नेपाल मेडिकल काउन्सिलको निर्देशन : १५ दिनभित्र अवैध रूपमा प्रयोग गरिएको ‘डाक्टर’ हटाउनू
काठमाडाैँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सक (डाक्टर) उपाधिको अनाधिकृत प्रयोग तथा भ्रामक चिकित्सा विज्ञापनविरुद्ध कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। काउन्सिलले बिहीबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै अवैध रूपमा “डाक्टर” उपाधि प्रयोग गर्ने व्यक्ति तथा संस्थामाथि शून्य सहनशीलताको नीति अपनाइने जनाएको हो।
काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेले बिहीबार जारी गरेकाे सूचनामा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सक तथा सम्बन्धित परिषद् ऐनद्वारा ‘चिकित्सक’ उपाधि प्राप्त गरेका बाहेक अन्य कुनै पनि स्वास्थ्यकर्मी वा व्यक्तिले नामअघि “डा.” प्रयोग गर्न नपाइने स्पष्ट गरिएको छ।
सूचनाअनुसार विभिन्न अस्पताल, निजी क्लिनिक, परामर्श केन्द्र तथा सामाजिक सञ्जालमा गैर-चिकित्सक व्यक्तिहरूले “डा.” उपाधि प्रयोग गरी बिरामी जाँच्ने, औषधि सिफारिस गर्ने तथा सर्वसाधारणलाई भ्रममा पार्ने गतिविधि बढेको भन्दै काउन्सिलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
काउन्सिलले यस्तो अवैध अभ्यास तत्काल रोक्न १५ दिनभित्र आफ्ना सबै आधिकारिक कागजात, प्रेस्क्रिप्सन प्याड, साइनबोर्ड, भिजिटिङ कार्ड तथा सामाजिक सञ्जालबाट “डाक्टर” उपाधि हटाउन निर्देशन दिएको छ।
यस्तै, स्वदेश वा विदेशका विश्वविद्यालयबाट ‘डाक्टर’ शब्दसहितको शैक्षिक उपाधि प्राप्त गर्नु मात्रै नेपालमा स्वतन्त्र रूपमा आधुनिक चिकित्सा अभ्यास गर्ने कानुनी अनुमति नभएको पनि काउन्सिलले स्पष्ट पारेको छ। नेपालमा बिरामी उपचार, परामर्श तथा ‘डा.’ उपाधि प्रयोग गर्ने अधिकार केवल नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकलाई मात्र रहेको उल्लेख गरिएको छ।
काउन्सिलले सूचना उल्लङ्घन गरी अवैध रूपमा ‘डा.’ उपाधि प्रयोग गरेमा नेपाल मेडिकल काउन्सिल ऐन, २०२० अनुसार तीन वर्षसम्म कैद, तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने जनाएको छ।
सूचनामा १५ दिने समयसीमा सकिएलगत्तै विशेष अनुगमन टोलीले स्थलगत तथा डिजिटल माध्यमबाट निगरानी सुरु गर्ने उल्लेख गरिएको छ। अनुगमनका क्रममा अवैध रूपमा ‘Dr.’ प्रयोग गरी चिकित्सा सेवा दिएको पाइएमा कानुनी मुद्दा दर्ताका लागि सम्बन्धित निकायमा सिफारिस गरिने काउन्सिलले जनाएको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण