शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पोखरामा कांग्रेसको संस्थापन इतरले शनिबार बृहत् भेला गर्ने

शुक्रबार, ०८ जेठ २०८३, ०७ : १८
शुक्रबार, ०८ जेठ २०८३

सारांश

  • कांग्रेसको संस्थापन इतर पक्षले गण्डकीको राजधानी पोखरामा प्रदेश स्तरीय बृहत् भेला गर्ने तयारी गरेको छ ।
  • भेलाले पार्टी विभाजनमा समर्थन नगर्ने र बृहत्तर एकता तथा भावी कार्यदिशामा रणनीति तय गर्ने दाबी गरेको छ ।
  • क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक प्रक्रियामा असन्तुष्टि जनाउँदै भेलाबाट पार्टीलाई एक बनाउन केन्द्रीय समितिलाई दबाब सिर्जना गरिने बताइएको छ ।

पोखरा । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले गण्डकीको राजधानी पोखरामा प्रदेश स्तरीय बृहत् भेला गर्ने भएको छ । शनिबार प्रदेशका ११ वटै जिल्लाबाट नेता कार्यकर्ताको उपस्थिति सहित वृहत् भेलाको तयारी गरिएको कांग्रेस गण्डकीका उपसभापति मेखलाल श्रेष्ठले जानकारी दिए । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अनामनगरमा पार्टीको सम्पर्क कार्यालय खोलेपछि नयाँ पार्टीको नाम र चिन्हमा छलफल चलिरहेको समाचार बाहिरिएका छन् ।

त्यही छेकोमा पोखरामा हुने भेलाले पार्टी विभाजनलाई मलजल पुग्ने आकलन गरिएको छ । तर, भेला गर्ने पक्षले पार्टी विभाजनमा समर्थन नगर्ने दाबी गरेको छ । ‘पार्टी विभाजन कुनै हालतमा हुँदैन, हुनु हुँदैन । कसैले गर्न खोज्छ भनेपनि हामी रोक्छौँ,’ श्रेष्ठले भने, ‘अहिले पार्टीको बृहत्तर एकता र भावी कार्यदिशाका लागि यो भेला गरिएको हो । हामीले हाम्रो पक्षलाई १५ महाधिवेशनबाट कसरी नेतृत्वमा पुर्‍याउने भनेर रणनीति तय गर्छौँ ।’ न्यूरोडस्थित दीपसागर होटलमा भेला डाकिएको छ ।

विशेष महाधिवेशनमार्फत गगन थापा सभापति बनेपछि देउवा निकट समूहले समानान्तर गतिविधि गर्दै आएको छ । पूर्व केन्द्रीय सदस्य पुष्प अधिकारीले कांग्रेसभित्र विचारको प्रतिस्पर्धा र वैचारिक बहसको पुरानो परम्परा अहिले कम भएकोले त्यसकै लागि भेला गरिएको सुनाए । ‘हामी त बिचारको प्रतिस्पर्धा गरेर आएका हौँ । धेरै साथीहरू विचारमा छलफल गर्नुहुन्थ्यो,’ उनले भने, ‘अहिले त्यो सबै पक्ष कमजोर भएको छ । विचारलाई जीवन्त राख्न भेला गरिएको हो ।’

भेलामा पूर्व केन्द्रीय सदस्य, प्रदेश समिति, जिल्ला सभापति, क्षेत्रीय सभापति, नगर सभापति तथा महासमिति सदस्यहरूलाई आह्वान गरिएको छ । यद्यपि भेलामा उपस्थिति स्वःस्फूत उपस्थित हुने भनिएको अधिकारीले बताए । कार्यक्रम खुला सभा नभई बन्द सत्रका रूपमा सञ्चालन हुने र त्यहाँबाट पार्टी तथा मुलुकको वर्तमान अवस्थाबारे निष्कर्ष निकालिने उनले जानकारी दिए ।

अहिलेको कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक प्रक्रिया गलत ढंगले गरेको भन्दै असन्तुष्टि जनाएका छन् । निवर्तमान केन्द्रीय सदस्य गुरु बरालले आगामी महाधिवेसनका लागि गरिएको नवीकरण हटाएर पुनः नवीकरण भन्नु गलत हुने बताए । उनले प्रविधिमार्फत सदस्यता अद्यावधिक गर्ने अभियान अझै व्यवस्थित नभएको र नेतृत्वबिच सहमति अभावका कारण विवाद बढेको टिप्पणी गरे ।

अहिलेको भेलाबाट पार्टीलाई एक बनाउन केन्द्रीय समितिलाई दबाब सिर्जना गरिने बरालको भनाई छ । काँग्रेस कमजोर हुँदा देशमा धेरै समस्या आउने भएकोले बलियो बनाउन अहिलेको पुस्ताको जोडबल आवश्यक रहेको उनले सुनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप