लाल्टिन बाल्ने रे, अब हाँसौं कि रोऔँ ? : सांसद न्यौपाने
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले नेपाल बार एशोसिएशनले सुरु गरेको लाल्टिन बाल्ने आन्दोलनको औचित्यमाथि प्रश्न उठाएका छन् ।
- सांसद न्यौपानेले बारले नवोदित कानुन व्यवसायीका पीडा र गरिब असहायले न्याय नपाउँदा मौन बसेको आरोप लगाएका छन् ।
- उनले बारलाई लाल्टिनलाई राजनीतिक औजार नबनाई वास्तविक समस्यामा ध्यान दिन आग्रह गरेका छन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले नेपाल बार एशोसिएशनले सुरु गरेको लाल्टिन बाल्ने आन्दोलनप्रति तीव्र असन्तुष्टि जनाउँदै व्यङ्ग्य गरेका छन् ।
सामाजिक सञ्जालमा एक पोस्ट साझा गर्दै उनले बारको वर्तमान कार्यशैली र आन्दोलनको औचित्यमाथि गम्भीर प्रश्न उठाएका हुन् ।
नवोदित कानुन व्यवसायीका पीडा देख्दा आँखा चिम्लिने र गरिब असहायले न्याय नपाउँदा कानमा तेल हालेर बस्ने बार आज अचानक लाल्टिन बोकेर न्याय बचाउन निस्किएको देख्दा अचम्म लागेको उनले बताएका छन् । न्याय सम्पादनमा विचलन आउँदा मौन व्रत बस्ने, विवादास्पद फैसला आउँदा जिब्रो टोक्ने र भ्रष्टाचारका मुद्दा तामेलीमा जाँदा निद्रामा पर्ने बारको नेतृत्वप्रति उनले आक्रोश पोखेका छन् ।
सांसद न्यौपानेले राजनीतिक कोटामा न्यायाधीश भर्ती हुँदा सबै ठीक छ भन्ने, कर्मचारीले राजनीति गर्दा चुप लाग्ने र भनसुन तथा पहुँचका भरमा फैसला भएको गाइँगुइँ चल्दा समेत घाँटी सफा नगर्ने बारले अहिले आएर नाटक गरिरहेको आरोप लगाएका छन् । गरिब वकिलको स्वास्थ्य बिमाको कुरा उठ्दा बाटो बदल्ने नेतृत्वले अहिले देखाएको शैलीलाई उनले घर जलिसकेपछि धुवाँ देखेर बाल्टिन बोकी हिरो बन्न निस्किएको संज्ञा दिएका छन् ।
सामाजिक अभियन्ता बन्ने दाबी गर्ने तर समाजका घाउमा कहिल्यै मल्हम नलगाउने तथा न्यायको पहरेदार भन्दै अन्यायको चिच्याहट सुन्नेबित्तिकै मोबाइल साइलेन्टमा राख्नेहरूले आज एकाएक लाल्टिन बोक्दै क्रान्तिको अभिनय गरिरहेको टिप्पणी उनले गरेका छन् ।
लाल्टिन नै बाल्ने मन भए गरिबले न्याय नपाएको मुद्दामा, ढिलो न्याय भएर मानिसको जीवन सकिएको ठाउँमा र गलत फैसला भएर परिवार उजाडिएको ठाउँमा बाल्न उनले बारलाई चुनौती दिएका छन् । गलत निर्णय गर्नेको जिम्मेवारी नतोकिएको क्षेत्रमा र न्याय खोज्दा नागरिकका जुत्ता च्यातिने तर पहुँचवालाको फाइल लिफ्ट चढेर माथि पुग्ने प्रणालीमा लाल्टिन बाल्न आवश्यक रहेको न्यौपानेले उल्लेख गरेका छन् ।
यसो नगरे भोलि जनताले यो न्यायको लाल्टिन नभएर राजनीतिक हावा चल्नासाथ त्यतैको ब्याट्री हालेर बल्ने अवसरको टर्च रहेको भन्ने अवस्था आउने चेतावनी उनले दिएका छन् ।
न्यायपालिकालाई सुधार गर्ने हो भने पुनर्संरचना र संस्थागत परिवर्तनको कुरा गर्नुपर्ने तथा नागरिकले छिटो र सुलभ न्याय पाउने व्यवस्था खोज्नुपर्नेमा उनले जोड दिएका छन् । लाल्टिनलाई राजनीति गर्ने औजार नबनाउन आग्रह गर्दै न्यौपानेले आजको प्रतिनिधि सभामा न्यायालयको माया गर्ने, स्वतन्त्र न्यायपालिका स्थापित गर्ने इच्छाशक्ति राख्ने र न्यायपालिकाको शिर उचो राख्नका लागि खबरदारी गर्ने कानुन व्यवसायीहरू पनि छन् भन्ने कुरा नलगाउन सचेत गराएका छन् ।
जनताले अब साँचो उज्यालो खोजेको र उज्यालोको नाटक मात्र स्वीकार नगर्ने उनले जिकिर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण