बस्तीमा डोजर चलाउने कार्य तत्काल रोक्न सरकारलाई सुकुमबासीको चेतावनी
सारांश
- भूमिहीन तथा सुकुमबासी समुदायले बस्तीमा डोजर चलाउने कार्य तत्काल रोक्न सरकारलाई कडा चेतावनी दिएका छन् ।
- सुकुमबासी अगुवाहरूले नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न राज्यलाई आग्रह गरे ।
- सुकुमबासीहरूले समस्या समाधान नगरी हटाउन खोजिए देशभर आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
बुटवल । भूमिहीन तथा सुकुमबासी समुदायले बस्तीमा डोजर चलाउने कार्य तत्काल रोक्न सरकारलाई कडा चेतावनी दिएका छन् ।
समस्या समाधान नगरी जबर्जस्ती हटाउन खोजिए देशभर आन्दोलन चर्काउने उनीहरूको भनाइ छ ।
_OMRKI24ASq.jpg)
बुटवलमा आयोजित सुकुमबासीको प्रदर्शनपछि कोणसभामा बोल्दै सुकुमबासी अगुवाहरूले नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न राज्यलाई आग्रह गरे । बागमती प्रदेशबाट सहभागी लिजा राईले ‘जनता रहे सरकार रहने’ भन्दै सुकुमबासीका समस्या समाधान गर्न ढिलाइ गर्न नहुने बताए । उनका अनुसार देशका लाखौँ नागरिक अझै भूमि समस्याबाट पीडित छन् र निमुखा वर्गमाथि अन्याय भइरहेको छ ।
सुकुमबासी अभियान्ता राजु शाहीले गरिब जनताको भोटबाट सरकार बनेको स्मरण गराउँदै यस्तै गतिविधि जारी रहे देशभर आन्दोलन चर्किने चेतावनी दिए । उनले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत विषयमा ध्यान नदिई सुकुमबासीलाई एकै ठाउँमा राख्ने कार्य मानव अधिकारविपरीत भएको टिप्पणी गरे ।
_K2bVg3EA5m.jpg)
सुकुमबासी सङ्घर्ष समिति रुपन्देहीका संयोजक खगेन्द्रप्रसाद पौडेलले दीर्घकालीन योजना बिना बस्तीमा डोजर चलाउँदा देशभर त्रास सिर्जना भएको बताए । राज्यले आफ्नै नागरिकमाथि गैरनागरिकजस्तो व्यवहार गरेको आरोप लगाउँदै उनले कडा आन्दोलन गर्ने चेतावनी दिए ।
सङ्घर्ष समिति सल्लाहकार वीरेन्द्र विकले २०२८ सालदेखि बसोबास गर्दै आएका बस्तीलाई समेत राज्यले वैधानिकता दिन नसकेको उल्लेख गरे । “अहिले घर भत्काउने होइन, महँगी नियन्त्रण र रोजगारी सिर्जना गर्ने समय हो,” उनले भने । बलपूर्वक बस्ती हटाउन खोजिए प्रतिरोध गरिने र रुपन्देहीमा डोजर चलाइए जिल्लाभरका सुकुमबासी एकजुट हुने चेतावनी समेत उनले दिए ।
_LgGqL02xvv.jpg)
बुटवलका सुकुमबासी अगुवा नरेन्द्र दर्जीले वर्षौँदेखि बसोबास गर्दै आएका नागरिकले अझै लालपुर्जा नपाउनु राज्यको कमजोरी भएको बताए । कर तिरे पनि जग्गाधनी प्रमाण नपाएको भन्दै उनले गुनासो गरे ।
आज बुटवल आसपासका सुकुमबासीहरू प्रदर्शनमा उत्रिएका थिए भने विभिन्न जिल्लाबाट प्रतिनिधिहरू सहभागी भएका छन् । खासगरी तराईका २२ जिल्लाबाट आएका प्रतिनिधिसहित बुटवलमा सम्मेलन समेत आयोजना गरिएको जनाइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण