मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

निःशुल्क भिसा र प्रचारप्रसारले मात्र गुणस्तरीय पर्यटक आउँदैनन् : महानिर्देशक तिवारी

मङ्गलबार, १२ जेठ २०८३, १६ : ५३
मङ्गलबार, १२ जेठ २०८३

सारांश

  • अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले प्रचारप्रसार र निःशुल्क भिसाले मात्र गुणस्तरीय पर्यटक नआउने बताएका छन्।
  • उनले पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकास र आकर्षक पर्यटकीय 'प्रोडक्ट' विकासमा जोड दिनुपर्ने बताए।
  • निकट भविष्यमा पर्यटकलाई 'युनिक आईडी' दिने र काठमाडौँका होटलहरूलाई अनलाइन प्रणालीमा दर्ता गर्ने तयारी भइरहेको छ।

काठमाडौँ । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले केवल प्रचारप्रसार र निःशुल्क भिसा दिएर मात्र मुलुकमा गुणस्तरीय पर्यटक भित्र्याउन नसकिने बताएका छन्। 

मंगलबार विभागमा आयोजित ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली सम्बन्धी’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले पर्यटन प्रवर्द्धनका लागि प्रचारप्रसारभन्दा पर्यटकीय पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए।

तिवारीले पर्यटन क्षेत्रमा आवश्यक पूर्वाधार र आकर्षक ‘प्रोडक्ट’ विकास गर्न सके पर्यटक स्वतः आउने दाबी गरे। उनले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीलाई थप व्यवस्थित बनाउँदै निकट भविष्यमै पर्यटकलाई ‘युनिक आईडी’ दिने तयारी भइरहेको समेत जानकारी दिए।

कार्यक्रममा बोल्दै उनले भने, ‘म पनि टुरिजम बोर्डको मेम्बर छु। हामीले प्रमोशन गरेर एक जना टुरिष्ट पनि थपिएको छैन। किनभने त्यस्तो क्वालिटीको कोही पनि पर्यटक नेपाल आएकै छैनन्। पर्यटनको लागि आवश्यक पूर्वाधार र उत्पादन भयो भने पर्यटक स्वयं आउने रहेछन्। यो निःशुल्क भिसा दिएर र प्रमोशन गरेर पर्यटक आउने भए अफगानिस्तानले भिसा नै नलिँदा पनि कोही जाँदैन, अमेरिकाले लाखौँ रुपैयाँ धरौटी राख्न भने पनि तिरेकै छन्। किनभने त्यहाँ पर्यटकीय पूर्वाधार र प्रोडक्ट छ नि। तर पनि हामीले पर्यटकको लागि पनि दुई मिनेटको समय खर्चिएर भए पनि उनीहरूलाई इन्करेज गर्ने हो, हामीले गर्छौँ भनेकै छौँ। क्यूआर कोड उनीहरूले भरेर हामीलाई सजिलो गराइदिने होइन। पछि हामी पर्यटकलाई युनिक आईडी दिने, म्यान्डेटरी गर्ने हो।’

महानिर्देशक तिवारीले सुरक्षा र व्यवस्थापनलाई चुस्त बनाउन काठमाडौँ उपत्यकाका सबै होटलहरूलाई विभागमा दर्ता गरी अनलाइन प्रणालीमा राख्ने तयारी भइरहेको समेत बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप