आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बागमतीमा ‘सुखी नागरिक, समृद्ध बागमती’ देखि ’पहिले मर्मत, त्यसपछि निर्माण’ नाराहरू

मङ्गलबार, १२ जेठ २०८३, २१ : ०८
मङ्गलबार, १२ जेठ २०८३

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नागरिकका आधारभूत आवश्यकता, पूर्वाधार विकास र आर्थिक समृद्धिलाई जोड्ने गरी दर्जनौँ आकर्षक नाराहरू सार्वजनिक गरेको छ । सरकारले नारा मार्फत आगामी कार्यदिशालाई मात्र नभई नागरिकका अपेक्षाहरूलाई पनि समेट्ने प्रयास गरेको देखिन्छ ।

सरकारले प्रदेशको समग्र विकासको मूल लक्ष्यका रूपमा ‘सुखी नागरिक, समृद्ध बागमती’ लाई केन्द्रमा राखेको छ । सरकारले कृषि क्षेत्रलाई मर्यादित र आधुनिक बनाउन ‘प्रदेशको शान, परिश्रमी किसान’ अभियान घोषणा गरेको छ भने हरेक वडामा उत्पादन बढाउन ‘एक वडा – एक कृषि उत्पादन’ कार्यक्रम ल्याइएको छ । युवाहरूलाई आत्मनिर्भर बनाउन ‘सीप, उद्यम र रोजगार: समृद्ध प्रदेशको आधार’ भन्ने नाराका साथ कार्यक्रमहरू सञ्चालन गरिने नीतिमा उल्लेख छ।

पिछडिएका वर्ग र गरिबीको रेखामुनि रहेका नागरिकका लागि सरकारले ‘गरिबले गरी खाने प्रदेश: बागमती प्रदेश’ को अवधारणा अघि सारेको छ । पूर्वाधार निर्माणको क्षेत्रमा भने सरकारले नयाँ रणनीति अपनाउँदै ‘पहिले मर्मत, त्यसपछि निर्माण’ भन्ने नारा तय गरेको छ।

खानेपानी सेवालाई घर–घरमा पुर्‍याउन सरकारले ‘एक घर, एक धारा’ कार्यक्रमलाई तीव्रता दिने भएको छ भने कृषि उत्पादन बढाउनका लागि ‘खाद्य सुरक्षाका लागि उत्पादन र उत्पादनका लागि सिँचाइ’ भन्ने नारा अघि सारिएको छ । वन र प्राकृतिक स्रोतको संरक्षणका लागि ‘हरियो वन समृद्धिको साधन’ भन्ने पुरानो तर प्रभावकारी अवधारणालाई नयाँ ढङ्गले कार्यान्वयन गर्ने सरकारको योजना रहेको छ ।

खेलाडीहरूको मनोबल उच्च राख्न सरकारले ‘बागमती प्रदेशको शान, खेलाडीको सम्मान’ कार्यक्रम ल्याएको छ भने पर्यटन प्रवर्द्धनका लागि ‘घुमौँ बागमती, बुझौँ संस्कृति’ अभियान सञ्चालन गरिनेछ हरेक निर्वाचन क्षेत्रमा ‘एक निर्वाचन क्षेत्र : एक प्रमुख पर्यटकीय गन्तव्य’ को अवधारणा कार्यान्वयन गरिने भएको छ । सरकारी सेवालाई प्रभावकारी बनाउन सरकारले ‘बागमती प्रदेश मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम’ सञ्चालन गर्ने घोषणा गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप