बागमती सरकारको लगानीमा गोदावरीमा बहुउद्देश्यीय रङ्गशाला बन्ने
मकवानपुर । बागमती प्रदेश सरकारले ललितपुरको गोदावरीमा बहुउद्देश्यीय रङ्गशाला निर्माण गर्ने भएको छ । प्रदेश सरकारको लगानीमा गोदावरी नगरपालिका–१०, टाहाखेलमा आधुनिक गोदावरी बहुउद्देश्यीय रङ्गशाला निर्माण हुने भएको हो।
बागमती प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको उक्त महत्त्वाकाङ्क्षी परियोजनाका लागि बागमती प्रदेश खेलकुद विकास परिषद्ले करिब ३२ करोड ४० लाख रुपैयाँ बराबरको बोलपत्र (टेन्डर) आह्वान गरेको छ ।
परिषद्ले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको रङ्गशाला निर्माण गरेर खेलाडीहरूलाई प्रोत्साहन तथा अवसर प्रदान गर्ने गरी गौरवको आयोजनाको रूपमा अघि बढाएको हो ।
युवा शक्तिलाई सशक्तीकरण गर्दै कुलतबाट जोगाउन र खेलकुदलाई व्यावसायिक बनाउन भूमिका खेल्ने परिषद्का सदस्य सचिव दीपक लामाले बताए । आधुनिक खेल पूर्वाधार निर्माणसँगै गोदावरी क्षेत्रको आर्थिक र सामाजिक विकासमा समेत टेवा पुग्ने उनले बताए । खेल पर्यटनको प्रवर्द्धन हुने र स्थानीय स्तरमा रोजगारीका अवसरहरू सिर्जना हुने उनले बताए ।
परिषद्ले उक्त रङ्गशालामा सिङ्गल स्टेज टू–इन्भेलोप प्रक्रियामार्फत टेन्डर आह्वान गरिएको हो । उक्त सूचना अनुसार निर्माण कम्पनीहरूले आगामी जेठ २७ गतेसम्म इलेक्ट्रोनिक बिडिङमार्फत आवेदन दिन सक्नेछन् । परियोजनामा प्यारापिटसहितको अत्याधुनिक रङ्गशाला निर्माण गरिने उल्लेख छ ।
उक्त परियोजना अन्तर्गत फुटबल लगायतका खेल खेल्न मिल्ने गरी स्तरीय मैदान तयार पारिनेछ भने सो मैदानमा दुबो रोप्ने र उपयुक्त ड्रेनेज (पानी निकास) प्रणाली जडान गरिनेछ । बहुउद्देश्यीय रङ्गशालामा मैदानसँगै सिन्थेटिक तथा एथलेटिक्स ट्रयाक निर्माण गरिने छ भने आधुनिक आरसीसी प्यारापिट निर्माण गरिनेछ ।
खेलाडीहरूका लागि चेन्जिङ रुम, स्नान कक्ष र शौचालयहरूको व्यवस्था हुनेछ । रङ्गशाला सञ्चालन र खेलकुद पदाधिकारीहरूका लागि कार्यालय कक्ष, बैठक हल र स्टोर रुमहरू निर्माण हुनेछन् भने ठुला रङ्गशालाहरूमा प्यारापिट मुनिको खाली भागलाई जिम हल, इन्डोर खेलका लागि कभर्ड हल, वा व्यावसायिक प्रयोजनका लागि सटरहरूको रूपमा प्रयोग गर्ने गरी डिजाइन गरिन्छ ।
रङ्गशालामा आउने दर्शक र खेलाडीहरूको सवारी साधन व्यवस्थापनका लागि पार्किङ क्षेत्र र रङ्गशालासम्म पुग्ने व्यवस्थित बाटो निर्माण गरिनेछ भने रङ्गशाला क्षेत्रलाई सुरक्षित राख्न वरिपरि घेरा पर्खाल र आकर्षक प्रवेशद्वार निर्माण गरिनेछ । साँझको समयमा पनि खेल खेल्न वा कार्यक्रम गर्न मिल्ने गरी लाइटिङ सिस्टम र विद्युतीय पूर्वाधारको निर्माण गर्ने योजना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'कमैया मुक्ति फेरि दासताको चक्रमा फर्किन नपरोस्'
-
चीनको चोङकिङमा पहिरोमा परी ८ जनाको मृत्यु, ३४ जना बेपत्ता
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण