बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

राजा ज्ञानेन्द्रले धेरै पटक भेट्ने प्रयास गरे, याद आउँछ कि भनेर कालो ड्रेस लगाएर आएँ : ठाकुर

मङ्गलबार, ०५ जेठ २०८३, १६ : २४
मङ्गलबार, ०५ जेठ २०८३

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले नेपालमा राजतन्त्र फर्किन सक्ने सङ्केत गर्दै कालो पोसाक लगाएर संसद्‌मा आफ्नो विरोध जनाएका छन् । राष्ट्रिय सभाको मंगलबारको बैठकमा अध्यक्ष ठाकुरले देशमा राजतन्त्र फर्किन लागेको सङ्केत गर्दै सांकेतिक रूपमा कालो पोसाक प्रदर्शन गरेका हुन् । 

अध्यक्ष ठाकुरले पूर्वराजा ज्ञानेन्द्र शाहले आफूसँग पटक–पटक भेट्ने प्रयास गरेको खुलासा गर्दै सोही प्रयोजनका लागि आफूले कालो पोसाक लगाएर आएको रोचक टिप्पणी गरे । सामान्यतया विरोधका लागि कालो वस्तु वा कपडा प्रयोग गरिने भए पनि अध्यक्ष ठाकुरले पूर्वराजासँगको भेटप्रति व्यङ्ग्यात्मक शैलीमा टिप्पणी गरेपछि उनको यो अभिव्यक्ति र कालो पोसाकलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ । 

विशेष गरी मुलुकमा राजतन्त्र र हिन्दु राष्ट्रको विषयलाई लिएर विभिन्न कोणबाट बहस भइरहेका बेला ठाकुरको यो सङ्केतलाई कतिपयले पुनः राजतन्त्रको वकालत वा नयाँ राजनीतिक समीकरणको सम्भावनाका रूपमा विश्लेषण गर्न थालेका छन् । उनले आफ्नो पहिचान र देशको विद्यमान परिस्थितिलाई जोड्दै दिएको यो अभिव्यक्तिले राजनीतिक क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।

संसद्‌मा बोल्दै उनले ‘पराधीन सपनामा सुख छैन’ भन्ने उखान उद्धृत गर्दै वर्तमान राजनीतिक र सामाजिक अवस्थाप्रति कडा असन्तुष्टि व्यक्त गरे । आफ्नो भावना राख्दै अध्यक्ष ठाकुरले भने, ‘कहावत छ कि पराधीन सपनामा सुख छैन । पराधीन जो हुन्छ नि, त सपनामा पनि सुख हुँदैन । त्यो जागृत अवस्थामा के कस्तो होला ? त्यो भन्ने अवस्था छैन । तपाई हामी यसै समाजमा छौँ, सपना त कस्तो कस्तो आइरहेको छ, सपनामा पनि हामी पीडित छौ ।’ 

उनले थपे, ‘तपाईँहरूलाई त्यसो नलाग्ला, तपाईँहरू पीडित हुनुहुन्न भने ठिकै छ । फेरि मेरो परिचय विभिन्न किसिमको छ, म मधेसी पनि हुँ, नेपाली भन्नुहुन्छ भने नेपाली पनि हुँ । मेरो सबै परिचय छ । मेरो भित्रको आईडेन्डिटी पनि छ, बाहिरको पनि छ । त्यही कारण केही गतिविधि मलाई थाहा हुँदो रहेछ, मैले यो ड्रेस आज लगाए किन ? किनकि ज्ञानको राजा ज्ञानेन्द्र हुनुहुन्छ, उहाँले धेरै पटक मसँग भेट्ने प्रयास गर्नुभएको थियो । आज म यो लगाएर कहीँ उहाँको त्यो याद आउँछ कि, भेट्नु हुन्छ की त्यसैले कालो ड्रेस लगाएर यहाँ आएको हुँ । हेरौँ, कहिले भेट्नुहुन्छ ।’

आफ्नो बहुपहिचानको चर्चा गर्दै अध्यक्ष ठाकुरले आफू मधेसी र नेपाली दुवै भएको र देशको भित्री–बाहिरी सबै राजनीतिक गतिविधिबारे आफू पूर्ण रूपमा जानकार रहेको दाबी गरे । संसद्‌मा उनले व्यक्त गरेका यी कुराहरूले सत्ता समीकरण र विपक्षी मोर्चाबिच चलिरहेको कसरतका बिच पूर्वराजासँगको सम्बन्ध र संवादको विषयलाई फेरि नयाँ ढङ्गले सतहीमा ल्याइदिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप