मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘रोल नं १’को विषयमा के भन्छन् कलाकार ?

बुधबार, १३ जेठ २०८३, ११ : ५९
बुधबार, १३ जेठ २०८३

सारांश

  • आगामी शुक्रबार प्रदर्शनमा आउने चलचित्र 'रोल नं १' बालमनोविज्ञान र अभिभावकको दबाबको विषयमा बनेको छ ।
  • फिल्मले कक्षामा प्रथम हुने व्यक्ति मात्रै विद्वान अरू सबै मूर्ख भन्ने नेपाली समाजको बुझाइको विरुद्ध कथा उठाएको छ ।
  • बच्चाको इच्छा पहिचान गरी सोहीअनुसार अगाडि बढाउन सके जीवनमा सफल हुने सन्देश फिल्मले दिने कलाकारहरूले बताएका छन् ।

काठमाडौँ । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र हो ‘रोल नं १’ । फिल्म बालमनोविज्ञान र स्वतन्त्र रुचिको विषयमा बनेको कलाकारहरू बताउँछन् । बालबालिकालाई कक्षामा प्रथम हुन अभिभावकले दिने दबाब र त्यसको प्रभावको कथा फिल्मले उठाएको उनीहरूको भनाइ छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा प्रथम हुने व्यक्ति मात्रै विद्वान अरू सबै मूर्ख हुन् भन्ने नेपाली समाजको बुझाइको विरुद्ध फिल्म बनेको अभिनेता मुकुन भुसालले बताए ।

‘हाम्रो प्रचारको कन्टेन्टमा पनि कक्षामा पहिलो हुने मात्रै विद्वान अरू सबै मूर्ख भनेर उल्लेख गरेका छौँ, फिल्मको कथा त्यही नै हो, भुसालले भने, ‘आफूले पूरा गर्न नसकेको सपना आफ्ना सन्तानमार्फत पूरा गर्न चाहने हाम्रो समाजको सोच हो । यसका लागि हामी जबरजस्ती सन्तानलाई आफ्नो सपना पूरा गराउन बाध्य बनाउने प्रयास गर्छौँ ।’ अभिभावकको र मनोविज्ञानमा परिवर्तन आउनुपर्छ भनेर ‘रोल नं १’ले कथा बनाएको बताएका भुसालले आफूले रोजेको क्षेत्र र विषयमा काम गर्दा थोरै मेहनतले पनि धेरै उपलब्धि हासिल गर्न सकिने फिल्मले बुझाउने बताए ।

अभिनेता सुशांक मैनालीले अभिभावकको दबाबका कारण छोराछोरीको जीवनमा आउने कथा फिल्मले उठाएको बताए । दबाब र प्रभावका भरमा पढेको र घोकेको विषय दिमागमा धेरै समय नरहने उनको भनाइ छ । अरुको दबाबमा गएको क्षेत्रमा धेरै लामो समय टिक्न र त्यसमा सक्षम हुन नसकिने फिल्मले बुझाउने मैनालीले प्रस्ट पारे ।

‘बाबु र छोराबिचको अन्तरद्वन्द्व पनि हो । हरेक अभिभावकमा मेरो छोरा म जस्तै अथवा म बन्न नसेके पनि यो बनोस् भन्ने हुन्छ,’ सुशांक भन्छन्, ‘आफ्नो इच्छा छोरामार्फत पूरा गर्न दिने दबाब र त्यसका लागि हुने संघर्षको कथामा फिल्म छ ।’ बच्चाको इच्छा जे हो, त्यसको पहिचान गरेर सुरुमै त्यसतर्फ अगाडि बढाउन सके हरेक व्यक्ति आफ्नो जीवनमा सफल हुने उनको भनाइ छ ।

अहिलेको सरकारले कक्षा पाँचसम्म परीक्षा लिनु हुन्न भनिरहेका बेला ‘रोल नं १’ले पनि यही विषय उठान गरिरहेको मनौलीको भनाई छ ।

अभिनेत्री रेणु योगीले बालमनोविज्ञानमा आधारित रहेर फिल्म बनेको बताइन् । गरिबीमा आफ्नो सन्तान बाँच्न नपरोस् भनेर बाबुले सन्तानलाई दिने सपनाको कथामा फिल्म भएको उनको खुलाइन् । बाबुआमाले बच्चालाई दबाब दिँदा उसको बालमनोविज्ञानमा पर्ने प्रभाव र त्यसले उसको जीवनमा पार्ने प्रभाव फिल्ममा हेर्न सकिने रेणु सुनाउँछिन् । बच्चा कति संवेदनशील हुन्छन् भन्ने यथार्थलाई फिल्मले प्रष्ट पार्नेमा उनी ढुक्क छिन् ।

‘एक हिसाबले हेर्दा बुवाआमाले भनेको पनि ठिकै हो त भन्ने लाग्छ, अर्को हिसाबले म भए अलि प्रोटेक्ट पो गर्थें कि भन्ने पनि लाग्दोरहेछ,’ उनले भनिन्, ‘तर, अन्ततः बच्चाको इच्छा जे छ, त्यसमै उसलाई गाइड गर्नु राम्रो हो भन्ने लाग्छ । म भए बच्चाको पक्षमा लाग्थेँ ।’

विनोद पौडेलको निर्माण रहेको फिल्म ‘रोल नं १’ जोन योञ्जनले निर्देशन गरेका हुन् । फिल्ममा मुकुन, सुशांक र रेणुको अलवा सिर्जना अधिकारी मुख्य भूमिका छ । फिल्मको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको फिल्मका सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप