सरकार विधिको शासनभन्दा व्यक्तिको शासनतर्फ उन्मुख भयो : नैनसिंह महर
सारांश
- नेपाली कांग्रेसका नेता नैनसिंह महरले सरकारका पछिल्ला गतिविधि लोकतान्त्रिक मूल्य, संवैधानिक मर्यादा र विधिको शासन विपरीत उन्मुख भएको आरोप लगाएका छन् ।
- उनले सरकारद्वारा गठन गरिएको सम्पत्ति छानबिन आयोगको कार्यादेश नै पूर्वाग्रही र चयनात्मक प्रकृतिको देखिएको टिप्पणी गरे ।
- महरले लोकतान्त्रिक प्रणालीको आत्मा विधिको शासन, संस्थागत मर्यादा र नागरिक स्वतन्त्रतामा आधारित हुने उल्लेख गर्दै सरकार लोकतान्त्रिक चरित्रबाट विचलित हुन नहुने चेतावनी दिए ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले सरकारका पछिल्ला गतिविधि लोकतान्त्रिक मूल्य, संवैधानिक मर्यादा र विधिको शासन विपरीत उन्मुख भएको आरोप लगाएका छन् ।
स्कुल अफ डेमोक्रेसीले काठमाडौँमा आयोजना गरेको ‘लोकतन्त्रमा विधिको शासन ’ विषयक विमर्शमा महरले सरकारद्वारा गठन गरिएको सम्पत्ति छानबिन आयोगको कार्यादेश नै पूर्वाग्रही र चयनात्मक प्रकृतिको देखिएको टिप्पणी गरे ।
उनले आयोगलाई निष्पक्ष अनुसन्धानको माध्यमभन्दा पनि सरकारसँग असहमति राख्न सक्ने व्यक्ति, राजनीतिक शक्ति वा आलोचकलाई लक्षित गर्दै ‘ठेगान लगाउने’ उपकरणका रूपमा प्रयोग गर्न खोजिएको आशङ्का व्यक्त गरे ।
‘लोकतन्त्रमा कानुन कसैको पक्ष वा विपक्षमा उभिनु हुँदैन । राज्य संयन्त्र प्रतिशोध साँध्ने माध्यम बन्न थाल्यो भने त्यो विधिको शासन होइन, व्यक्तिको शासनतर्फको खतरनाक सङ्केत हो,’ महरले भने ।
उनले भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शिताका नाममा गरिने हरेक कदम निष्पक्ष, विश्वसनीय र समान हुनुपर्ने उल्लेख गर्दै सम्पत्ति छानबिनको दायरा सत्ता, प्रतिपक्ष, कर्मचारीतन्त्र तथा सार्वजनिक जीवनमा रहेका सबै व्यक्तिमा समान रूपमा लागू हुनुपर्ने धारणा राखे ।
‘लोकतन्त्रमा कसैलाई बचाउने र कसैलाई मात्रै निशाना बनाउने प्रवृत्ति स्वीकार्य हुँदैन । कानुनको समान प्रयोग नै लोकतन्त्रको आधार हो । यदि राज्यका निर्णयहरू आग्रह, पूर्वाग्रह र राजनीतिक प्रतिशोधबाट निर्देशित हुन्छन् भने त्यसले लोकतन्त्रप्रति जनविश्वास कमजोर बनाउँछ,’ उनले भने ।
महरले लोकतान्त्रिक प्रणालीको आत्मा विधिको शासन, संस्थागत मर्यादा र नागरिक स्वतन्त्रतामा आधारित हुने उल्लेख गर्दै सरकार लोकतान्त्रिक चरित्रबाट विचलित हुन नहुने चेतावनी दिए ।
‘हामीले त २०१७ सालदेखि सार्वजनिक पदमा बसेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्छ भन्ने आवाज निरन्तर उठाउँदै आएका हौँ । तर त्यसको निष्पक्ष कार्यान्वयन हुन सकेको छैन,’ महरले भने ।
उनले राज्यका सबै निकाय संविधान र कानुनको सीमाभित्र रहेर निष्पक्ष ढङ्गले सञ्चालन हुनुपर्नेमा जोड दिँदै लोकतान्त्रिक मूल्यको रक्षा गर्नु आजको प्रमुख राष्ट्रिय आवश्यकता भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण