‘अब सरकारको नेतृत्व नेपाली कांग्रेसले पाउनुपर्छ’
सारांश
- लुम्बिनी प्रदेश सरकारको नेतृत्व अब नेपाली कांग्रेसले पाउनुपर्ने कांग्रेस संसदीय दलले निर्णय गरेको छ।
- आलोपालो नेतृत्वको भद्र सहमति कार्यान्वयन गर्न पार्टीको प्रदेश समिति र केन्द्रीय कार्यसमितिलाई ध्यानाकर्षण गराउने निर्णय गरिएको छ।
- सहमति अनुसार कांग्रेसले मुख्यमन्त्री पाउनुपर्ने विषयमा तीन दिनभित्र आवश्यक पहल गरिनेछ।
बुटवल । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सरकारको नेतृत्व अब आफूहरूले पाउनुपर्ने बताएको छ ।
सत्ता गठबन्धन दलहरूबिच भएको पूर्वसहमति अनुसार अब नेपाली कांग्रेसले लुम्बिनी सरकारको नेतृत्व पाउनुपर्ने भन्दै कांग्रेस संसदीय दलले पार्टीलाई औपचारिक आग्रह गर्ने निर्णय गरेको छ।
सोमबार दाङको देउखुरीमा बसेको कांग्रेस संसदीय दलको बैठकले आलोपालो नेतृत्वको भद्र सहमति कार्यान्वयन गर्न पार्टीको प्रदेश समिति र केन्द्रीय कार्यसमितिलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशकी मुख्य सचेतक जमुना ढकालका अनुसार बैठकले सहमति अनुसार कांग्रेसले मुख्यमन्त्री पाउनुपर्ने विषयमा आवश्यक पहल गर्न पत्राचार गर्ने निर्णय गरेको रातोपाटीलाई बताइन्।
उनले उक्त पहल तीन दिनभित्र गरिनुपर्ने बताइन्। बैठकमा पार्टीका प्रदेश सहमहामन्त्री सुरेन्द्रराज आचार्यसहित २६ जना प्रदेशसभा सदस्य सहभागी थिए।
हाल लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले गरिरहेको छ । सत्ता गठबन्धनबिच १८ महिनापछि आलोपालो नेतृत्व गर्ने सहमति अनुसार गत फागुनदेखि कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सरकारको नेतृत्व गर्नुपर्ने थियो। तर उक्त सहमति अझै कार्यान्वयन भएको छैन।
यसअघि कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरू परिवर्तन गरेर एमाले नेतृत्वकै सरकारलाई केही समय निरन्तरता दिने आन्तरिक तयारी दलहरूबिच भइरहेको चर्चा थियो।
तर आजको संसदीय दलको बैठकले कांग्रेसका मन्त्रीहरू फिर्ता नहुने र अब कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने स्पष्ट निर्णय गरेको हो।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण