बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

तुलसी घिमिरेलाई दीर्घ साधना सम्मान र चाम्सलाई कलात्मक सम्मान

मङ्गलबार, ०५ जेठ २०८३, १४ : २७
मङ्गलबार, ०५ जेठ २०८३

सारांश

  • वरिष्ठ निर्देशक तुलसी घिमिरेलाई चलचित्र निर्देशक समाजले 'दीर्घ साधना सम्मान २०८२' बाट सम्मानित गरेको छ ।
  • कार्यक्रममा निर्देशक मिलन चाम्सलाई 'वर्ष निर्देशक कलात्मक २०८१' पुरस्कार फिल्म 'अन्जिला'का लागि प्रदान गरियो ।
  • चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले कान्स फिल्म फेस्टिभलमा नेपालको सहभागिता र पोस्टर विवादबारे स्पष्टीकरण दिँदै अन्तर्राष्ट्रिय प्रवर्द्धनमा जोड दिए ।

काठमाडौं । वरिष्ठ निर्देशक तुलसी घिमिरे ‘दीर्घ साधना सम्मान २०८२’ बाट सम्मानित भएका छन् ।

मंगलबार चलचित्र निर्देशक समाजले आफ्नो १८औँ वार्षिक उत्सवको अवसरमा आयोजना गरेको ‘श्रष्टा सर्जक अभिनन्दन’ समारोहमा उनलाई यो सम्मान दिइएको हो । चलचित्र निर्देशक समाजका संस्थापक अध्यक्ष युवराज लामा, चलचित्र विकास बोडका अध्यक्ष दिनेश डिसी लगायतले घिमिरेलाई नगदसहित फूलमाला, खादा र सम्मान पत्रले सम्मान गरे ।

निर्देशक घिमिरेले बाँँसुरी, बलिदान, चिनो, लाहुरे, दक्षिणा, कुसुमे रुमाल, देउता, दपर्णछायालगायत एकसेएक हिट फिलम दिएका छन् । केही दिनअघि उनी निर्देशित ‘पहाड’ फिल्म रिलिज भएको थियो । 

त्यस्तै, कार्यक्रममा ‘हीरासिंह खत्री स्मृित सम्मान २०८२’ निर्देशक किरण खरेल, ‘वर्ष निर्देशक व्यावसायिक फिल्म २०८१ सम्मान’ सरोज पौडेलले प्राप्त गरे । पौडेललाई यो पुरस्कार फिल्म ‘पूर्णबहादुर सारङ्गी’का कारणले दिइएको हो । सोही ‘अवसरमा वर्ष निर्देशक कलात्मक २०८१ को पुरस्कार निर्देशक मिलन चाम्सले जिते । मिलनलाई यो पुरस्कार फिल्म 'अन्जिला'को कारण दिइएको हो ।

कार्यक्रममा निर्देशक दीपक प्रसाद आचार्यले ‘वर्ष निर्देशक व्यवसाय २०८२’ र निर्देशक समुन्द्र भट्टले ‘नवनिर्देशक कलात्मक २०८२’ अवार्ड प्राप्त गरे । आचार्यले फिल्म ‘परान’ र भट्टले फिल्म ‘गुन्युचोलो’का कारण प्राप्त गरेकी हुन् ।

सोही अवसरमा अभिनेत्री तथा निर्देशक रेखा थापा, निर्देशक तीर्थ थापा, निर्देशक बद्री अधिकारीलाई ‘श्रष्टा सर्जक सम्मान २०८२’ प्रदान गरियो । तीनै जनालाई निर्देशन क्षेत्रको योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको हो । 

कार्यक्रममा अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रको विकासका लागि व्यक्तिगत रिसराग र कुण्ठाभन्दा माथि उठेर काम गर्नुपर्ने बताए । डिसीले हालै कान्स फिल्म फेस्टिभलमा नेपालको सहभागिता र पोस्टर विवादका बारेमा स्पष्टीकरण दिँदै भने, ‘नेपालको अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि बुसान र कान्सजस्ता महोत्सवमा हाम्रो उपस्थिति अनिवार्य छ । पोस्टरको आकार वा स्थानका बारेमा भएका टीकाटिप्पणी प्राविधिक कुरा हुन्, तर मुख्य कुरा त्यहाँ नेपालको ब्रान्डिङ हुनु हो ।’

डिसीले सामाजिक सञ्जालमा हुने आलोचना र टिप्पणीको पनि विरोध गरे ।  उनले व्यक्तिगत निराशा र असन्तुष्टिलाई सामाजिक सञ्जालमा पोख्दा देशको ‘ग्रीन पासपोर्ट’ को मान घट्ने बताए । ‘आफ्नो कुण्ठा सामाजिक सञ्जालमा पोखेर मात्र समस्या समाधान हुँदैन, यसले त अन्तर्राष्ट्रिय स्तरमा हाम्रो छविलाई मात्र धमिल्याउँछ,’ उनले थपे ।

डिसीले निर्देशक समाजमा राजनीतिक विचार वा गुटभन्दा माथि उठेर सक्षम र काम गर्न सक्ने नेतृत्व चयन गर्न आग्रह गरेका थिए । कार्यक्रममा संस्थापक अध्यक्ष युवराज लामाले फिल्म क्षेत्रमा भएको प्रगतिको प्रसंसा गर्दै क्रियटिभ पाटोमा अझ बढी जोड दिन निर्देशकलाई आग्रह गरे ।

निर्देशक समाजको आजै नयाँ कार्यसमिति चयन हुँदै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप