सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

ट्रम्प र उनको परिवारलाई कर अनुसन्धानबाट दिइएको हो उन्मुक्ति ?

बुधबार, ०६ जेठ २०८३, १३ : १४
बुधबार, ०६ जेठ २०८३

सारांश

  • अमेरिकी न्याय विभागले जारी गरेको निर्देशअनुसार राष्ट्रपति ट्रम्प, उनका परिवार र व्यवसायविरुद्धका कर अनुसन्धानहरू सधैँका लागि रोक लगाइएको छ ।
  • यो निर्णय ट्रम्पले अमेरिकी कर निकायविरुद्ध दायर गरेको मुद्दा मिलापत्र गरेपछि आएको हो, जुन मुद्दा कर विवरण चुहिएको घटनासँग सम्बन्धित थियो ।
  • डेमोक्रेट सांसदहरूले यस कदमको आलोचना गर्दै यसलाई सत्ताको दुरुपयोग र भ्रष्टाचारको उदाहरण भनेका छन् ।

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, उनको परिवार र व्यवसायहरूमाथि चलिरहेका करसम्बन्धी अनुसन्धानबाट उन्मुक्ति दिइएको विषयले अमेरिकामा ठुलो राजनीतिक विवाद उत्पन्न गरेको छ ।

अमेरिकी न्याय विभागले जारी गरेको एक निर्देशअनुसार ट्रम्प, उनका परिवारका सदस्य तथा व्यवसायविरुद्ध हाल चलिरहेका वा भविष्यमा सम्भावित कर अनुसन्धान तथा दाबीहरूलाई सधैँका लागि रोक लगाइने उल्लेख गरिएको छ । 

यो निर्णय ट्रम्पले एक दिनअघि अमेरिकी कर निकाय आन्तरिक राजस्व सेवा (आईआरएस) विरुद्ध दायर गरेको १० अर्ब डलरको मुद्दा मिलापत्र गरेपछि आएको हो । उक्त मुद्दा सन् २०१८ देखि २०२० बिच ट्रम्पको कर विवरण सञ्चारमाध्यममा चुहिएको घटनासँग सम्बन्धित थियो ।

एक पृष्ठको दस्ताबेजमा कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्चको हस्ताक्षर रहेको छ । दस्ताबेजमा ट्रम्पसँग सम्बन्धित कर दाबी ‘सदाको लागि निषेधित र पूर्वनिर्धारित गरिने उल्लेख गरिएको छ । यो दस्ताबेज न्याय मन्त्रालयको वेबसाइटमा कुनै औपचारिक घोषणा वा प्रेस विज्ञप्ति बिना सार्वजनिक गरिएको बताइएको छ । निर्देशनमा सोमबारको मिलापत्र अघि ट्रम्पले बुझाएका कर विवरणसँग सम्बन्धित सबै अनुसन्धानसमेत समेटिने उल्लेख छ ।

उक्त कदमलाई सत्ताको दुरुपयोग र भ्रष्टाचारको उदाहरण भन्दै डेमोक्रेट सांसदहरूले आलोचना गरेका छन् । क्यालिफोर्नियाका सिनेटर एडम शिफले ट्रम्प प्रशासनले आफ्नो फाइदाका लागि राज्य संयन्त्र प्रयोग गरेको आरोप लगाएका छन् । 

‘कर छल्ने राष्ट्रपतिले आफू र आफ्नो परिवारलाई कर छुट दिलाएका छन्,’ उनले सामाजिक सञ्जालमार्फत भने । पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुसका ह्वाइट हाउस नैतिकता सल्लाहकार रिचर्ड पेन्टरले यस्तो उन्मुक्ति अमेरिकी संविधान विपरीत हुन सक्ने बताएका छन् । 

उनले अमेरिकी संविधानको ‘घरेलु पारिश्रमिक धारा’ उल्लेख गर्दै राष्ट्रपतिले आफ्नो तलबबाहेक सरकारबाट अन्य आर्थिक लाभ लिन नपाउने प्रावधान रहेको बताए । यो निर्णय ट्रम्पको मिलापत्र सम्झौताअन्तर्गत स्थापना गरिएको एन्टि वेपनाइजेशन फन्ड अर्थात् राजनीतिक रूपमा निशाना बनाइएका आफ्ना समर्थकहरूका लागि ल्याइएको कोषसँग पनि जोडिएको छ ।

करिब १ अर्ब ७७ करोड ६० लाख डलरको उक्त कोष राजनीतिक उद्देश्यले कानुनी कारबाहीको सिकार भएको दाबी गर्ने व्यक्तिलाई क्षतिपूर्ति दिन स्थापना गरिएको बताइएको छ ।

तर आलोचकहरूले यसलाई गोप्य राजनीतिक कोषको संज्ञा दिएका छन् । उनीहरूका अनुसार उक्त रकम ट्रम्पनिकट व्यक्तिहरूलाई फाइदा पुर्‍याउन प्रयोग हुन सक्छ । कोषको रकम वितरण गर्ने पाँच सदस्यीय आयोगमध्ये चार सदस्य प्रत्यक्ष रूपमा टोड ब्लान्चले नियुक्त गर्ने व्यवस्था गरिएको छ । 

ब्लाञ्च यसअघि ट्रम्पका निजी वकिलसमेत रहेका थिए । हालसम्म अमेरिकी न्याय मन्त्रालय र ट्रम्प अर्गनाइटेशन यस विषयमा औपचारिक प्रतिक्रिया दिएका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप