शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बजेटमाथि गण्डकीका अर्थमन्त्रीको टिप्पणीः आकार बढ्यो, स्रोतको सुनिश्चितता छैन

शुक्रबार, १५ जेठ २०८३, १८ : २५
शुक्रबार, १५ जेठ २०८३

पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री जितबहादुर शेरचनले संघीय सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट परम्परामै अलमलिएको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै उनले प्रविधिलाई बजेटले सम्बोधन गरेको नयाँ भएपनि अरु चाहीँ परम्परागत शैलीमै सीमित भएको बताए । 

‘सबै कार्यक्रमहरू चाहिँ परम्परागत छ, प्रविधिको क्षेत्र बाहेक । नयाँ सरकारले पनि नयाँ कुरा ल्याउन सकेन,’ उनले भने, ‘प्रविधिमा जोड दिएको कुरा चाहीँ राम्रो छ । अरु सबै परम्परा हो ।’ उनले संघीयतालाई सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन् । 

शेरचनका अनुसार संघीय बजेटले प्रदेश र स्थानीय तहका लागि पर्याप्त बजेट विनियोजन नगर्दा विकास निर्माणका कार्य प्रभावित हुने जोखिम बढेको छ । ‘बजेटको आकार बढेको छ । तर, संघीयताको मर्म अनुसार तल्ला तहमा बजेट पुग्न सकेको छैन,’ उनले भने । विगत केही वर्षयता संघीय सरकारबाट प्राप्त हुने बजेटमा कटौती हुँदै आएको थियो । 

सरकारले प्रस्तुत गरेको बजेटको आकार प्राप्त गर्ने स्रोत प्रष्ट नभएको उनको टिप्पणी छ । ‘निजी क्षेत्र खुम्चिएको छ । बजेटको आकार अलि बढी भयो कि भन्ने लागेको छ,’ उनले भने, ‘स्रोतको सुनिश्चिततामा शंका छ । अर्थमन्त्री ज्यूले स्रोतबारे स्पष्टता दिनुभएन ।’ 

गण्डकी प्रदेशका लागि झन् संघको बजेट खासै उत्साहजनक नभएको शेरचनले बताए । ‘यहाँको जनसंख्या, यहाँको स्रोत साधन, यहाँको सबै भौगोलिक, सबै विकास र जनसांख्यिक कुरा हेरेको देखिएन । संघीयतालाई चिनेन यो बजेटले लगभग,’ उनले थपे, ‘विशेष गरी गण्डकी प्रदेशलाई चिन्न सकेन । पर्यटनको राजधानी पोखरा बजेटमा सम्बोधन नहुनु दुखको कुरा हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप