मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

मानव अधिकार आयोगको प्रतिवेदनमा दुर्गा प्रसाईँको प्रतिक्रिया: आन्दोलनमा मेरो संलग्नता छैन, षड्यन्त्र गरियो

बुधबार, १३ जेठ २०८३, २३ : ५७
बुधबार, १३ जेठ २०८३

सारांश

  • मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमाथि आफ्नो धारणा सार्वजनिक गर्दै भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् ।
  • आयोगले प्रसाईँमाथि 'दुरुत्साहन' र आन्दोलनमा भएको मानवीय तथा भौतिक क्षतिमा संलग्नता विषयमा अनुसन्धान गर्न सिफारिस गरेपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन् ।
  • प्रसाईँले आन्दोलनको आडमा भएका आपराधिक गतिविधि र तोडफोडमा आफ्नो नाम जोड्नु नियोजित षड्यन्त्र भएको जिकिर गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमाथि आफ्नो धारणा सार्वजनिक गर्दै भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् । बुधबार राति सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफू विरुद्ध फैलाइएका भ्रमहरूको खण्डन गरेका हुन् ।

आयोगले प्रसाईँमाथि ‘दुरुत्साहन’ र आन्दोलनमा भएको मानवीय तथा भौतिक क्षतिमा संलग्नता रहे–नरहेको विषयमा सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरेपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन् । प्रसाईँले आफू सो आन्दोलनमा सहभागी नभएको दाबी गर्दै त्यसका पछाडि कारण समेत प्रस्तुत गरेका छन् । उनका अनुसार आन्दोलनका क्रममा केही व्यक्तिहरूले कालो झन्डा देखाउने धम्की दिएको र तत्कालीन काठमाडौँ महानगरका मेयर (हालका प्रधानमन्त्री) ले फेसबुकमार्फत अपमानजनक शब्द प्रयोग गरेपछि आफू आन्दोलनमा नगएको उल्लेख गरेका छन् ।

‘तत्कालीन काठमाडौँ महानगरपालिकाका मेयर (जो हालका प्रधानमन्त्री हुनुहुन्छ) ले मलाई नै किटान गरेर, रिसिइबी साध्दै ‘बौलाहा अभियन्ता नआउनु’ भनेर फेसबुकमा सार्वजनिक रूपमै लेखेपछि म त्यो आन्दोलनमा सहभागी नै भइनँ’, उनले लेखेका छन् ।

प्रसाईँले आन्दोलन सकिएपछि देशको सुरक्षा संवेदनशीलतालाई बुझेर सेना प्रमुखले वार्ताका लागि बोलाएपछि मात्र आफू गएको प्रस्ट पारेका छन् । आन्दोलनको आडमा भएका आपराधिक गतिविधि र तोडफोडमा आफ्नो नाम जोड्नु नियोजित षड्यन्त्र भएको उनको जिकिर छ ।

आफ्नो धारणा राख्ने क्रममा उनले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन अक्षरशः कार्यान्वयन हुनुपर्ने माग समेत गरेका छन् । उनले ४२ जना नागरिक र ३ जना सुरक्षाकर्मीको ज्यान लिने घटनामा संलग्न ‘टीओबी’ ग्रुप वा अन्य जोसुकै दोषीलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने र दण्डहीनताको अन्त्य हुनुपर्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप