शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

अश्लील क्रियाकलापका लागि मोलमोलाई गर्ने युगाण्डाका ५ जना पक्राउ

मङ्गलबार, १२ जेठ २०८३, ०९ : २८
मङ्गलबार, १२ जेठ २०८३

सारांश

  • ठमेलमा सर्वसाधारण तथा पर्यटकलाई दुःख हैरानी दिने र प्रहरीमाथि हातपात गर्ने युगाण्डाका पाँच जना नागरिक पक्राउ परेका छन्।
  • जेठ ९ गते ठमेलको सडकमा हिँड्नेहरूलाई अनावश्यक रूपमा बाटो छेक्ने, अश्लील क्रियाकलाप सम्बन्धी मोलमोलाई गर्ने र दुःख हैरानी दिने कार्यमा उनीहरू संलग्न थिए।
  • प्रहरीले सम्झाउन खोज्दा उल्टै प्रहरीमाथि अपशब्द प्रयोग गरी गालीगलौज र धक्कामुक्का गर्ने अभद्र व्यवहार गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

काठमाडौँ । काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलमा सर्वसाधारण तथा पर्यटकलाई दुःख हैरानी दिने र सम्झाउन खोज्दा ड्युटीमा खटिएका प्रहरीमाथि नै हातपात तथा गालीगलौज गर्ने युगाण्डाका पाँच जना नागरिक पक्राउ परेका छन्। 

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत जेठ ९ गते काठमाडौँ महानगरपालिका–२६ स्थित ठमेल एरियाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

ठमेलको सडकमा हिँड्ने स्वदेशी तथा विदेशी पर्यटक एवं सर्वसाधारण पुरुषहरूलाई अनावश्यक रूपमा बाटो छेक्ने, अश्लील क्रियाकलाप सम्बन्धी मोलमोलाई गर्ने र दुःख हैरानी दिने कार्यमा संलग्न भएपछि उनीहरूलाई प्रहरीले रोक्न खोजेको थियो। सडकमा अनैतिक हर्कत गरिरहेका ती विदेशी नागरिकहरूलाई प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले सम्झाई–बुझाई गर्ने प्रयास गरेको थियो। तर, उनीहरूले उल्टै ड्युटीमा खटिएका प्रहरी कर्मचारीहरूमाथि अपशब्द प्रयोग गरी गालीगलौज गर्ने र धक्कामुक्का गर्ने जस्ता अभद्र व्यवहार देखाएका थिए।

प्रहरीको कार्यदेशमा अवरोध पुर्‍याउँदै अभद्र व्यवहार गरेपछि लैनचौरको प्रहरी टोलीले युगाण्डाका ती पाँचै जना नागरिकलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका उनीहरूमाथि हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप