सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सगरमाथाको संरक्षण र दिगो पर्यटनमा राष्ट्रपतिको जोड

बुधबार, १३ जेठ २०८३, ०९ : ०७
बुधबार, १३ जेठ २०८३

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथाको प्राकृतिक स्वरूप र हिमाली वातावरणको संरक्षण गर्न सरोकारवालाहरूसँग आग्रह गरेका छन् ।
  • उनले सगरमाथा नेपालको भौगोलिक पहिचान, राष्ट्रको प्रतिष्ठा र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको उल्लेख गर्दै यसको संरक्षण र सन्तुलित उपयोगबाट मात्र पर्यटनमार्फत मुलुकको अर्थतन्त्रमा दिगो टेवा पुग्ने बताए ।
  • राष्ट्रपतिले विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा उत्पन्न चुनौतीहरूप्रति चिन्ता व्यक्त गर्दै दिगो हिमाली पर्यटन र जिम्मेवार पर्वतारोहण आजको आवश्यकता भएको बताए ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथाको प्राकृतिक स्वरूपलाई जीवन्त राख्न र हिमाली वातावरणको संरक्षण गर्न सरोकारवालाहरूसमक्ष आग्रह गरेका छन् । मे २९ अर्थात अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्वसन्ध्यामा विश्वभरका पर्वतारोहीहरूको उपस्थितिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो आग्रह गरेका हुन् । 

 सगरमाथा नेपालको भौगोलिक पहिचान मात्र नभएर राष्ट्रको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको उल्लेख गरे । राष्ट्रपति पौडेलले यसको संरक्षण र सन्तुलित उपयोगबाट मात्र पर्यटन क्षेत्रमार्फत मुलुकको अर्थतन्त्रमा दिगो टेवा पुग्ने धारणा व्यक्त गरे ।  

उनले सगरमाथासहित हिमाली क्षेत्रको बहुआयामिक पक्षबारे सार्थक छलफल गर्न र अन्तर्राष्ट्रिय सहकार्य तथा संवाद वृद्धि गर्न यस्ता सम्मेलनको विशेष महत्त्व रहने उल्लेख गरे । राष्ट्रपतिले विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा उत्पन्न चुनौतीहरूप्रति चिन्ता व्यक्त गरे । 

राष्ट्रपति पौडेलले दिगो हिमाली पर्यटन र जिम्मेवार पर्वतारोहण आजको प्रमुख आवश्यकता भएको बताउँदै सम्मेलनले पर्वतारोहणका क्रममा प्राप्त ज्ञानलाई सगरमाथाको जीवन्तताका लागि उपयोग गर्ने विश्वास व्यक्त गरे । सन् १९५३ मा शाहसी पर्वतारोही तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलो पटक सफल आरोहण गरेसँगै सुरु भएको पर्वतीय पर्यटनको ऐतिहासिक महत्वबारे चर्चा गर्दै राष्ट्रपतिले पर्वतारोहणको माध्यमबाट नेपालको नाम विश्वभर फैलाउन योगदान दिने कीर्तिमानी आरोही तथा शेर्पा समुदायप्रति सम्मान प्रकट गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप