट्रिय पहिचानसम्बन्धी धारणा पनि मिडिया र सामाजिक सञ्जालबाट धेरै प्रभावित भइरहेको छ । एउटै तथ्यांकलाई फरक–फरक तरिकाले प्रस्तुत गरेर फरक राजनीतिक कथा निर्माण गरिन्छ ।

कतिपय अवसरवादी राजनीतिक दलहरू पनि यही असन्तुष्टि, डर र विभाजनको लहरमा सवार भएर आफ्नो समर्थन बढाइरहेका छन् । अङ्ग्रेजीमा भनेजस्तो, ‘राइडिङ द वेभ’ । जनताको वास्तविक चिन्ता समाधान गर्ने भन्दा पनि त्यसैलाई राजनीतिक फाइदाका लागि प्रयोग गर्न सबै लागे जस्तो देखिन्छ । 

तर, ‘रिफर्म युके’ को उदयलाई केवल जातीय घृणा वा अज्ञानताका रूपमा हेर्नु पनि धेरै सरल र खतरनाक निष्कर्ष हुन सक्छ । बेलायतका धेरै ठाउँहरूमा सबैभन्दा बढी देखिने भावना घृणा मात्र होइन, बरु थकान, निराशा र व्यवस्थाप्रतिको बढ्दो रिस हो । धेरै मानिसलाई वर्षौँदेखि मुख्य दलहरूले आफ्ना समस्या नसुनेको, परिवर्तनको वाचा मात्रै गरेको तर वास्तविक परिवर्तन नगरेको महसुस भइरहेको छ ।

कतिपय मानिसहरूको मत आप्रवासन वा सांस्कृतिक चिन्ताबाट प्रभावित हुन सक्छ, तर धेरैका लागि यो पुरानो राजनीतिक व्यवस्थाविरुद्धको विरोध पनि हो । उनीहरूलाई राजनीति धेरै टाढिएको, बन्द ढोकाजस्तो र केवल भाषणमा सीमित भएको महसुस भइरहेको छ । यही खाली ठाउँमा नयाँ दलहरूले प्रवेश गरेका छन् ।

तर प्रतिनिधित्वले वास्तविकता मेटाउँदैन । हामीमध्ये केहीले दशकौँसम्म जातीय भेदभाव, हिंसा, बहिष्कार र शंकाको वातावरण भोगेका छौँ । राजनीतिक भाषाशैलीले घृणा र विभाजनलाई कति छिटो सामान्य बनाउन सक्छ भन्ने हामीलाई राम्रोसँग थाहा छ ।

र, हो– म नियन्त्रण गरिएको आप्रवासन, सुरक्षित सडक, बलियो सीमा नियन्त्रण र राम्रो सार्वजनिक सेवा चाहन्छु । तर म यो पनि चाहन्छु कि मेरा छोराछोरीले यस्तो बेलायतमा हुर्किन पाउन्, जहाँ उनीहरूलाई छालाको रङका कारण दोस्रो दर्जाको नागरिकको व्यवहार नगरियोस् । यो विवादास्पद कुरा हुनु हुँदैन ।

अन्ततः बेलायतको मुख्य चुनौती केवल आप्रवासन वा पार्टी राजनीति मात्र होइन । मुख्य प्रश्न भनेको ध्रुवीकरण, गलत सूचना र बढ्दो अविश्वासको समयमा लोकतन्त्र कसरी काम गर्छ भन्ने हो ।

के वास्तवमै केही परिवर्तन हुनेछ ? कोही साँच्चिकै अगाडि आएर जिम्मेवारी लिनेछ ? यी प्रश्नहरू अहिले झन् गम्भीर बन्दै गएका छन् । किनकि धेरै मानिसहरूका लागि पहिलो प्रश्नको उत्तर त लगभग स्पष्ट भइसकेको छ– जबसम्म कुनै वास्तविक परिवर्तन हुँदैन, समाज तरंगित नै रहन्छ ।

(लेखक बेलायतको लण्डन निवासी हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुधीर गौतम
सुधीर गौतम
लेखकबाट थप