शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

विवादकाबिच मुख्यमन्त्री शाहले गरे लम्कीचुहा प्रादेशिक अस्पतालको उद्घाटन

अवराेध गर्न सक्ने भन्दै नगर प्रहरीलाई कार्यक्रमस्थलमा ‘नाे इन्ट्री’
बिहीबार, १४ जेठ २०८३, १५ : १०
बिहीबार, १४ जेठ २०८३

सारांश

  • कैलालीको लम्कीचुहा प्रादेशिक अस्पतालको औपचारिक उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गरेका हुन्।
  • अस्पताल उद्घाटनको क्रममा सम्भावित अवरोधलाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति थियो।
  • प्रदेश सरकार र नगरपालिकाबिच क्षेत्राधिकारको विषयलाई लिएर विवाद चल्दै आएको थियो, जसलाई सर्वोच्चले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेपछि प्रदेश सरकारलाई अस्पताल उद्घाटन गर्ने बाटो खुलेको हो।

धनगढी। लामो समयदेखिको विवाद र खिचातानीबिच कैलालीको लम्कीचुहा प्रादेशिक अस्पतालको औपचारिक उद्घाटन गरिएको छ। बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक समारोहकाबिच अस्पतालको उद्घाटन गरेका हुन्।

अस्पताल उद्घाटनको समयमा सम्भावित अवरोधलाई मध्यनजर गर्दै अस्पताल परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति थियो। 

सुरक्षा संवेदनशीलता भन्दै नगर प्रहरीलाई भने कार्यक्रमस्थलमा प्रवेश गर्न दिइएन। बुधबार राति नै डोजर र एम्बुलेन्स प्रयोग गरेर कार्यक्रम बिथोल्न खोजिएको सूचना आएपछि सुरक्षा व्यवस्था निकै कडा पारिएको प्रहरीले जनाएको छ।

यो अस्पताल उद्घाटनको विषयलाई लिएर प्रदेश सरकार र नगरपालिकाबिच लामो समयदेखि विवाद चल्दै आएको थियो। नगर प्रमुख सुशीला शाही हाल वैदेशिक भ्रमणमा रहेको मौका पारेर प्रदेश सरकारले अस्पतालको उद्घाटन गरेको हो। 

नगर प्रमुख कार्यक्रममा सहभागी नभएपनि उपप्रमुख जुना चौधरी भने कार्यक्रममा सहभागी भएकी थिइन्।

यसअघि १५ शय्याको नगर अस्पताललाई ५० शय्याको प्रादेशिक अस्पताल बनाउने निर्णय भएको थियो । तर, क्षेत्राधिकारको विषयलाई लिएर नगर प्रमुख शाहीले असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी थिइन्। 

सर्वोच्चले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेपछि प्रदेश सरकारलाई अस्पताल उद्घाटन गर्ने बाटो खुलेको हो। कार्यक्रममा बोल्ने वक्ताहरूले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई राजनीतिको अखडा बनाउन नहुनेमा जोड दिए।

वडाध्यक्ष सन्तोषकुमार ओलीले अस्पताल उद्घाटन गर्न प्रहरीको सहयोग लिनुपर्ने अवस्था आउनु दुखद भएको बताए। सङ्घर्ष समितिका प्रतिनिधिहरूले जनस्वास्थ्यसँग जोडिएको विषयमा अवरोध गर्न नहुनेमा जोड दिँदै विकासका काममा सबै मिल्नुपर्ने बताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप