बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा

आइतबार, १० जेठ २०८३, १९ : ४४
आइतबार, १० जेठ २०८३

काठमाडौँ। नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

समूह ए को आफ्नो अन्तिम खेलमा आइतबार माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै नेपालले अन्तिम चारमा स्थान बनाएको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला कभर्डहलमा भएको खेलमा नेपालले माल्दिभ्सलाई २५–१२, २५–९, २५–२० ले पराजित गरेको हो।

लगातार दोस्रो जितपछि नेपाल तीन खेलबाट ७ अङ्क जोडेर शीर्ष स्थानमा उक्लेको छ। भारत २ खेलबाट ५ अङ्कसहित दोस्रो र किर्गिस्तान ३ अङ्कसहित तेस्रो स्थानमा छ। सोमबार हुने भारत र किर्गिस्तानबिचको खेलपछि यस समूहबाट सेमिफाइनल पुग्नै दोस्रो टोलीको टुङ्गो लाग्नेछ । माल्दिभ्स समूहको तीन वटै खेलमा पराजित हुँदै बाहिरिएको छ। 

यसअघि नेपाल पहिलो खेलमा भारतसँग ३–२ सेटमा पराजित भए पनि दोस्रो खेलमा किर्गिस्तानलाई ३–० ले पराजित गर्दै पहिलो जित हात पारेको थियो । नेपालले तेस्रो सेटमा बेन्चका खेलाडीहरूलाई पनि अवसर दिएको थियो।

आजै भएको पहिलो खेलमा इरानले श्रीलङ्कालाई २५–१६,२५–१३ र २५–११ ले सहजै हरायो। दोस्रो खेलमा कजास्तानले बङ्गलादेशलाई ३–० को सोझो सेटमा पाखा लगायो। समूह बी बाट कजाखस्तान र इरान लगातार दुई खेल जित्दै आइतबारै सेमिफाइनल प्रवेश गरेका छन् ।

श्रीलङ्का र बङ्गलादेश भने दुई हारपछि समूह चरणबाटै बाहिरिएका छन्। अब सोमबार हुने कजाखस्तान र इरानबिचको खेलबाट समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । सोमबार समूह चरणको अन्तिम तीन खेलपछि सेमिफाइनल समीकरण टुङ्गो लाग्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप